सुरक्षित प्रसूति सेवा लिने बढे
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ कार्तिक ।
सुर्खेतमा सुरक्षित प्रसूति सेवा लिने महिलाहरू बढेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले जिल्लामा सुरक्षित प्रसूति सेवा लिने महिलाहरूको संख्यामा वृद्धि भएको देखाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयले बिहीवार वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा सूचना अधिकारी बसन्तमान श्रेष्ठले जिल्लामा सुरक्षित प्रसूति सेवा लिने महिलाको संख्यामा वृद्धि भएको बताए । उनले जिल्लामा ८० प्रतिशत महिलाले सुरक्षित प्रसूति सेवा लिएको बताए । दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिएको उनको भनाइ छ ।
सिम्ता गाउँपालिकाका केही भागमा सुरक्षित प्रसूति सेवा पुग्न नसकेको भए पनि जिल्लामा ८० प्रतिशत महिलाले सुरक्षित प्रसूति सेवा लिएको कार्यालयको दाबी
छ । साथै उनले परिवार नियोजनका साधनको प्रयोग भने कम भएको बताए । जनस्वास्थ्य कार्यालयले जिल्लाका १३ वटा स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रहरूबाट किशोर–किशोरी प्रजनन् स्वास्थ्य सेवा दिइरहेको छ ।
सो अवसरमा जनस्वास्थ्य प्रमुख धीरजंग शाहले जिल्लामा सर्ने भन्दा नसर्ने रोग धेरै देखिएको बताए । आईएनएफका अस्पताल म्यानेजर मंगल थारुले आईएनएफले कुष्ठरोग, फिस्टुला सम्बन्धी रोगको उपचार गरिरहेको बताए । उनले क्षयरोगको खकार परीक्षण, रोग निवारण शुल्कसहित सेवा दिइरहेको जानकारी दिए ।
साझा बिसौनी संवाददाता ।