कता बढ्दैछ मध्यपश्चिम विश्वविद्यालय ?

त्रिभुवन बिसी-
भनिन्छ इच्छा शक्ति भयो भने जस्तोसुकै काम पनि फत्ते गर्न सकिन्छ । नेपालमा धेरै कामहरू इच्छा शक्ति नभएकै कारण फत्ते हुन सकेका छैनन् । यसो हुनुमा विभिन्न कारणहरू हुन सक्छन् । यस्तै मध्येको एउटा कारण अधिकार सम्पन्न व्यक्तिसँग अनुभव वा ज्ञानको कमी भएर हुनसक्छ । यदि त्यसो भयो भने ऊ चुपचाप आफ्नो कार्यकाल पूरा गर्दछ अनि पदबाट अवकाश लिन्छ । ऊबाट न त संस्थाले कुनै परिवर्तनको आशा गर्दछ न त अन्य व्यक्तिले नै । अर्को कारण भनेको अधिकार सम्पन्न व्यक्तिसँग अनुभव वा ज्ञान हुँदाहुँदै पनि नातावादमा अल्झिनु हुनसक्छ । जसका कारण त्यस्तो नेतृत्वले सही निर्णय गरिदिएमा राम्रा भन्दा पनि हाम्रा मान्छेहरू नअटाउने हुन् कि भन्ने डरले सही निर्णयको अभाव देखिन्छ । त्यसैले पनि नेतृत्वले अवसर हेरेर मात्र निर्णय गर्ने परिपाटी चलिआएको तपाईं हामीलाई थाहा छ । तेस्रो कारण भनेको राजनीति हुनसक्छ । राजनीति सबै नीतिको सर्वोच्च नीति हो तर यसको गलत प्रयोगले गर्दा आजभोलि जताततै नकरात्मक प्रभाव परिरहेको छ । यसले न त समय भन्छ, न त इच्छाशक्ति नै । राजनीति कै कारणले नेपालमा २ वर्षमा बन्नुपर्ने समयसीमा तोकिएको संविधान ६ वर्षमा बन्यो । त्यो पनि विभिन्न बाधा अड्चनका साथ ।
अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको गति पनि यस्तै बनिरहेको छ । विश्वविद्यालय कार्यालयमा ताल्चा लाग्नु, विभिन्न नाममा आन्दोलन हुनु नियमित प्रक्रिया जस्तै भएको छ । यो सबैको कारण के हो ? यस्ता गतिविधिले विश्वविद्यालय कता जाँदैछ ? भन्नेबारेमा अनेकौं अड्कलबाजीहरू भइरहेका छन् । 
अड्कलबाजी नं. १ 
विश्वविद्यालयको पूर्व नेतृत्वले समयमा नै मानवीय र भौतिक व्यवस्थापनको उचित व्यवस्थापन गर्न नसक्नु । अड्कलबाजी नं. २
विश्वविद्यालयको वर्तमान नेतृत्वले मानवीय र भौतिक व्यवस्थापनको जोहो गर्न ढिलाइ गर्नु । 
अड्कलबाजी नं. ३
विश्वविद्यालयमा कार्यरत उप–प्राध्यापक र कर्मचारीहरूको स्थायी व्यवस्थापनका लागि सेवा आयोग सक्रिय हुन नसक्नु । 
अड्कलबाजी नं. ४ 
विश्वविद्यालय एउटा प्राज्ञिक थलो भए पनि सुरुआतमा नै खुला प्रतिस्पर्धा हुन नसक्नु ।
यस्ता विभिन्न अड्कलबाजीहरू विश्वविद्यालयका बारेमा भइरहेका छन् । नेतृत्व भनेको अभिभावक हो । अभिभावकले आफ्ना सन्तानका लागि कहिल्यै पनि हितविपरित निर्णय गर्दैन र गर्न पनि हुँदैन । विश्वविद्यालयको सुनौलो भविष्यका लागि विश्वविद्यालयमा कार्यरत सबै कर्मचारी र प्राध्यापकहरूको भविष्यका बारेमा समयमा नै सही निर्णय लिनु नेतृत्वको गहन जिम्मेवारी पनि हो । यदि विगतका नेतृत्वको कमी कमजोरी थियो भने ती कमी कमजोरीहरूलाई सच्याएर अघि बढ्नु वर्तमान नेतृत्वको बुद्धिमानी पनि हो ।
