प्रत्यक्षतर्फको प्रतिस्पर्धामा महिला उम्मेदवार

सुर्खेत, २२ कार्तिक । (साबिस) आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सुर्खेतबाट प्रत्यक्षतर्फ तीन जना मात्रै महिला उम्मेदवार बनेका छन् । सुर्खेत जिल्लाबाट ठूला राजनीतिक दलहरूले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ महिलालाई उम्मेदवारी दिन कञ्जुस्याइँ गरे । ठूला पार्टीले प्रतिनिधि र प्रदेशसभामा महिलालाई उम्मेदवारी दिन कञ्जुस्याइँ गरे पनि साना केही दलहरूले भने महिलालाई उम्मेदर बनाएका छन् । विवेकशील साझा पार्टीले रम्मा आचार्य, राष्ट्रिय जनमोर्चाले कृष्णा रावल र नेपाल मजदुर किसान पार्टीले रमा गुरुङ्गलाई उम्मेदवार बनाएका हो । यी तिनै जना महिला उम्मेदवारले अधिकांश पुरुष उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछन् । उनीहरू महिलाहरू पनि पुरुषहरूभन्दा कमजोर नभएको भन्दै प्रतिस्पर्धामा सहभागी भएको बताउँछन् ।

‘महिलाहरू पनि पुरुषभन्दा कमजोर छैनन्’

कृष्णा रावल
प्रतिनिधिसभा सदस्य उम्मेदवार, सुर्खेत क्षेत्र नं. २

राष्ट्रिय जनमोर्चा सुर्खेतकी उपाध्यक्ष कृष्णा रावलले प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी छिन् । अन्य ठूला दलहरूले प्रत्यक्षतर्फबाट महिला उम्मेदवार नउठाए पनि राष्ट्रिय जनमोर्चा पार्टीले कृष्णालाई प्रत्यक्षतर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।
प्रतिनिधिसभाकी उम्मेदवार कृष्णाले प्रत्यक्षतर्फबाट पुरुषसँग प्रतिस्पर्धा गर्न गाह्रो भए पनि महिला भएका कारण महिलाको भोटको अपेक्षा र संगठनको आधारमा आफूले जित्ने सम्भावना रहेको बताइन् । कृष्णाले भनिन्, ‘महिला उम्मेदवार भएका कारण र संगठन नै जित्छु भन्ने आधार हो ।’
वि.सं. २०३० सालमा दैलेखको नारायण नगरपालिका–८ मा जन्मिएकी कृष्णाको राजनीति यात्रा २०५४ सालदेखि सुरु भयो । दैलेखबाट सुरु भएको उनको राजनीतिक यात्रा राष्ट्रिय जनमोर्चा पार्टीको साधारण सदस्य हुँदै जिल्लाको सहसचिवसम्म भएर काम गरिन् । उनी २०५८ सालमा अखिल महिला संघको अध्यक्ष पनि भइन् । २०६५ सालमा सुर्खेत आएकी कृष्णा पार्टीको जिल्ला कोषाध्यक्ष पनि भइन् । महिला संघको अध्यक्ष पदमा रहेर पनि काम गरेकी उनी पार्टीको केन्द्रीय सदस्य पनि भइन् । २०७० सालमो संविधानसभाको चुनावमा सुर्खेत क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फको उम्मेदवारसम्म भइसकेकी उनी अहिले प्रत्यक्षतर्फबाट नै क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा उम्मेदवारी दिएकी छिन् ।
ठूला दलले सुर्खेतमा प्रत्यक्षतर्फ एक जना पनि महिला उम्मेदवार उठाएका छैनन् । ठूला दलहरू महिलाप्रति अनुदार रहेको कृष्णाको ठहर छ । तर जनमोर्चाले भने महिलालाई प्राथमिकता दिदैँ आएको उनी बताउँछिन् । ‘यसअघि संविधानसभा निर्वाचनमा पनि म प्रत्यक्षतर्फ नै उम्मेदवार भइसकेकी छु र अहिले पनि प्रत्यक्षतर्फ नै लड्दैछु’ उनले भनिन्, ‘ठूला भनिएका दलहरूले महिलालाई समानुपातिकमा सीमित गर्ने गरेका छन्, यसले महिलाको क्षमता र योग्यतामाथि अपमान भएको छ ।’
महिलाहरू पनि पुरुषहरूभन्दा कम नभएको भन्दै रावलले हरेक दलले महिलाहरूलाई पनि समान सहभागितामा जोड दिनुपर्ने बताउँछिन् । उनले नारामा मात्र नभइ व्यवहारमै महिलाको नेतृत्व स्थापित गर्न काम गर्नुपर्ने बताइन् ।
रावलले यो निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी, नेकपा एमाले सुर्खेतका पूर्व अध्यक्ष एवम् प्रदेश नम्बर ६ का सदस्य नवराज रावत लगायतका पुरुष उम्मेदवारहरूसँग चुनावी प्रतिस्पर्धा गर्दैछिन् । उनी महिलाहरूका मुद्दा स्थापित गर्न नेतृत्वमा पनि महिला नै पुग्नुपर्ने भन्दै यो निर्वाचनमा सबै महिला मतदाताहरूले महिला उम्मेदवारलाई जिताउन आग्रह पनि गर्छिन् ।

