सम्झनामा ऋषिप्रसाद शर्मा : मृत्युपछि पनि जनताकै माझमा

लक्षमी शर्मा-
मानिस दल, बल र छलले महान् बन्न सक्दैन । बरु महान् विचार सोच र चिन्तनले उसलाई महान् बनाउँदछ । बाँच्दासम्म चिन्न नसकिएका त्यस्ता एक महान विचारक थिए, सहिद ऋषिप्रसाद शर्मा । राष्ट्र, जनता र सर्वहारा वर्गको निम्ति सधैं चिन्तन गरिरहने सुर्खेती कम्युनिष्ट आन्दोलनका अगुवा सहिद ऋषिप्रसाद शर्माको गोली हानी हत्या भएको आठ वर्ष पुगेको छ । उनी सधैं जनताको हित सोच्थे । देशको विकासका बारेमा चिन्तन गर्थे । ‘जनताले कसरी मुक्ति पाउलान् ? नयाँ नेपालको निर्माण कसरी होला ? शोषित पीडित जनता र सर्वहारा वर्गले कसरी मुक्ति पाउन सक्छन् ?’ भन्ने जस्ता अनेकौं कुराहरूको सोच, विचार गरिरहने सुर्खेती जनताका अगुवा, कुसल सङ्गठक, वैचारिक व्यक्तित्व, राजनीतिक विश्लेषक, माक्र्सवादका प्रखर वक्ताको २०६४ चैत २६ गते साँझ साविकको मैनतडा गाविसको लोदे भन्ने ठाउँमा गोली हानी हत्या गरिएको थियो ।
त्यस घटनाले सुर्खेती जनतालाई अहिलेसम्म स्तब्ध गराएको छ । सहिद ऋषि शर्माले त्यस्तोबेला राजनीति गर्न थाले, जतिबेला देश निरंकुश व्यवस्थाले गाँजिएको थियो । निरंकुशताकोविरुद्ध लड्दालड्दै ऋषि जेल परे । जेल जीवन बिताउँदै आएका उनी जेलबाट रिहा भएपछि आफ्नो राजनीतिक यात्रालाई निरन्तरता दिँदै २०४६ सालको जनआन्दोलनमा महŒवपूर्ण भूमिका खेलेका थिए । विद्यार्थी जीवनदेखि राजनीति थालेका शर्माले अध्ययन र राजनीतिलाई सँगसँगै अघि बढाए । मुलुकमा जनआन्दोलन सफल भएपछि २०४८ सालको आम निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारको पक्षमा मत माग्ने र पार्टीको धारणा गाउँ–गाउँसम्म पु¥याउने काम गरेका थिए । २०४९ सालको स्थानीय निकायको निर्वाचनमा घोरेटा गाविसको अध्यक्ष पदमा निर्वाचित भए । त्यसैगरी जिविसको निर्वाचनमा सभापति पदमा पराजय भएपछि पनि पार्टीको कामलाई निरन्तरता दिँदै आएका थिए । २०५१ सालको मध्यावधि निवार्चनमा सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को सांसदको उम्मेदवार भएका थिए । निर्वाचनमा पराजित भएता पनि उनी विचलित भएनन् र पार्टीको कामलाई निरन्तरता दिँदै आएका थिए ।
-स्व.ऋषिप्रसाद शर्मा-
वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा सुर्खेत जिल्लामा आफ्ना पार्टीका उम्मेदवारहरूको पक्षमा जनमत सङ्कलन गराउने र विजयी गराउन उनले महŒवपूर्ण भूमिका खेले र परिणाम राम्रो आएको थियो । सहिद ऋषि शर्मा २०५४ सालमा नेकपा एमालेको जिल्ला कमिटीको पार्टी सचिवको जिम्मेवारी रहेर काम गरेका थिए । त्यसैबेला नेकपा एमाले विभाजन भएको थियो र नेकपा माले नामको पार्टी दर्ता भएको थियो । पार्टी विभाजनपछि मुलुकभरी माले र एमाले नामका दुई पार्टी थिए । त्यसमा सुर्खेत जिल्ला नेकपा एमालेको कार्यकर्ता संरक्षक गर्दै आएका थिए । त्यसपछि जिविस निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई सभापति, उपसभापति र अधिकांश