‘हेभीवेट’सँग भिड्दै यी तन्नेरी उम्मेदवार

‘मलाई मतदाताले मत नदिनुपर्ने कुनै कारण छैन’

नामः प्रचण्ड पोखरेल
उमेरः ३६ वर्ष
पार्टीः नयाँशक्ति पार्टी

मध्यपश्चिमलाई छुट्टै प्रदेश बनाउनुपर्ने माग गर्दै सुर्खेतमा भएको आन्दोलनमा प्रचण्ड पोखरेल सधैं अग्रपंक्तिमा थिए । उनले हरेक दिन युवाहरूलाई एकत्रित गर्दै सडक तताइरहे । जुन आन्दोलनको बलमा सुदूरपश्चिमसँग गाभिएको मध्यपश्चिमका १० जिल्लालाई छुट्टै प्रदेश बनाइयो । उक्त आन्दोलनको सफलतामा आफूले पनि भूमिका निर्वाह गर्न पाएकोमा पोखरेल गर्व गर्छन् । तर उक्त भूमिकाप्रति गर्व गरेर बसिरहने स्वभाव उनको छैन । बरु उनी चाहन्छन् आन्दोलनको बलमा स्थापित प्रदेश नम्बर ६ लाई समृद्ध बनाउन थप भूमिका निर्वाह गर्न सकियोस् । यही चाहना पूरा गर्न उनी राजनीतिमा होमिएका छन् ।
कम्युनिष्ट विचारधाराबाट प्रशिक्षित भएर आएका पोखरेललाई अहिले लाग्छ, अब देशमा मौजुदा दल र तिनको नेतृत्वबाट समृद्ध नेपाल निर्माण गर्न सम्भव छैन । त्यसैले उनले रोजे वैकल्पिक शक्ति निर्माण गर्ने उद्घोषसहित स्थापना भएको नयाँ शक्ति पार्टी । आगमी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा पोखरेल नयाँशक्तिकातर्फबाट सुर्खेतको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट उममेदवार बनेका छन् । उनको प्रतिस्पर्धा हुँदैछ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानी, वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका एमालेका नवराज रावत लगायतसँग । पहिलो पटक संसदीय निर्वाचनमा सहभागी हुन लागेका पोखरेल जिल्लाका हेभीवेट नेताहरूसँगको प्रतिस्पर्धाबाट आफू नडराएको बताउँछन् । भन्छन्, ‘मतदाताले व्यक्ति हेर्ने होइन व्यक्तिको क्षमता र उनले विगतमा खेलेको भूमिका हेरेर मतदान गर्दछन् । त्यसैले मतदाताले प्रचण्ड पोखेरललाई मत नदिनुपर्ने कुनै कारण छैन । म प्रतिस्पर्धाका लागि पूर्ण रूपमा तयार छु ।’
पूराना दल, पूराना नेता र तिनका पुरानै एजेण्डाबाट जनताहरू सन्तुष्ट नभएकाले त्यसको विकल्पमा नयाँ शक्ति पार्टी स्थापना भएको पोखरेल बताउँछन् । आफ्नो पार्टीको प्रमुख एजेण्डा नै विधिको शासन स्थापना गर्ने र समृद्ध मुलुक निर्माण गर्ने भएकाले जनताले यो एजेण्डालाई आत्मसात् गर्दै आफूलाई भोट दिनेमा विश्वस्त रहेको उनको दावी छ । उनले भने, ‘हिजो व्यवस्था बदल्न लाग्यौं, अब अवस्था बदल्नका लागि हामी आएका छौं, हामीलाई जनताले पक्कै साथ दिनुहुनेछ । जनताले साथ दिएमा हामी विधिको शासन स्थापित गर्नेछौं ।’
वि.सं. २०३८ सालमा पूर्वी सुर्खेतको सिम्तामा जन्मिएका प्रचण्डको राजनीतिक यात्रा विद्यार्थीकालदेखि नै सुरु भएको हो । सुरुवातमा उनी नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
(अनेरास्ववियु) मा आवद्ध भए । विद्यार्थी छँदा अनेरास्ववियुको क्याम्पस इकाई कमिटीको उपाध्यक्ष, स्ववियुको सहसचिव लगायतका जिम्मेवारी सम्हालेका उनी अहिले नयाँशक्ति पार्टीको केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेस, एमाले र माओवादी लगायतका दल र तिनका एजेण्डालाई जनताले पटक–पटक परीक्षण गरिसक्दा पनि त्यसले प्रतिफल दिन नसकेकाले अब नयाँ शक्ति नै उनीहरूको विकल्प भएको बताउँछन् उनी । भन्छन्, ‘एक पटक हामीलाई परिक्षण गरेर हेनुस्, हामी तपाईंहरूको चाहना अनुसार काम गरेर देखाउँछौं ।’
पोख्रेलका मुख्य एजेण्डाहरू
– विधिको शासनसहितको समृद्ध समाज र मुलुक निर्माण गर्ने ।
– नागरिकलाई आधारभूत सेवा तत्काल प्रदान गर्ने ।
– कृषकलाई उत्पादनमा आधारित शतप्रतिशत अनुदान दिने ।
– समृद्ध सुर्खेत निर्माणका लागि यहाँ रहेको विमानस्थलको स्तरोन्नति गर्ने ।
– शिक्षा, स्वास्थ्य, सञ्चार र यातायातको सुविधाबाट कुनै पनि टोल वञ्चित हुनुनपर्ने ।
– पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रलाई सबल बनाउने ।

