किन पिछडियो बराहताल गाउँपालिका ?

भीम भण्डारी ‘खरो’

पृष्ठभूमिः
साविकको क्षेत्र नं. ३ का केही गाविसहरू मिलेर बनेको क्षेत्रीय र जिल्ला सदरमुकामसँग जोडिएको क्षेत्रमा आफ्नो नाउँ दर्ता गर्न सफल एउटा गउँपालिको नाउँ बराहताल हो । सुर्खेतको बाह्र बण्डाल, अठार खण्ड मध्ये एउटा सिंगो खण्ड यसै क्षेत्रमा पर्छ । चुरे क्षेत्र, भेरी नदी, सल्ला र सालघारीले ढाकेको बराहताल गाउँपालिका प्राकृतिक सम्पदामा धनी भएर पनि गरीब हुनुमा यो गाउँपालिका निम्न कुरा आफै बोल्छ ।
राजनीतिः
करिब तीन दशक यताको समयरेखालाई मात्र नियाल्दा लामो समय कांग्रेसले विजय प्राप्त गरेको र पहिलो संविधानसभा निर्वाचनमा माओवादी केन्द्रले एक पटक विजय प्राप्ती गरेको क्षेत्र भए पनि यस क्षेत्रमा एमाले कहिल्यै विजय भएन । तीस वर्षमा पच्चीस वर्ष कांग्रेस र पाँच वर्ष माओवादीले राजकाज चलाएको यो क्षेत्र पछिल्लो समयमा पिछडिएको क्षेत्रका रूपमा यहाँका जनताले पुरस्कारका रूपमा आफूलाई स्थापित गर्नुप¥यो । पंतिकार पनि यसै क्षेत्रको मान्छु हो । जनताको दर्ता जग्गाको अझै सही मूल्यांकन भएको छैन । सबैभन्दा सस्तो मूल्यको मूल्यांकन अर्थात् प्रतिकठ्ठा १५ हजारमा दर्ता जग्गाको मूल्यांकन गरिएको अवस्था छ भने जिल्लाको अन्य क्षेत्रको प्रतिकठ्ठा एक करोड मूल्यांकन छ । राजनीतिले पनि पछाडि परिएको गाउँपालिका बराहताल नै हो ।
भौतिक निर्माण सुधारः
बेनीघाट सडकखण्डको बजेट त्रिपक्षीय मिलोमतोमा झ्वाम पारेको अवस्थादेखि सामुदायिक वनसम्म बाटो खन्ने नीतिका रूपमा यो क्षेत्र मारमा प¥यो । थोत्रा झोलुङ्गे पुलहरू मर्मत नगरेकै अवस्थामा बाढी–पहिलोको सिकार बने । सिमलकै डुंगाबाट नदी वारपार गर्ने अवस्था आयो । जिल्ला सदरमुकामसँग जोडिएर मात्र के गर्नु यो बराहताल गाउँपालिकाको उपनाम दोस्रो हुम्ला हो । फलाटे, तेलपानी र आम्वासा जोड्ने सडकका नाउँमा करोडौं खर्च देखिए पनि सडक बनेन । रानीघाटमा पक्किपुलको अवस्था हिस्स नै छ । आधा घण्टामा जिल्ला सदरमुकाम आउँछ भने दुई घण्टापछि उल्टो दिशातिर गाउँपालिका सदरमुकाम पुगिदैन । भौतिक निर्माण सुधारको अवस्थामा परिवर्तन छैन । जस्तो थियो उस्तै छ यो क्षेत्र । यस गाउँपालिकामा काठ र दाउरा निकासी गर्न एउटै साविक वडामा चार वटासम्म सामुदायिक वन दर्ता गरिएको इतिहास छ । रुख ढाल्ने र वृक्षारोपण नगर्ने नीतिले थप बेथिति मौलायो । नदीको पानी भारत जाने र नदी तटीय जमिन बाँझो राख्ने परम्परा बन्यो । भवन, सडक, पुल, शिक्षा, स्वास्थ्य, सिँचाइ र पर्यटन समेतमा पछाडि पारियो ।
प्राकृतिक सम्पदाहरूः
बराहताल गाउँपालिकासँग जिल्ला सदरमुकामको भूगोल जोडिएको छ । नदी, ताल, हरियाली जंगल, वन्यजन्तु, चुरे क्षेत्र, राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्र अर्थात् जल, जमिन र जंगलको धनी गाउँपालिका भएर पनि यो पछाडि पारिनु र पिछडिएको क्षेत्रमा घोषणा हुनुमा धेरै अनौठा विषय मध्ये एक थप अनौठो विषय हो । बहुमत जनता यहाँ इमान्दार छौं । इमान्दारिताको फाइदा टाँठाबाठाहरूले सित्तैमा लगेका थिए, छन् र लगिरहने छन् । इमान्दार जनताले नेपाल सरकारको भूगोल स्वयम्सेवकका हैसियतमा रक्षा मात्र गर्ने र प्राकृतिक सम्पदाहरूको प्रतिफल केन्द्रीय, क्षेत्रीय र जिल्ला सदरमुकामबासीले सित्तैमा लुटेको अवस्था छ । तेलपानी तरंगा, हुड्के, कुनाथरी र बड्डिचौरसमेतको सालकाठले सुर्खेत सहरका महल बनेका छन् । वन सम्पदा रक्षक वास्तविक जनताका झुपडी मर्मत गर्दा वन मुद्दा लगाउनेहरूका महल काठमाडौंमा