क्षेत्रीय सदस्यहरूलाई विजयी गराउन सफल भएका थिए, सहिद ऋषि शर्मा । यसैगरी २०५६ सालको संसदीय निर्वाचनमा सुर्खेत जिल्लाको निवार्चन क्षेत्र नम्बर १ को सांसदको उम्मेदवार भएर निर्वाचन लड्दा झिनो मतले पराजित हुन पुगे । २०५४ सालको पार्टी विभाजनको असर र २०५२ सालदेखि तत्कालीन नेकपा माओवादीको सशस्त्रद्वन्द्वको बेलामा जिल्लाको पार्टीको कामलाई अनवरत रूपमा जनताको सामुमा रहेर काम गरिनै रहे । फेरि २०५८ साल चैत ७ गते नेकपा (माले) र एमाले एकीकरण भएको थियो । २०६० सालको जेठ ५–६ गते सम्पन्न चौथो जिल्ला अधिवेशनबाट पुनः शर्मा सुर्खेत जिल्लाको पार्टी सचिव पदमा सर्वसम्मत् चयन भएका थिए । 
२०५४ सालबाट जिल्लाको पार्टी सचिवको जिम्मेवारी सम्हालेका सहिद ऋषि शर्माले २०५४ सालको पार्टी विभाजनको असहज परिस्थिति र २०५२ सालदेखि तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्रद्वन्द्वको समयमा राज्यपक्ष र नेकपा माओवादीबाट भएको असहज परिस्थितिमा नेकपा एमालेको प्रमुख भएर जिल्लामा जिम्मेवारीपूर्ण भूमिका खेलेका थिए । कतिबेला माओवादीबाट सुर्खेत जिल्लामा कहाँ के घटना हुने हो र राज्यपक्षबाट के कस्तो प्रतिकार हुने हो ? जस्ता आशंका र त्रासका बीच पनि उनले भविष्यको विश्लेषण गरी कार्यकर्ताहरूलाई प्रशिक्षित गरिनै रहे । प्रशासनसँंग पनि जनताका बारेमा सकारात्मक बहस गर्ने र विद्रोही पक्षसँग पनि सुर्खेत जिल्लामा अप्रिय घटना हुनु हुँदैन भन्ने कुरामा सचेत थिए । ऋषि शर्माले राजनीतिक विश्लेषणका आधारमा निर्णय लिने हुनाले सङ्कटकालमा पनि अन्य जिल्लाको तुलनामा सुर्खेतमा तत्कालीन विद्रोही नेकपा माओवादी र राज्य पक्षबाट छिटफुट घटना बाहेक अन्य ठूला घटना हुन पाएनन् भन्न सकिन्छ ।
त्यसैगरी पूर्व राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको समयमा पनि मुलुकको परिस्थिति असहज थियो । त्यसबेला एकातिर जनतामाथि प्रत्यक्ष निरंकुश शासन र अर्काेतर्फ सशस्त्रद्वन्द्व चलाएको तत्कालीन भूमिगत पार्टी नेकपा माओवादी लडाईंको मोर्चामा रहेको बेलामा अरु नेताहरू मुलुकको सुरक्षित ठाउँमा परिवारसहित बसिरहेका थिए, तर ऋषि सुर्खेत जिल्लाको पूर्व, पश्चिम, उत्तर र दक्षिण जनताकै माझमा पार्टीको कामलाई अगाडि बढाइरहेका 
थिए । त्यसैबखत तत्कालीन नेकपा माओवादी र सात दलकातर्फबाट बाह्र बुँदे सम्झौता भएको थियो । पूर्व राजाको निरंकुशताविरुद्ध जनआन्दोलन गर्ने निर्णय अनुसार २०६२÷०६३ को १९ दिने ऐतिहासिक जनआन्दोलन सुर्खेत जिल्लाका राजनीतिज्ञहरूलाई साथमा लिएर जनताको अगुवाइ गरेका थिए सहिद ऋषि शर्माले । 