 

‘जनताको विकास र समृद्धिको अपेक्षा पूरा गर्नेछु’

नामः पदमप्रसाद खनाल
उमेरः २७ वर्ष
पार्टीः विवेकशील साझा

बालक्लब, युवा नेटवर्क हुँदै विभिन्न सामाजिक कार्यमा सक्रिय पदम खनाललाई समाजमा भएका विकृति र बेथितिलाई विरक्त बनाउँथ्यो । जहाँ पनि बेथिति, जतासुकै भ्रष्टाचार । उनलाई लाग्थ्यो, यसको अन्त्य हुनुपर्छ । तर विभिन्न आन्दोलन र संघर्षबाट स्थापित ठूला राजनीतिक दलका नेतृत्वबाट उनले अपेक्षा गरे अनुसारको परिवर्तन भएन । र, आगामी दिनमा त्यही नेतृत्वबाट भ्रष्टाचार र बेथितिको अन्त्य गरी सु–संस्कृत समाज निर्माण गर्ने अभिभारा पूरा हुने विश्वास पनि उनलाई लागेन । त्यसैले उनी आफै राजनीतिमा होमिने संकल्पन गरे । र रोजे, भर्खरै गठन भएको विवेकशील साझा पार्टी ।
विवेकशील साझा पार्टीका केन्द्रीय नेतृत्व र उनीहरूको एजेण्डा खनाललाई मन परेका थिए । उनीहरूलाई पढ्थे, सुन्थे । विस्तारै उनलाई लाग्न थाल्यो अब मैले सोचे जस्तै सु–संस्कृत समाज र समृद्ध मुलुक निर्माण गर्नसक्ने कोही छ भने त्यो विवेकशील साझा पार्टी नै हो । त्यसपछि उनी त्यसमै आवद्ध भए । विवेकशिल साझा पार्टीमा आवद्ध भएको छोटो समयमै उनलाई पार्टीले निकै महŒवपूर्ण जिम्मेवारी पनि दिएको छ । विवेकशीलको तर्फबाट सुर्खेत क्षेत्र नं. २ (ख)बाट आगामी मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा उनी उम्मेदवार बनेका छन् । जसको प्रतिस्पर्धा वर्तमान सरकारका सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादीका पोलिटब्यूरो सदस्य विन्दमान विष्ट लगायतका हेभीवेट नेताहरूसँग हुँदैछ ।
‘कमाउनका लागि होइन सेवाका लागि राजनीति गर्नुपर्छ र परिवर्तन हाम्रै जीवनकालमा गर्नुपर्छ भन्ने विवेकशील साझा पार्टीको कुरा मन परेपछि म यसमा आवद्ध भएको हुँ’ खनालले भने, ‘म सांसद बन्नका लागि होइन भ्रष्टाचारमुक्त, बेथितिरहित, सु–संस्कृत र समृद्ध नेपाल निर्माण गर्ने उद्देश्यसहित उम्मेदवार बनेको हुँ ।’ हेभीवेट नेताहरूसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका २७ वर्षीय यी तन्नेरीले अहिलेका मतदाताहरू विवेकशील भएकाले झुठा आश्वासन बाँडेर चुनाव जित्ने पुराना दलका पुरानै नेतृत्वलाई भोट नदिने जिकिर गरे । ‘जनताले पुराना दल र तिनका नेताबाट समृद्ध समाज र विकसित मुलुक बन्न नसक्ने कुरा बुझिसक्नुभएको छ त्यसैले उहाँहरूले पुरानालाई होइन नयाँलाई भोट दिनुहुनेछ, उहाँको त्यही चाहना बुझेर म उम्मेदवार बनेको हुँ ।’
बाल्यकालदेखि नै विभिन्न सामाजिक कार्यमा सक्रिय पदम खनालको राजनीतिक जीवन त्यति लामो छैन । तर उनको लक्ष्य र अबको योजना भने निकै लामो छ । त्यसैले उनी पूर्णकालीन राजनीतिमा होमिएका छन्, विवेकशील साझा पार्टीमार्फत् । सुर्खेतका पञ्चपुरी नगरपालिका–५ मा वि.सं. २०४७ सालमा जन्मिएका खनाल बाल्यकालमा बालक्लबमा आवद्ध भइ युवा नेटवर्क हुँदै अहिले पार्टी राजनीतिमा सक्रिय हुन आइपुगेका हुन् ।
खनालका मुख्य एजेण्डा
– भ्रष्टाचारमुक्त, बेथितिरहित, सु–संस्कृत र समृद्ध समाज र नेपाल निर्माण गर्ने ।
– पश्चिम सुर्खेतलाई विद्युतीकरण गर्ने, सबै ठाउँमा सडक पु¥याउने, सञ्चारको सुविधा पु¥याउने, शैक्षिक विकास गर्ने र समृद्ध बनाउने ।
– उद्यमशीलता र औद्योगिक विकासमार्फत् स्थानियस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने । युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्ने ।
– युवाहरूलाई दुव्र्यसनीबाट मुक्त गरी सबल, आत्मनिर्भर र सु–संस्कृत समाज निर्माण गर्ने ।

 

‘मतदाताले नयाँ विकल्प खोजिरहेका छन्’

नामः जीवन शाही
उमेरः ३२ वर्ष
पार्टीः राष्ट्रिय जनमोर्चा

२०४६ सालको जनआन्दोलनका बेला जीवन शाही चार वर्षका मात्र थिए । उनको बालमस्तिष्कलाई राजनीति र आन्दोलनबारे उति जानकारी थिएन । तर बाबुको काखबाटै शाहीले निर्दलिय पञ्चायति व्यवस्थाविरुद्ध राँको बालेर जुलुसमा सहभागी भएका थिए । त्यसयता राजनीतिप्रति उनको झुकाव र लगाव निरन्तर जारी छ ।
शाही ६÷७ वर्षको हुँदादेखि नै राजनीतिक अभियानमा सहभागी भए, केही बुझेर त केही नबुझेरै । अखिल नेपाल बाल संगठनमा आवद्ध भएर उनले त्यतिबेलै राजनीतिक यात्रामा आफूलाई डो¥याएका थिए । उनका बाबु कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । जीवन पनि बाबुको प्रेरणाबाट राजनीतिमा आकर्षित भए । राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठन अनेरास्ववियु छैठौंमा आवद्ध भएर विद्यार्थी राजनीति सँगसँगै रक्तिम सांस्कृतिक अभियानमा आवद्ध भइ सांस्कृतिक अभियानमा उनी सक्रिय रहे । अखिल छैठौंको कालिकोट जिल्ला उपाध्यक्ष, सुर्खेत जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै राष्ट्रिय परिषद् सदस्यसमेत भइसकेका शाही सांस्कृतिक अभियानमा पनि नेतृत्वदायी भूमिका निरन्तर छन् । रक्तिमको सुर्खेत जिल्ला अध्यक्ष, मध्यपश्चिमाचल क्षेत्रीय अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय सचिव हुँदै हाल उनी केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन् ।
विद्यार्थी राजनीतिसहित अन्य संग संगठनहरूका निर्वाचनमा सहभागि भएपनि संसदीय निर्वाचनमा भने उनी पहिलो पटक उम्मेदवार बनेका छन् । सुर्खेत क्षेत्र नम्बर २ को (क)बाट उनी आगामी मंसिरमा हुने प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदैछन् । यी ३२ वर्षे तन्नेरीले शीर्ष दलका हेभीवेट नेताहरू चुनावी प्रतिस्पर्धा गर्दैछन्, जुन उनका लागि सहज छैन । तर शाहीको आत्मविश्वास पनि कमजोर छैन । भन्छन्, ‘मलाई थाहा छ, म यहाँको स्थापित नेताहरूसँग प्रतिस्पर्धा गर्दैछु, तर मलाई के पनि थाहा छ भने सधैं उही दल, तिनै नेता र पुरानै एजेण्डालाई जनतालाई स्वीकार्दैछन् । जनताले अब नयाँ नेतृत्व र नयाँ एजेण्डालाई स्थापित गर्नेमा म विश्वस्त छु ।’
मतदाताको मनस्थिति बदलिएको भन्दै शाही थप्छन्, ‘सुर्खेती जनताले हालसम्म सधैं कांग्रेस, एमाले र माओवादीलाई जिताए तर के जनताले अपेक्षा गरेअनुसार नेतृत्व पाए ? पाएनन् । त्यसैले अब ती पुराना शासक दल र तिनको विकल्प जनताले खोज्नेछन् म त्यही विकल्पको रूपमा निर्वाचनमा उम्मेदवार बनेको छु ।’ पुरानै अनुहार र पुरानै एजेण्डालाई जिताएर यथास्थितिमै रहने कि नयाँ नेतृत्व र नयाँ एजेण्डा स्थापित गरेर अघि बढ्ने भन्ने कुरामा सोचेर मतदान गर्न उनले मतदातालाई आग्रह गरे । शाहीले यो निर्वाचनमा वाम गठबन्धनकातर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य एवम् पूर्वमन्त्री यामलाल कँडेल, नेपाली कांग्रेस सुर्खेतका जिल्लासभाति कमलराज रेग्मी लगायतसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
शाहीका मूख्य एजेण्डा
– राष्ट्रिय एकता, अखण्डता र स्वाधिनताको रक्षाका लागि युवाहरूलाई एकबद्ध गर्ने ।
– ओझेलमा परेका युवाका मुद्दालाई मूल प्रवाहमा ल्याउने र युवा नेतृत्व स्थापित गर्ने ।
– शैक्षिक बेथितिको अन्त्य गर्ने ।
– उद्यमशीलताको विकास गरी पर्याप्त रोजगारी सिर्जना गर्ने र गरिबी अन्त्य गर्ने ।
– सुर्खेत उपत्यकाको चत्रपथ निर्माण गर्ने, खानेपानीको समस्या समाधान गर्ने, सहरी विकासलाई व्यवस्थित गर्ने, सुकुम्वासी समस्या समाधान गर्ने, बाढीपीडितलाई पुनस्थापित गर्ने ।
– सुर्खेत उपत्यकाको गुरुयोजना कार्यान्वयन गर्दै समृद्ध सुर्खेत निर्माण गर्ने
– भेरी करिडोर, खोर्के करिडोर र इत्राम करिडोर निर्माण गर्ने

