‘पाँच वर्षभित्र गरिबी उन्मूलन’
साझा बिसौनी संवाददाता
सुर्खेत, २२ कार्तिक ।
वाम गठबन्धनका उम्मेदवारहरूले पाँच वर्षभित्र पश्चिम सुर्खेतको गरिबी उन्मूलन गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रचार–प्रसारका क्रममा उम्मेदवारहरूले आफ्नो घोषणापत्रमार्फत् यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रतिनिधिसभा क्षेत्र नं. २ का उम्मेदवार नवराज रावत र प्रदेशसभातर्फ क्षेत्र नं. २(ख) का उम्मेदवार विन्दमान विष्टले संयुक्त घोषणापत्रमार्फत् गरिबीको रेखामुनी रहेका पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका तथा बराहताल र चौकुने गाउँपालिकामा निरपेक्ष गरिबीको रेखामुनी रहेका नागरिकलाई उक्त अवस्थाबाट मुक्त गरी सुखी र समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी तीन वटै स्थानीय तहमा विद्युत विस्तार गर्ने, बेतना–कर्णाली जलविद्युत आयोजना, अपरकर्णालीका साथै रेक्चामा विद्युत संकलन तथा वितरण केन्द्र स्थापना गर्ने प्रतिबद्धता समेत रावत र विष्टले मतदातामाझ गरेका छन् ।
कृषिलाई लक्षित गरी भेरी र कर्णालीमा लिफ्ट सिँचाइ आयोजना निर्माण गर्ने, एक स्थानीय तह एक शितभण्डार निर्माण गर्ने, तीन वर्षभित्र खाद्यान्न, मासु, तरकारी, फलफूल र दलहन बालीमा आत्मनिर्भर बनाउँदै पाँच वर्षमा खाद्यान्न निर्यात गर्नसक्ने बनाउने, प्रभावकारी सामाजिक सुरक्षा कार्यक्रम ल्याउने उनीहरू बताउँछन् ।
यातायात तथा पूर्वाधार विकासतर्फ बड्डिचौरदेखि बेनीघाट जोड्ने सडक स्तरोन्नति गर्ने, छेडा–कल्याणकाँध–भक्तडी–धनरास पर्यटकीय सडकमार्ग निर्माण गर्ने, चिसापानी–घाटगाउँ–गुटु–अछाम सडक निर्माण, सुर्खेत–भुरीगाउँ सडक, तातापानी–लाठीकाँडा–जंगलाघाट सडक, हर्रे–तेलपानी–गाइनेकाँडा–कर्णाली चिसापानी सडक, ओदालताल–दमार–बड्डिचौर सडक निर्माण लगायतका योजना गठबन्धनका उम्मेदवारहरूले अघि सारेका छन् । पर्यटकीय स्थलहरूको संरक्षण र विकास, आधुनिक औद्योगिक क्षेत्र स्थापना, चौकुने र लखरपाटा सिमेन्ट उद्योग सञ्चालन, फलामखानीको अध्ययन र उत्खनन् गरी समृद्ध क्षेत्र बनाउने योजना रावत र विष्टको प्रतिबद्धतापात्रमा समावेश गरिएको छ ।
त्यसैगरी हरेक गाउँपालिकाको केन्द्रमा २५ र नगरपालिकाको केन्द्रमा ५० शैयाको अस्पताल स्थापना गरी सबै नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने, तीन वर्षभित्र सबै नागरिकलाई खानेपानी सुविधा उपलब्ध गराउने, खेलकुद विकास गर्नेसहितका विभिन्न २० बुँदे प्रतिबद्धतापत्र रावत र विष्टले सार्वजनिक गरेका छन् ।
साझा बिसौनी संवाददाता ।