प्रदेश ६ का आठ जिल्ला गरिबीको सूचीमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ कार्तिक ।
६ नम्बर प्रदेशका आठ जिल्लामा करिब ६२ हजार घरपरिवार गरीब रहेका छन् । सहकारी तथा गरिबी निवारण मन्त्रालयले पहिलो चरणमा पीएमटी (प्रोक्सिमिन टेस्टिङ) को आधारमा २५ जिल्लामा गरेको गरिबी पहिचान विधिबाट यस प्रदेशमा करिब ६२ हजार घरपरिवार गरीब भएको पहिचान गरेको हो ।
तथ्यांक अनुसार यस प्रदेशमा ६१ हजार नौ सय ९४ घरपरिवार गरिबीको रेखामुनी छन् । जस अनुसार प्रदेशका १० जिल्लामध्ये दैलेख र सुर्खेतबाहेक बाँकी ८ जिल्ला गरिबीको सूचीमा छन् । तथ्यांकमा उल्लेख भए अनुसार कालिकोटमा १२ हजार चार सय ३३ घरपरिवार गरिबीको रेखामुनी छन् । कालिकोटमा प्रदेशकै सबैभन्दा बढी जनसंख्या गरिबीको रेखामुनी भएको पाइएको छ । यस्तै, रोल्पामा नौ हजार आठ सय ७८, रुकुममा आठ हजार आठ सय ४२, जाजरकोटमा नौ हजार नौ सय ४१ घरपरिवार गरीब छन् । यसैगरी, डोल्पामा दुई हजार नौ सय १६, जुम्लामा नौ हजार एक सय ४७, मुगुमा चार हजार दुई सय ७७ र हुम्लामा चार हजार पाँच सय ६० घरपरिवार गरीब छन् । सामान्यतः समाजले स्वीकार गरेको सम्पन्नता हासिल गर्न र जीवनका लागि आवश्यक न्यूनतम आधारभूत आवश्यकता (गास, बास र कपास) परिपूर्ति गर्न वा वित्तीय स्रोत जुटाउन नसक्ने अवस्थालाई गरिबी भनिन्छ ।
मन्त्रालयले गरीब घरपरिवार र पहिचान विधिको सूचकको रूपमा जनसांख्यिक तथा मानवीय अवस्था, बसोबासको भौतिक अवस्था, घरायसी सुविधा, भौगोलिक क्षेत्र तथा क्षेत्रगत गरिबीको अवस्था र जात–जातिगत गरिबीको अवस्थालाई लिइएको थियो । सरकारले ६ नम्बर प्रदेशसहित २५ जिल्लाका गरीब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ । मन्त्रालयको तथ्यांक अनुसार २५ जिल्लामा तीन लाख ९१ हजार आठ सय ३१ घरपरिवारका १२ लाख २४ हजार चार सय १७ जना गरीब भएको पहिचान गरिएको छ ।
गरिबी पहिचान गरिएका २५ जिल्लामा भोजपुर, खोटाङ, सिरहा, सिन्धुली, रामेछाप, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, कपिलवस्तु, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम, बर्दिया छन् । यसैगरी, बाजुरा, बझाङ, अछाम र कैलालीमा गरीब पहिचान भएका छन् । २५ जिल्लामध्ये सबैभन्दा बढी बाजुरामा १३ हजार ६ सय १९ घरपरिवार गरिबीको रेखामुनी छन् भने सबैभन्दा कम तनहुँमा नौ हजार दुई सय ७५ परिवार गरीब छन् । यी २५ जिल्लाको कूल गरिबी दर ४०.८ प्रतिशत छ । २५ जिल्लामध्ये सबैभन्दा गरीब जिल्लाको रूपमा बाजुरा छ ।
जहाँ २१ हजार ७ सय ११ घरपरिवारमध्ये १३ हजार ६ सय १९ घरपरिवार गरिबीको रेखामुनि छन् । सबैभन्दा कम गरिब घरपरिवार तनहुँमा छन्, जहाँ ६५ हजार ७३ घरपरिवारमा ९ हजार २ सय ७५ परिवार मात्रै गरिब छन् ।

प्रकाशित मितिः   २२ कार्तिक २०७४, बुधबार १२:१७