‘अवसर लिन महिलाहरू आफै अघि सर्नुपर्छ’

रमाकुमारी गुरुङ्ग
प्रदेशसभा सदस्य उम्मेदवार, सुर्खेत क्षेत्र नं. २ (क)

नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट रमाकुमारी गुरुङ्गलाई उम्मेदवार बनाएको छ । उनले मंसिर २१ गते हुने निर्वाचनमा पूर्वमन्त्री एवम् नेकपा एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेल, नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी लगायतका पुरुष उम्मेदवारहरूसँग प्रतिस्पर्धा गर्दैछिन् ।
२०२६ सालमा गुराँस गाउपालिकामा जन्मिएकी रमाको राजनीतिक यात्रा २०४६ सालदेखि सुरु भएको हो । बाल्यकालदेखि नै पत्रपत्रिका पढ्ने र राजनीतिमा चासो राख्ने स्वभावकी रमाले विद्यार्थीकालबाट राजनीति सुरु गरिन् । २०४६ सालको आन्दोलनमा सक्रिय रूपमा लागेकी रमा त्यसपछि नै नेपाल मजदुर किसान पार्टीमा आवद्ध भइन् । अन्य दलको भन्दा नेपाल मजदुर किसान पार्टीको सिद्धान्त मनपरेका कारण उनले मजदुर किसान पार्टीलाई रोजिन् । उनले २०४७ सालमा नेपाल महिला संघ दैलेखको जिल्ला सदस्य भएर काम गरिन् ।
उनी २०४८ देखि २०५६ सालसम्म कुसापानी दैलेखमा शिक्षक भएर अध्यापन गराइन् । माओवादीको सशस्त्र द्वन्द्वको समयमा उनी २०५८ सालमा शिक्षकको जागिर छोडेर उनी भारत गइन् । १३ वर्ष भारतमा बसेकी रमाले २०७१ सालमा पुन नेपालमा फर्केर आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिइन् ।
आफूले जितेमा क्षेत्र नम्बर २ को समृद्धि र विकासमा लागि पर्ने उनको प्रतिबद्धता छ । आफूले जितेको खण्डमा महिलालाई सशक्तीकरण गर्दै आत्मर्निभर बनाउने योजनाहरू ल्याउने उनले बताइन् । उनले भनिन्, ‘हाम्रो पार्टीको अरु पार्टीको भन्दा फरक विचारधारा रहेको छ, हाम्रो पार्टीले शिक्षा, स्वास्थ्य निःशुल्क हुनु पर्ने माग राख्दै आएको छ । भष्टाचार विरुद्धको आवाज उठाउँदै आएको छ, देश विकासका लागि आवाज उठाउँदै आएको छ, त्यसैले सैद्धान्तिक रूपमा जनताले आफ्नो मतको प्रयोग गर्नु हुनेछ ।’
राजनीतिमा सक्षम महिलाहरू भए पनि पछाडि पार्ने गरिएको भन्दै रमाले अवसर लिनका लागि महिलाहरू आफै अघि सर्नुपर्ने बताइन् । नीति निर्माण गर्नेदेखि नेतृत्व गर्नेसम्मका स्थानमा महिलाहरूको पहुँच वृद्धि नगरेसम्म महिलाहरूले विभेदको सामना गरिरहनुपर्ने उनको भनाइ छ । राजनीतिक दल जुन भए पनि महिलाका मुद्दामा सबै महिलाहरू एकजुट हुनुपर्ने र महिलाहरूलाई नेतृत्वमा पु¥याउन सामूहिक प्रयास गर्नुपर्ने उनी बताउँछिन् । अधिकांश पुरुष उम्मेदरहरूसँग प्रतिस्पर्धा गरेर आफूले निर्वाचन जित्ने उनको दाबी छ ।

प्रकाशित मितिः   २३ कार्तिक २०७४, बिहीबार १५:४९