नजन्मिदैं बिहेको टुङ्गो

बसन्तीका बुबा र भरत मल्लका बुबा असाध्यै मिल्ने साथी थिए । कतिसम्म भने उनीहरूले गर्भमा हुर्किदै गरेका आफ्ना सन्तानको बिहेको कुरा सन्तान नजन्मिदैं गरिदिएका थिए । जतिबेला बसन्ती र भरतको विवाहको टुङ्गो लागेको थियो त्यतिबेला उनीहरू आ–आफ्नो आमाको कोखमा नै थिए । उनीहरू दुवैका बुबाहरूले जसको छोरी जन्मन्छ उनले छोरी दिने भन्ने वाचा गरेका थिए ।


समय बितेसँगै बसन्ती र भरतको जन्म यो । उनीहरू हुर्किदै गए । जब उनीहरू जान्ने बुझ्ने भए तबदेखि नै उनीहरूका कानमा आफ्नो बिहेको कुरा छिनिसकेको छ भन्ने प¥यो । बसन्ती र भरतलाई एकअर्काेको बिहे हुने भन्दै साथीहरू र आफन्तले जिस्काउने गर्थे । त्यस समयमा बुबाआमाले छोरा छोरीको बिहेको कुरा छिनिसकेपछि फेरि अनेत्र केटाकेटी हेर्ने चलन थिएन । बसन्ती र भरतलाई पनि आफ्नो बिहेको कुरा छिनिसकेको छ भन्ने लागेर बाहिर कसैसँग नजर लगाएनन् । ६ दाजुभाई र चार बहिनी मध्येकी माइली छोरी थिइन् बसन्ती ।
भरत भने उनका बुबाआमाले बिहे गरेको १२ वर्षपछिका पहिलो सन्तान थिए । धरै समयपछि जन्मिएका भरत सबैको प्यारो थिए । ६ भाई छोराहरू मात्रका उनी जेठो सन्तान थिए । छोरीहरूको आशमा धेरै छोरा जन्माएका उनका बुबाआमालाई बुहारीलाई ल्याएपछि छोरीको झल्को मेटिन्छ भन्दै बसन्ती ११ वर्षको हुँदा माग्न गए । त्यतिबेला बसन्ती कक्षा पाँचमा पढ्दै थिइन् । तर उनका दाईहरूले बहिनी सानै भएकाले र पढ्दै गरेको हुनाले अहिले बिहे नगरिदिने निर्णय गरे । बिहेपछि गर्ने भने पनि उनीहरूको बिहेको दहीठेगी भने त्यतिबेला नै लगाइसकेका थिए ।
बसन्ती १५ वर्षको थिइन् । कक्षा नौ मा पढ्दै थिइन् । दुवै घरपरिवारको सहमतिमा उनीहरूको २०४१ सालमा मागी विवाह भयो । विवाह भन्दा अगाडि बसन्ती र भरतको भेट भएको भने थिएन । बुबाहरूकै रोजाइमा बिहे गरेका उनीहरूको पहिलो देखाभेट बिहे भएको तेस्रो दिन भएको थियो । बिहे गरेर दुलन फकाएर घर फर्किदै गर्दा बसन्तीले पहिलो पटक भरतको अनुहारमा हेरेकी थिइन् । उनीहरूको बोलचाल भने बिहे गरेको १२ दिनपछि मात्र भएको थियो । सुरुवातमा बसन्ती र भरत एकअर्काेसँग बोल्न लाज मान्थे । भरतले सोधेको कुराको जवाफ मात्र फकाउर्थिन् बसन्तीले ।
विवाहपछि बसन्तीलाई घरमा छोरी र बुहारी हुनुको फरक अनुभव गर्न पाइनन् । छोरीहरू नभएको घरमा जेठी बुहारी भएकी बसन्तीलाई माइतीको जस्तै माया ममता मिल्यो । तर माइतीमा गर्न नपरेको काम बिहेपछि घरमा भने उनले गर्नुप¥यो । उनी माइतीमा सबैको माया ममतामा हुर्किएकी केही काम गर्नु पर्दैनथ्यो । बिहेपछि घरमा बिहानै उठेर सबै काम गर्नुपथ्र्याे । उनलाई भात पकाउन समेत आउँदैनथ्यो । विस्तारै सबै काम उनलाई उनकी सासुले सिकाइन् । बिहे अघि नजानेका काम उनले बिहेपछि गर्न सिकिन् ।