 

‘मेरो पार्टीका एजेण्डालाई जनताले साथ दिनेछन्’

नामः रम्मा आचार्य
उमेरः २८ वर्ष
पार्टीः विवेकशील साझा

मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ सुर्खेतबाट चार जना महिलाको मात्रै उम्मेदवारी परेको छ । जसमध्ये एक हुन्, विवेकशील साझा पार्टीकी रमा आचार्य । यी २८ वर्षीया युवतीले राष्ट्रिय राजनीतिमै स्थापित नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का तथा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एमाले सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीजस्ता हेभीवेट नेतासँग चुनावी प्रतिस्पर्धा गर्दैछिन् ।
वि.सं २०४६ सालमा वीरेन्द्रनगर–६ सुर्खेतमा जन्मिएकी रमा यसअघि कुनै पार्टीमा भने आवद्ध थिइनन् । उनी भन्छिन्, ‘म सानैदेखि राजनीतिमा आस्था राख्ने गर्थें, तर राम्रो र फरक उद्देश्य भएको पार्टी नभएको हुँदा राजनितिमा खुलेर लाग्न सकिनँ । मेरो विचारसंग मिल्ने उद्देश्य विवेकशील साझा पार्टीमा पाएर यस पार्टीमा आवद्ध भएँ ।’ उनी राजनीतिमा आस्थावान भए पनि राजनीतिक यात्रा सुरु भएको मात्र ६ महिना भएको छ । ६ महिनामा नै प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फबाट आफ्नो उम्मेदवारी दिएकी रमालाई अन्य पार्टीभन्दा आफ्नो पार्टीको एजेण्डा र उद्देश्य नै फरक भएकाले जित्ने आधार बलियो भएको बताइन् । उनले भनिन्, ‘अरु पार्टीको भन्दा हाम्रो पार्टीको एजेण्डा र उद्देश्य फरक छ र सबैले आश गरेको पार्टी भएकाले जित्ने आधार बलियो छ ।’
वर्षौदेखि राजनीतिमा लागेका पुरुषहरूसँग प्रतिस्पर्धामा उत्रिएकी रमाले आफ्नो पार्टीले भष्टाचारविरुद्धको अभियान चलाएको, दलित, गरीबको एजेण्डालाई उठाएको हुँदा अबको चुनावमा आफूले जित्नेमा विश्वस्त रहेको बताइन् । भन्छिन्, ‘म पहिलो पटक नै हेभीवेट’ नेताहरूसँग चुनावी प्रतिस्पर्धा गर्दैछु तर मलाई कुनै डर छैन । मेरो पार्टीको नीति र एजेण्डा मतदाताले मन पराएका छन् त्यसकारण उहाँहरूले मलाई भोट दिनुहुनेछ ।’
आचार्यका मुख्य एजेण्डा
– सुशासन र सदाचार कायम गर्ने ।
– कु–संस्कारयुक्त राजनीतिलाई सु–संस्कारयुक्त बनाउने ।
– भ्रष्टाचार र विभेदरहित समाज निर्माण गर्ने ।
– महिलाहरूको नेतृत्व स्थापित गर्ने ।
– जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्ने ।

प्रकाशित मितिः   २२ कार्तिक २०७४, बुधबार १२:२६