वास्तवमा ऋषि शर्माले निरंकुश पञ्चायती शासन, २०५२ सालदेखिको १० वर्षे सशस्त्रद्वन्द्व, पार्टी विभाजनको असहज परिस्थिति, पूर्वराजा ज्ञानेन्द्रको प्रत्यक्ष जनतामाथि गरेको निरंकुश शासन र त्यसको विरुद्धमा भएको १९ दिने ऐतिहासिक जनआन्दोलन लगायतका प्रतिकुल स्थितिलाई नेकपा एमालेको कुनै न कुनै पदीय जिम्मेवारी सम्हालेको बेला उनले पार गरेका क्षणहरू हुन् । अनुकुल अवस्था भएको बेलामा जनताको लामो सङ्घर्ष, योगदान र बलिदानपछि हुन लागेको संविधानसभाको निर्वाचनको क्रममा उनको निर्मम हत्या गरियो । त्यो हत्या अहिले पनि रहस्यमय नै छ । सहिद शर्माले जनताको इच्छा, चाहना र कुनै पनि पार्टीका नेता तथा कार्यकर्ताप्रति विना पूर्वाग्रह सबैलाई एकै दृष्टिकोणबाट प्रस्तुत हुने सुर्खेती जनताका एक अगुवाको हत्याले सुर्खेत जिल्लामा मात्र होइन नेपालको कम्युनिष्ट आन्दोलनलाई नै ठूलो क्षति भएको छ । विश्व परिवेशलाई बुझेर विश्लेषण गर्नसक्ने, माक्र्सवाद, लेलिनवाद र जनताको बहुदलीय जनवादका व्याख्याताको हत्याले सुर्खेत जिल्ला, मध्यपश्चिम तथा सिङ्गो मुलुकमा समेत वैचारिक खडेरी परेको छ । किन विश्वमा राजनेताहरूको हत्या हुन्छ ? हत्यारालाई कारबाही किन हुँदैन ? यो प्रश्नले मलाई घच्घच्याइ रहन्छ ।
नेपालको इतिहासमा धेरै सपुतहरू गुमाउनु परेको छ । हत्याराहरूको खोजी गरिँदैन । खोजीखोजी कम्युनिष्टहरूको हत्या हुन्छ । विश्व कम्युनिष्ट आन्दोलन ओरालो लागेको वा धक्का खाइरहेको अवस्थामा जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिपादन गर्न सफल भएका थिए र विश्व कम्युनिष्ट आन्दोलनले धक्का खाएको अवस्थामा नेपालबाट कम्युनिष्ट पार्टीमा नयाँ पालुवा पलाएको छ भन्ने विश्व कम्युनिष्ट पार्टीलाई थियो । त्यस्तो अवस्थामा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र पार्टी सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते हत्या हुनुले राजनेताहरू बाँच्न नपाउने र हत्यारा गर्भमा रहनुले नेपाली जनताले न्याय पाएका छैनन् । देशको प्रतिकुलता छिचोल्दै अनुकुलतामा पुग्दा सहिद बन्नुपर्ने, देश र जनताको काम गर्ने बेलामा सहिदको नाममा स्मृति दिवस गर्नुपर्ने, राजनीतिक नेतृत्वको हत्या हुँदा मौन बस्ने राज्यले सर्वसाधारण नागरिकको सुरक्षा कसरी गर्न सक्ला ? यसको उत्तर कसले दिने ? 
सहिद ऋषिप्रसाद शर्माको सम्झना गरिरहँदा उनले देखाएको बाटो हामीले भुल्नु हुँदैन । उनले देखाएको बाटोमा सबै नेकपा एमालेका नेता, कार्यकर्ता हिँड्नु पर्दछ । त्यसपछि मात्र सहिदका सपना पूरा हुनेछन् । आफ्नो व्यक्तिगत काम त जसले पनि गर्न सक्दछ, जनताको दुःखमा साथ दिएर उनीहरूको जीवनस्तर माथि उठाउन ज्यानको प्रवाह समेत नगरी काम गर्नेहरूले मात्र जनताको नेतृत्व गर्नसक्छ । सधैं यस्तै भनिरहने सहिद ऋषि शर्मा साँच्चिकै जीवित हुँदा पनि जनताको बीचमै थिए । आखिर हत्या भएपछि पनि उनी आज जनताको मन मस्तिष्कमा नै छन् । सहिद शर्माको आठौं स्मृति दिनको यो घडीमा ऋषिलाई सम्झिएर मात्र पुग्दैन, उनले देखाएको बाटो पछ्याउँदै जनताको सेवामा लागेमात्र उनीप्रति वास्तविक श्रद्धाञ्जली 
हुनेछ । स्वर्गीय नेता ऋषिप्रति श्रद्धासुमन । (लेखक शर्मा ऋषि स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुन् ।)
प्रकाशित मितिः   २६ चैत्र २०७२, शुक्रबार ०४:३८