फेरियो चुनावी प्रचार शैली

डिलप्रसाद शर्मा
सुर्खेत, २२ कार्तिक ।
लामो रस्साकस्सीपछि टिकट पाएका उम्मेदवारहरू यतिबेला प्रचार अभियानमा जुटेका छन् । आउँदो मंसिर २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिदैं गर्दा राजनीतिक दल र तिनका उम्मेदवारहरू मतदाता रिझाउन प्रचारमा होमिएका छन् । सहरमा मात्र होइन, गाउँ र टोलहरूमा समेत चुनावी माहोल तातेको छ ।


विगतमा पनि दलहरूले आफ्नो पक्षमा मतदातालाई आकर्षण गर्न तामझामसहित प्रचार–प्रसार गर्थे । तर यसअघिका निर्वाचनमा भन्दा यसपालीको निर्वाचनमा प्रचारशैली फरक देखिएको छ । राजनीतिक दल र उम्मेदवारहरूले यसपाली प्रचारशैलीमा नयाँपन दिएका छन् । प्रविधिको विकास र पहुँचसँगै उम्मेदवार र दलहरूले सामाजिक सञ्जालको प्रयोग गर्दै मत मागिरहेका छन् । उम्मेदवार र तिनका समर्थकका लागि सामाजिक सञ्जाल नै प्रचार गर्ने सबैभन्दा गतिला माध्यम बनेका छन् ।
कम खर्चिलो, भरपर्दो, सहज र अधिकांशको पहुँच भएका कारण पनि उम्मेदवारहरूले यसको प्रयोग बढाएका हुन् । उम्मेदवारले मात्र होइन, राजनीतिक दल, तिनका कार्यकर्ता र समर्थकले समेत प्रचारका लागि प्रविधिलाई रोजेका छन् । यसअघि सामाजिक सञ्जालसँग परिचित नभएका र यसबारे चासो नै नदिनेहरू उम्मेदवार बनेपछि सामाजिक सञ्जालमा जोडिएका छन् । उनीहरूले आफ्ना निकटका मान्छेलाई सहयोगी बनाएर सञ्जालमा आफ्नो प्रचार गरेर मत मागिरहेका छन् । यतिबेला सामाजिक सञ्जाल फेसबुक होस् या ट्वीटर, चुनावी प्रचारले निकै रंगिएका छन् । राजनीतिक दलका नेताकार्यकर्ताले सामाजिक सञ्जालमार्फत् चुनावी अभियान तीव्रता दिइरहेका छन् ।
‘आशा छ, शरीरमा एक थोपा रगत रहेसम्म सुर्खेती न्यायप्रेमी जनसमुदायहरूको न्याय, समानता, विकास र समृद्धिका लागि आमूल परिवर्तनको दिशामा निरन्तरता दिने प्रतिबद्धतासहित उम्मेदवारी दर्ता गरेको छु । आमूल परिवर्तनको दिशामा सदैव मलाई अघि बढाउन गिलास चिन्हमा मतदान गर्नुहुनेछ ।’ राष्ट्रिय जनमोर्चाबाट सुर्खेतमा निर्वाचन क्षेत्र नम्बर–२ (क) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका जीवन शाहीले आफ्नो फेसबुकवालमा यसरी मत माग्दै आफ्नो प्रचार गरेका छन् । यस्तै नेकपा एमालेबाट क्षेत्र नं. २ अन्तर्गतको (क) बाट प्रदेशसभाका उम्मेदवार बनेका यामलाल कँडेलको फेसबुकवाल पनि प्रचारले नै भरिएको छ ।
‘शान्ति, लोकतन्त्र, स्वाधिन र स्वाभिमान, सुखी जनता समृद्ध नेपाल हाम्रो अभियान’ भन्ने नारा उल्लेख गर्दै कँडेलले पनि आफ्नो प्रचार गरेका छन् । उनका समर्थक तथा कार्यकर्ताले पनि फेसबुकमै उनका फोटा प्रचार सामग्री राखेर भोट मागेका छन् । कँडेल भन्छन्, ‘प्रविधिले फड्को मारेको छ, अधिकांश मतदाता फेसबुकमा जोडिएका छन् । हामीले त्यसको सकारात्मक उपयोग गरेका छौं, सामाजिक सञ्जाल पनि प्रचारका लागि उपयोगी माध्यम बनेका छन् ।’ कांग्रेस नेता हृदयराम थानीले पनि प्रचारका लागि फेसबुकलाई प्रयोग गरिरहेका छन् । उनले पनि फेसबुककै माध्यमबाट मत मागिरहेका छन् । उनी प्रतिनिधसभाका लागि सुर्खेत क्षेत्र नम्बर २ का उम्मेदवार हुन् ।
सुर्खेतमा मंसिर २१ गते हुने निर्वाचनमा दुई जना प्रतिनिधिसभा र ४ जना प्रदेशसभाका सदस्यका लागि ५९ जनाको उम्मेदवारी परेको छ । विशेषत वाम गठबन्धन (नेकपा एमाले र माओवादी केन्द्र) र लोकतान्त्रिक गठबन्धनबीच प्रतिपष्पर्धा हुने देखिन्छ । उम्मेदवारका समर्थकहरूले पनि सामाजिक सञ्जालमा जिताऔं अभियानमार्फत् प्रचार गरेका छन् । उम्मेदवारहरूको प्रोफाइल चुनावी नाराले रंगीचंगी
बनेका छन् भने उनीहरूले इतिहासदेखि भावी योजनासम्म सामाजिक सञ्जालमार्फत् सार्वजनिक भइरहेका छन् । युवा पुस्ताले सामाजिक सञ्जाल बढी चलाउने भएकाले पनि भोट माग्न नयाँ प्रविधि रोज्नेको संख्या बढी देखिएको हो । ‘प्रविधिको विकाससँगै अधिकांशका हातमा मोबाइल छन् । इन्टरनेटको सुविधाका कारण भोट माग्ने शैली पनि परिवर्तन भएको छ ।
उम्मेदवारहरूले दिनभर चुनावी प्रचारका क्रममा गरेका क्रियाकलाप सामजिक सञ्जालमार्फत् प्रचार गरेका छन् । पछिल्लो समय जुलुस, आमसभा र कोणसभा भन्दा पनि सामाजिक सञ्जालमा उम्मेदवारका फोटा र विकास योजना राखेर भोट माग्ने क्रम बढेको हो । उम्मेदवार र दलहरूले सामाजिक सञ्जालमा गरेको प्रचार र आश्वासनलाई पनि मत तान्न सक्ने आधारका रूपमा नेताहरूले लिएका छन् । आफ्ना धारणा, विचार र विकास योजनाको प्रचार गर्न र जनतासम्म लैजान सामाजिक सञ्जाल गतिलो माध्यम बनेको दलहरूले बताएका छन् ।

प्रकाशित मितिः   २३ कार्तिक २०७४, बिहीबार १५:४४