पिता दानबहादुर हमाल र माता धर्मशीला हमालको कोखबाट २०२६ सालमा दैलेखमा जन्मिएकी बसन्ती मल्लको बाल्यकाल रमाइलोसँग बित्यो । सबैको माया ममतामा हुर्किएकी बसन्ती बाल्यकालमा धेरै नबोल्ने सोझो स्वभावकी थिइन् । कक्षा सातसम्म दैलेखकै स्कुलमा पढेकी बसन्तीले कक्षा ८ भने जनमाविमा पढिन् ।
बिहेपछि माइतीघर छोड्नु पर्दाको पीडा त सबै छोरीहरूलाई हुन्छ । बसन्तीलाई पनि सुरु–सुरुमा त माइतीघरको याद आउँथ्यो । पछि सबैसँग नजिक भएपछि उनलाई माइतीमा पाउने माया घरमा नै पाइन् । उनलाई कहिले पनि बुहारी हुनुको महसुस भएन । उनको बिहे गरेको १५ वर्षपछि उनको देवरको बिहे भएका कारण पनि बुहारी भएर पनि छोरीको माया पाइन् ।
पिता टेकबहादुर मल्ल र माता सीतादेवी मल्लको कोखबाट २०२० सालमा दैलेखमा जन्मिएका भरत मल्लको बाल्यकाल रमाइलो र खुशीसाथ बित्यो । उनका बुबाआमाको बिहे गरेको १२ वर्षपछि पहिलो सन्तानको रूपमा भरत जन्मिएकाले सबैको माया ममता धेरै नै पाए । बाल्यकालमा उनी धेरै नबोल्ने र सोझो स्वभावका थिए । उनले दैलेखको त्रिभुवन माविबाट एसएलसी पास गरे । कक्षा १२ सम्म बहुमुखी क्यापसमा पढेका भरत बीचमा धेरै समय बिरामी भएर पढाइ छोडे ।
पढाइ छोडेर उनी व्यापारतिर लागे । सुरुमा पसल र मिल सञ्चालन गरेका थिए । बसन्ती भने अहिले स्वयम्सेविका भएको १८ वर्ष भइसक्यो । यो दम्पत्तिको अहिले दुई छोरी छन् । दुई छोरीमा नै खुशी रहेका यो दम्पत्ति छोरी भएर पनि सन्तुष्टी र सुखी रहने जोडी भन्दै सम्मान पनि पाइसकेका छन् । उनीहरू भन्छन्, ‘हामीलाई छोरीहरू मात्र हुनुमा गर्व छ हाम्रो खुशी नै छोरीहरू नै हुन् ।’
यो दम्पत्तिका अनुसार एकअर्कोमा समझदारी र विश्वास भएका दाम्पत्य सम्बन्धलाई दिगो बनाउन सकिन्छ । जब एकअर्कोबीचमा शंका र उपशंकाहरू उत्पन्न हुन्छन् तब सम्बन्ध पनि टुक्रिन्छ । उनीहरू भन्छन्, ‘हाम्रो पहिलेको जमाना बाबुआमाले रोजेको केटा–केटीसँग जीवन कटाथ्यौं, एकअर्कोलाई नबुझेरै जीवन बित्थ्यो अहिले त बिहेअघि नै धेरै एकअर्कोलाई बुझेर बिहे भन्दा अगाडि नै सम्बन्ध टुट्छन् ।’ पहिलेको जमानाको जस्तो समझदारी र विश्वास अहिलेको यो युगमा छैन ।
त्यसैले कसैसँग सम्बन्ध गाँस्नु अघि धेरै सोच्नुपर्छ । यो जोडी मौका मिलेसम्म घुम्न जाने पनि गर्छन् । यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेर गर्छन् । भरतलाई बसन्तीको धैर्यता गर्नसक्ने बानी मनपर्ने गर्छ । आफूलाई तनाव भएको समयमा सम्झाउन सक्ने बसन्तीको खुबी भरतलाई मनपर्ने गर्छ । भरतलाई बसन्तीको कहिले काहीं अलि बढी झनक्क रिसाउने बानी भने हटाइ दिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । त्यस्तै बसन्तीलाई पनि भरतको सहनशील बानी मनपर्ने गर्छ । बसन्तीले भरतको अहिलेसम्म नराम्रो बानी भने भेटाएकी छैनन् ।

प्रकाशित मितिः   १८ कार्तिक २०७४, शनिबार १५:३८