प्रदेश ६ मा करिब तीन सय मतदानस्थल अति संवेदनशील

डिलप्रसाद शर्मा
सुर्खेत, १७ कार्तिक ।
प्रदेश नम्बर ६ मा रहेका करिब तीन सय वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदशनशील रहेका छन् । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षा रणनीति तयार पार्दै सुरक्षा संयन्त्रले अति संवेदशनशील मानिएका मतदान स्थलको सुरक्षामा विशेष योजनासमेत बनाएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले मतदाताले निर्धक्क भोट खसाल्न पाउने गरी सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।


यो प्रदेशका १० जिल्लामा जम्मा आठ सय ९६ वटा मतदान स्थल तोकिएका छन् । ती मध्ये भौगोलिक विकटता, सुरक्षा संयन्त्रको पहँच कमजोर, दलहरूबीच झडप हुनसक्ने र विप्लव नेतृत्वको पार्टीको प्रभाव रहेको स्थानमा रहेका मतदान स्थललाई अति संवेदनशील मानिएको छ । सुरक्षा संयन्त्रका अनुसार अति संवेदनशील रहेका मतदान स्थलको संख्या यो प्रदेशमा दुई सय ८८ वटा छन् । यस्तै तीन सय १६ वटा मतदान स्थललाई सामान्य सुरक्षा चुनौती रहेको भन्दै सोही अनुसारको सुरक्षा शतर्कता अपनाइएको छ । यद्यपि प्रशासनले मतदाताले ढुक्क भएर मतदान गर्न पाउने दाबी गरेको हो ।
प्रदेशका १० जिल्लामध्ये सल्यानलाई सबैभन्दा बढी संवेदनशील मतदानस्थल रहेको जिल्लाका रूपमा हेरिएको छ । सल्यानका ७० वटा मतदान स्थलहरू सुरक्षाको पहुँचको आधारमा अति संवेशनशील छन् । यस्तै कालिकोट दोस्रोमा परेको छ । क्षेत्रीय प्रशासन कार्यालयको तथ्यांक अनुसार एक सय ११ मतदानस्थल रहेको सल्यानमा ७० वटा अति संवेदनशील र ३६ वटा संवेदनशील । यस्तै कालिकोटमा ६८ वटा मतदान स्थलहरू अति संवेदनशील र २९ वटा स्थलहरू संवेदनशील छन् । पश्चिम रुकुममा नौ वटा स्थल अति संवेदनशील र ५७ वटा संवेदनशील रहेका छन् । यसैगरी जुम्लामा ४१ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको छ । कालिकोट र जुम्लामा विप्लव नेतृत्वको पार्टीलाई मुख्य सुरक्षा चुनौतीको रूपमा हेरिएको छ ।
भौगोलिक रूपमा विकट भएका कारण डोल्पाका २१ वटा मतदान स्थल संवेदनशील र ३० वटा स्थल अति संवेदनशील छन् । यस्तै मुगुमा १८ स्थलहरू अति संवेदनशील छन् भने १८ वटा संवेदनशील छन् । १६ मतदान स्थल संवेदनशील मानिएका हुम्लामा १५ वटा स्थलहरू अति संवेदनशील छन् । जाजरकोटमा अति संवेदनशील १२ र संवेदनशील स्थल २८ वटा रहेका छन् । दैलेखमा भने पाँच वटा मतदानस्थललाई अति संवेदनशील मानिएको छ । पहिलो र दोस्रो चरणमा गरी निर्वाचन हुने १० जिल्लामध्ये दैलेख जिल्ला अन्य जिल्लाको तुलनामा कम संवेदनशील मानिएको छ । सुर्खेतमा पनि २० वटा मतदानस्थल अति संवेदनशील मानिएको छ । यस्तै यहाँका ८५ वटा स्थललाई सामान्य रूपमा सुरक्षा संवेदनशीलताको रूपमा लिइएको छ ।
अधिकांश मतदान स्थलहरू संवेशनशील भए पनि सुरक्षाको व्यवस्थापन मिलाइएको मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालयले जनाएको छ । यो प्रदेशमा निर्वाचनका लागि झण्डै १० हजार सुरक्षाकर्मी परिचालन गरिनेछ । आठ सय ९६ मतदान स्थलमा करिब चार हजार म्यादी प्रहरी, चार हजार नेपाल प्रहरी र एक हजार पाँच सय सशस्त्र प्रहरी परिचालन गरिनेछ । निर्वाचन सुरक्षाका लागि सरकारले सेना पनि परिचालन गर्नसक्ने प्रशासनको भनाइ छ । केन्द्रीय सुरक्षा रणनीति अनुसार क्षेत्र र जिल्लामा कडा र भरपर्दो सुरक्षा व्यवस्था बनाइएको क्षेत्रीय प्रशासक महेन्द्र गुरागाईंले बताए । प्रदेशका ७ वटा जिल्लामा पहिलो चरण अन्तर्गत मंसिर १० गते र सुर्खेत, दैलेख र सल्यानमा मंसिर २१ गते निर्वाचन तोकिएको छ । मतदाताले ढुक्क भएर मतदान गर्न पाउने क्षेत्रीय प्रशासक गुरागाईंले बताए । चुनौती अनुसारको सुरक्षा रणनीति अपनाइएको भन्दै उनले त्रसित हुनुपर्ने अवस्था भने नरहेको उल्लेख गरे ।

प्रकाशित मितिः   १८ कार्तिक २०७४, शनिबार १५:४१