बनेका छन् । जुडिबुटी, खनिज पानी, खानी र राष्ट्रिय निकुञ्ज जस्तो सरकारी फूलबारी भएको गाउँपालिकाका जनता भने लायकको छ । प्राकृतिक सम्पदाहरूको कुरुवा जनताको आर्थिक हैसियत राउटे खानदान भन्दा तल्लोस्तरमा छ । यो स्थान दिने अनि पिछडिएको क्षेत्रमा बराहतालको नाम दर्ता गर्ने सरकारलाई पनि यो क्षेत्रका प्राकृतिक सम्पदाका मालिकहरू गरीब बनाउँदा र अझै पछाडि धकेलिरहन त साँच्चै लाज मान्नुपर्ने होइन र ? यस गाउँपालिकाको धरातलीय स्वरूपको अध्यापन छैन कि सरकार ! जैविक विविधताको खानी, बगरमा सुन खोजे र फेला पर्ने भेरी नदी, बराहताल, चुरेश्रृंखलाहरू, जडिबुटीका भण्डार, वन्यजन्तु र वनस्पतिहरूको बण्डाल र नेशनल पार्कको बबाल भएको बराहताल साँच्चै धरतीको स्वर्ग नै हो । धरतीको स्वर्गभित्रका जनताको गरिबी न्यूनीकरण गर्न नदिने र बिचौलियाले खाएको गाउँपालिका बराहताल नै हो ।
आम जनचाहनाः
बराहताल गाउँपालिकाभित्रका प्राकृतिक सम्पदाहरूले स्वदेशी तथा विदेशीको तन र मन आकर्षित गर्न सफल छ । यो क्षेत्रको वास्तविक विकासको ढोका खोल्ने एउटा सडकखण्ड तेलपानी अम्बासा पनि हो । बर्दिया राष्ट्रिय निकुञ्जले वैदेशिक पर्यटकहरू आकर्षण गर्ने तर बराहताल क्षेत्रमा आउन नसक्ने एउटा अवस्थाले पिछडिएको क्षेत्रमा २१ सौं शताब्दीमा पनि पछाडि पार्ने काम अझै रोकिएन । सडकमा बजेट पनि छुट्दैन र सडक पनि रेखांकन पनि नहुने यो अवस्थाको अन्त्य हुनैपर्छ भन्ने आम जनचाहना छ । मध्यवर्ती क्षेत्रका जनताको भू–स्वामित्व माथि नै निकुञ्ज र उसका वन्यजन्तु समेतले धावा बोलेको अवस्था छ । निकुञ्जभन्दा जेठो भू–स्वामित्व सित्तैमा स्थानीय जनताको सुरक्षा गरेर वन्यजन्तुको क्षेति र खतीको सोधभर्ना पाइदैन । जनताको सुरक्षा गरेर वन्यजन्तुको संरक्षण गर्ने कि वन्यजन्तुको चारो मानव बनाइ वन्यजन्तु पाल्ने ? यो आम मध्यवर्ती क्षेत्रका जनताको चासोको विषय हो । स्थानीय जनतालाई पछाडि त पारियो–पारियो तर संरक्षित वन्यजन्तुको चारो बनाउने काम पूर्खौली थातथलोबाटै विस्थापित गर्ने काम रोक सरकार ।
निश्कर्षः
वीरेन्द्रनगर नगर कार्यपालिकासँग सीमाना जोडिएको वनपैदावार र नदीजन्य पदार्थसमेतको भण्डार रहेको र भएको बराहतालका जनता आज बेतालमा भौतारिनुमा धेरै पीडक मध्ये एउटा दोषी राजनीति पनि हो । साविक क्षेत्र नं. ३ को पूर्वी दक्षिणी कुनामा अवस्थिति हुनु यसको दुर्भाग्य थियो । सिंगो पश्चिम डाडाँदराले बेवास्ता गर्ने र अन्य क्षेत्रसमेतले फुटेको आँखाले यस क्षेत्रका पीडा नदेख्ने अनि प्राकृतिक सम्पदाहरूमाथि दोहन मात्र गर्ने परम्परावादी सोचले पछाडि धकेलो ! तीन जना सांसदको नेतृत्वमा जो जे नयाँ परिवर्तन हुनुपर्नेमा नभइ अन्ततः पिछडिएएको क्षेत्रमा रूपान्तरित भयो । यस क्षेत्रका पूर्खाको नासोका रूपमा रहेको वन सम्पदाले कसैकसैका राजधानीमा महल खडा भए । वास्तविक संरक्षक स्थानीय जनताले राउटे जातिकै हैसियतमा जीवन जीउन छ । हाम्रो प्रदेशले पीडक र पीडितको पहिचान अझै गरेन भने प्राकृतिक सम्पदाको थालीमा हामी भीख माग्न बाध्य हुनेछौं । यो भीख विखका रूपमा रूपान्तरित नहोला भन्न सकिन्न । तेलपानी चुरे क्षेत्रलाई पर्यटीय स्थलका रूपमा विकास गर्न सडक मात्र पुग्नुपर्छ । आधा दशक भन्दा पहिलेदेखि अहिलेसम्म केन्द्रीयस्तरको बजेट आउने र तेलपानीसम्म सडक करिब पच्चीस किलोमिटर निर्माण नहुने र नगर्ने पक्षपाती विचार असत्य व्यवहारलाई सत्यवादी यो समयले ननिल्ला भन्न सकिदैन ।

प्रकाशित मितिः   २२ कार्तिक २०७४, बुधबार १२:१६