निर्वाचनको मुखैमा मुग्लान पसे मतदाता

‘भोट हालेर पेट भरिदैंन, कमाउनलाई मुग्लान जानैपर्छ’

डिलप्रसाद शर्मा
सुर्खेत, २१ कार्तिक ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल सहरदेखि गाउँसम्मै बढेको छ । उम्मेदवारहरू मनोनयन दर्ता गरेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन् । सबै पार्टीले गाउँ–गाउँमा पुगेर चुनावअघि कतै नजान आफ्ना कार्यकर्ता र आम मतदातालाई आग्रह गरिरहेका छन् । तर ग्रामीण क्षेत्रका कयौं मतदाता भने निर्वाचनको मुखैमा पुग्लान पसेका छन् ।


यसरी निर्वाचन नजिकिदैं गर्दा मुग्लान जानेहरूमा पश्चिम सुर्खेतदेखि दैलेख, मुगु, हुम्ला लगायत ग्रामीण क्षेत्रका नागरिक छन् । उनीहरू आफ्नो दैनिक जिविका चलाउन आवश्यक पैसा कमाउन भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएका हुन् । जसले गर्दा पहिलो पटक हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उनीहरू मतदानबाट वञ्चित हुनेभएका छन् ।
निर्वाचनको मुखैमा मतदाताहरू मुग्लान जान थालेपछि उम्मेदवारहरू पनि चिन्तित बनेका छन् । विभिन्न दलका नेताहरूले हरेक गाउँका अगुवालाई फोन गरेरै भोट नदिइ कसैलाई पनि बाहिर जान नदिनु भनिसकेका छन् । गाउँका अगुवा वा मुखियाले भनेको सबैले मान्ने यहाँको पुरानो चलन हो । कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक र राप्रपाका जिल्ला नेताले आफ्ना मातहतका गाउँले अगुवालाई चुनाव प्रचारमा जुट्न र जिल्ला छाडेर नजान आग्रह गरेपछि अहिले मुगुलाई चुनावको रौनकले छोपेको छ । प्रचार–प्रसार गर्न नेताहरू दैनिक बैठक गर्दै आएका छन् । दलहरूले प्रचार–प्रसार समिति बनाएर गाउँ–गाउँमा कार्यकर्ता परिचालन गरिसकेका छन् । माओवादी र एमालेले संयुक्त रूपमा प्रचारलाई तीव्रता दिएका छन् । प्रचार कमिटी र उम्मेदवारहरू सहयोगी टीम बनाएर घरदैलोमा पुगिरहेका छन् । चुनावी सरगर्मी बढेसँगै जिल्लाबासी मंसिर १० को मतदान समयको पर्खाइमा छन् । तर यस्ता कयौं मतदाता छन् जसले चुनाव हुने दिनलाई पर्खिरहन सकेनन्, रोजगारीका लागि मुग्लान पसे । यसले गर्दा वैशाख ३१ को निर्वाचनमा मताधिकार प्रयोग गरेका सबै मतदाताले प्रतिनिधिसभा र प्रदेशसभाका लागि भने मत हाल्न पाउने छैनन् । खेती किसानीले महिना दिन खाना नपुग्ने भएपछि मुगुलगायत हिमाली र पहाडी जिल्लाका मतदाता निर्वाचनको मुखैमा मुग्लान जान थालेका हुन् ।
‘हाडमासु घोटिन्जेल खेती ग¥यो, न्वाँगी खाँदैमा सकिन्छ’, भारत जान हिँडेका मुगु गमगढी नगरपालिका–१ रुगुका नविन लौउरले भने, ‘जागिर छैन् । जीउ ढोक्ने कपडाका लागि इन्डिया नगइ नहुन्या ।’ ठेकदारसँग हिउँद (मंसिर, पुस, माघ ) भर काम गर्ने सम्झौता गरिसकेकाले चुनाव छोडेरै भारत जानु परेको उनले बताए ।
राजनीतिक नेतृत्वसँग ती मतदाताहरू सन्तुष्ट समेत छैनन् । राजनीतिक दलले विगतका चुनावमा दिएका आश्वासन पूरा नगर्दा मतदातामा निराशा छाएको छ । विगतमा निर्वाचनमा मतदान गरेको मतदाता आसन्न निर्वाचनका बेला पनि आश्वासन सुन्न नपरोस् भन्न थालेका छन् । ‘भोट हाल्यो, जितायो । नेता घुम्ने कुर्सीमा गया’ तीन जनाको परिवारसहित वीरेन्द्रनगरमा भेटिएका उनले भने, ‘हाम्रा दुःख कैं नजान्या, झुटा कुरा नसुन्याकै बेस ।’
मुगुदेखि नेपालगन्ज जाने बसमा भेटिएका नविन एक प्रतिनिधि पात्र मात्रै हुन् । स्थानीय तहको निर्वाचनमा मताधिकार प्रयोग गरेका एउटै गाउँका सात परिवार बालबच्चासहित भारत गएका छन् । उनीहरू भन्छन्, ‘भोट हालेर पेट भरिदैंन, कमाउनलाई मुग्लान जानैपर्छ ।’ सरकारले बाह्य मुलुकबाट पनि मतदान गर्ने व्यवस्था मिलाउन नसक्दा चुनावका मुखैमा भारत जाने मतदाता मताधिकारबाट वञ्चित भएका छन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७४, बुधबार १२:१९