नेपालको सबैभन्दा पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय स्थापना भएको करिब आधा शताब्दीपछि मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वि.सं. २०६७ सालमा ऐन प्राप्त गरे । सोही ऐन अनुसार विश्वविद्यालयहरू अघि बढिरहेको कुरा सबैमा अवगत नै छ । अनेकौ सङ्घर्ष र मेहेनतका साथ स्थापना भएको करिब आधा दशकसम्म पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बेलगामे घोडा झैं बनिरहेको छ । यहाँ कार्यरत कर्मचारी तथा प्राध्यापकहरू अभिभावक बिनाका सन्तान झैं टोलाइरहेका छन् । यसो हुनु आफैमा दुःखदायी हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँगै स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले एउटा स्वरूप निर्धारण गरिसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयका कर्मचारी तथा प्राध्यापकहरूको एउटा टुङ्गो लागिसकेको छ । सुदूरपश्चिम विश्वविद्यालयको जनशक्ति, अर्थशक्ति, प्रविधि र भौतिक वातावरणले एउटा स्वरूप लगिसकेको छ । तर विडम्बना नै भन्नुपर्छ, मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अवस्था भने अझै अन्यौलमा रहेको प्रष्टै देखिन्छ । यहाँका मानवीय जनशक्तिको अर्को कुनै व्यवस्था नहुने समयसम्म प्राध्यापक र कर्मचारीहरू कुहिरोमा हराएका काग झैं हुन बाध्य छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पटक–पटक अवरोध सिर्जना हुनुमा मुख्य दोषी को ? अब दोषी पत्ता लगाउनुपर्ने बेला भएको छ । विश्वविद्यालयले धेरै नेतृत्व पाइसकेको छ । सबै नेतृत्वको योग्यता, क्षमता र सक्षमतामा कुनै शंका गर्ने ठाउँ छैन र गर्नु पनि हुँदैन । तर कसको नेतृत्वमा विश्वविद्यालयमा कस्तो निर्णय भयो भन्ने मूल प्रसंग हो । विश्वविद्यालय निर्माणका लागि अहोरात्र खट्ने कर्मचारी र प्राध्यापकहरू सबै सक्षम र योग्य भएर नै विश्वविद्यालयमा प्रवेश पाएका छन् । सबै कर्मचारी र प्राध्यापकहरू विधि विधान पु¥याएर नै विश्वविद्यालयमा प्रवेश गरेका छन् । यसमा शंका गर्ने ठाउँ छैन । तर विश्वविद्यालय सञ्चालनका लागि योगदान पु¥याउने सबै कर्मचारी र प्राध्यापकहरूलाई उपयुक्त विधिको निर्माण नगरी बेवास्ता गर्दा विश्वविद्यालयमा आज यो अवस्था सिर्जना भएको हुनसक्छ । तसर्थ नेतृत्व वर्गले सबै कुरालाई ध्यान दिएर उपयुक्त निर्णय लिनु आजको अपरिहार्य आवश्यकता हो । श्रमको मूल्य र योगदानको कदर हुनु आवश्यक छ । विश्वविद्यालयमा आवश्यक पर्दा कर्मचारी र प्राध्यापकहरूको व्यवस्थापन गर्ने तर उनीहरूलाई उपयुक्त व्यवस्थापन गर्न नसक्नु विगतको नेतृत्वको कमजोरी हो । वर्तमान नेतृत्वले यो सबैलाई उपयुक्त माध्यमबाट व्यवस्थापन गर्न आवश्यक देखिन्छ । विगतमा जे जसो भए पनि अब मध्यपश्चिमाञ्चल विश्वविद्यालयले कस्तो बाटो अपनाउँछ भन्ने प्रसंग नेतृत्वसँग जोडिएको छ । त्यसैले पनि धेरै चुनौतीहरूलाई उपयुक्त माध्यमबाट व्यवस्थापन गर्नु अहिलेको नेतृत्वका लागि विकल्प हुनसक्छ ।
विश्वविद्यालय स्थापना भएपछि उच्च शिक्षा आफ्नै गाउँ ठाउँमा पाउने कुरा त छँदै थियो । विश्वविद्यालय स्थापना भएपछि यहाँको कच्चा पदार्थका साथै स्थानीय उत्कृष्ट जनशक्तिले पाउने अवसरको सम्भावना पनि त्यत्तिकै मात्रामा थियो । यस्तै उल्लास र उमंगमा स्थानीयबासीहरू हौसिएका थिए । तर विश्वविद्यालयको नेतृत्वको इच्छा शक्ति नभएकै कारण यो अन्यौलता भएको हो कि भन्ने शंका आम मानिसमा उत्पन्न हुन थालेको छ । यो शंकालाई विश्वविद्यालय नेतृत्वले गलत सावित गर्न सक्नुपर्छ । अनि मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट विश्वविद्यालयको रूपमा चिनाउन सक्नुपर्छ । होइन भने नेतृत्वमाथि शंका उब्जन सक्छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विगत केही समय यता राम्रो वातावरण सिर्जना हुँदै गएको थियो । यसले गर्दा विश्वविद्यालयको वातावरणमा सुधारात्मक परिवर्तन भएको सबैले महसुस गर्न थालेका थिए । विश्वविद्यालय र नेतृत्व प्रति सबैका सकारात्मक धारणा बन्न थालेका थिए । तर फेरि विश्वविद्यालयमा विरोधका स्वरहरू उत्पन्न हुन थालेका छन् । विश्वविद्यालयमा एकपछि अर्को विवाद उत्पन्न हुनु आफैमा नराम्रो हो । यसलाई छिटो भन्दा छिटो समाधान गर्नु आवश्यक देखिन्छ । 
विश्वविद्यालयका पदाधिकारी, स्थानीय राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाज, प्राध्यापक, पत्रकार, सरोकारवाला विभिन्न पक्षहरूको विश्वविद्यालयलाई गुणस्तरीय बनाउन एउटै सोच हुनु आवश्यक 
छ । सबैको साझा सम्पत्तिका लागि आ–आफ्नो पदीय जिम्मेवारीबाट माथि उठेर विश्वविद्यालयमा योगदान गर्ने सबै पक्षहरूका लागि उपयुक्त निर्णय गर्न कोही पनि पछि हट्नु 
हुँदैन । अभिभावक भनेका अभिभावक नै हुन् । उनीहरूले आफ्ना सन्ततिको उज्वल भविष्य निर्माणमा लागेका हुन्छन् । उनीहरूको स्थान अब आउने नयाँ नेतृत्वले कहिल्यै लिन सक्दैन । या त त्यो उपकुलपतिको सन्दर्भमा होस्, या त रजिष्ट्रारकै सम्बन्धमा किन नहोस् । या त डीनहरूको सन्दर्भमा होस् या त स्थानीय विभिन्न राजनीतिक दलका नेतृत्व नै किन नहोस् । यसैगरी या त विभिन्न राजनीतिक दलका भातृसङ्गठनको नेतृत्व नै किन नहोस् । उनीहरूको नेतृत्वमा विश्वविद्यालयले कस्तो स्वरूप लिन्छ भन्ने मुख्य विषय हो । त्यसैले पनि नेतृत्वले आफ्नो पदीय जिम्मेवारी भन्दा माथि उठेर विश्वविद्यालयका लागि उपयुक्त निर्णय गरेर विश्वविद्यालयमा देखापरेका समस्याहरूको तत्काल समाधान निकाल्नु आवश्यक देखिन्छ । 
विश्वविद्यालयमा भइरहेको अनावश्यक विवादका कारण मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नकरात्मक सन्देश देशभित्र मात्र नभएर देशबाहिर पनि फैलिरहेको छ । यस्तो नकरात्मक सन्देश फैलनु भनेको विश्वविद्यालयसँग सम्बन्धित विभिन्न व्यक्तिहरूका बारेमा समेत नकरात्मक सन्देश फैलनु हो । विश्वविद्यालयसँग प्रत्यक्ष वा अप्रत्यक्ष ढङ्गबाट जोडिनुभएका तमाम बुद्धिजीवीहरूले समयमा नै यसबारेमा सोचेर दीर्घकालीन निश्कर्ष निकाल्नु आवश्यक छ । एकले अर्कालाई दोषारोपण गर्नुको साटो विश्वविद्यालयको दीर्घकालीन समाधानका लागि उपयुक्त विकल्पमा सबैजना एकमत हुनु बुद्धिजीवीवर्गको विश्वव्यापी मान्यता पनि हो । यही मान्यतालाई आधार बनाएर विश्व–विद्यालयले उचित निकास पाउन सकेको खण्डमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयप्रति गरिएका विभिन्न खाले शंका उपशंकाहरू समयमा नै निमिट्यान्न हुनेछन् । नेतृत्व वर्गको यस्तो निर्णयले विश्वविद्यालयको सकारात्मक सन्देश विश्वभर फैलनमा थप मद्दत पुग्ने थियो कि ?
(लेखक मप विश्वविद्यालयका उप–प्राध्यापक हुन् ।)
प्रकाशित मितिः   २६ चैत्र २०७२, शुक्रबार ०४:५२