खासा पुग्ने लालसा
मन लगातार समाजवादी चिनको सोशासित क्षेत्र तिब्बत सीमानाको खासा बजार पुग्न अतालिएको थियो । कुनै बेला नेपालीहरू तिब्बतको ल्हासामा कमाउन जान्थे । महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यही कर्मलाई मुना मदन खण्डकाव्य सिर्जनामा उतारे । यो क्रम बढेर नेपाली मुना मदनहरू विश्वभर कमाउन भौंतारिरहेका छन् । हिजो मदन मात्र परदेश कमाउन जान्थ्यो भने आज मुनाहरू पनि फ्री भीसामा विदेश कमाउन जान्छिन् ।
मृत लास घर आउने क्रममा पुगेको छ । खण्डकाव्यबाट महाकाव्य मुना मदन लेख्ने देवकोटाहरूको आवश्यकता हुन थालेको छ । हामीसँगै स्वतन्त्र भएको चीन आत्मनिर्भर हुन भौतिक विकास हुन थालेपछि उत्पादित सामान नेपाल पठाउने नाका खासा भएको छ । एक पटक त्यो भूमि पुगेर कुल्चने लामो समयदेखिको मनोकांक्षा पूरा गराउने प्रवल इच्छा भएकोले ५ बजे बिहान बसपार्क पुगी काठमाडौं जाने बसमा बसी चौतारा बजारलाई हात हल्लाउँदै ओरालो लागेर ६ बजे बन्देउ पुगें । त्यो बस त्यही छोडेर ७ बजे काठमाडौंदेखि बारबीसे जाने बस आएपछि म बसमा चढें । बस भरिभराउ थियो, सीट थिएन । उभिएर नै भए पनि जान तयार भएँ । शनिवार प्रायः काठमाडौंदेखि खासा जान विभिन्न उद्देश्य लिएहरू बस, ट्याक्सी रिजर्ब गरेर यात्रीहरू जाने भएकाले बढी नै यातायातको चाँप हुँदो रहेछ ।
मेरो मनमा जुन समयमा भौतिक साधनका कुनै यातायात थिएन । प्रकृतिक विपत्तीदेखि मानवीय हमला हुनसक्ने समयमा चिनियाँ यात्री हुवाङ साङले दक्षिण एसियाको कठिन यात्रा कसरी गरे होलान् र आज जस्तो विद्युतीय छापाखाना नभएको समयमा यात्रा वर्णन लिपीबद्ध कसरी गरे होलान् ? त्यस्तै विश्व यात्रामा हिँडेका भारतीय साहित्यकार राहुल सांस्कृत्यान चीन यात्रा गरेर त्यहींबाट बौद्ध ग्रन्थहरू खच्चडहरूमा बोकाएर यही बाटो हुँदै भारत गएका थिए रे । त्यही समयमा काठमाडौं बसेर राणा शासक र नेवार व्यापारीहरूको उल्लेख आफ्नो नियात्रामा गर्न पुगेका छन् । अहिले त यातायातका साधन चलेकोले बस्ने सीट नभए पनि उभिए पनि हिँड्नु परेको छ भनि मन बुझाउँछु ।
यात्रा यस्तै त कठिन हुन्छ तातोपानीमा नुहाएर शरीर दुख्ने कहीं निको होला कि भन्ने उत्साह उत्तिकै बढेको छ । कोशी नदीको तिरैतिर बस हुइँकिदा म कुनै स्वर्गको डीलमा उडेको जस्तो फुरुंग भएको थिएँ । भोटेकोशी सुन कोशी बलेसीमा मिसिए । सुनकोशी पुल नाघेपछि बस भोटेकोशीको तिरतिरै हुइकिन थाल्यो । साढे नौ बजे खाडीचौर पुगीयो । यहीबाट पुल पारगरेर दोलाखा निरी जाने सडक उकालो लागि छुट्टियो । यही खाडी चौरको पुलमाथीबाट बन्जीबाट भोटे कोशीमा हाम फाल्ने एक पुरुष खसेको दृश्यले मनलाई थप आनन्दित तुल्यायो । बसका यात्रुहरू भनिरहेका थिए अब काठमाडौं खाएको फोहर पानी दिशापिसाब गरेर फाली, गंगाको सफा पानी प्रयोग गर्नुपर्छ । मलाई पनि लाग्छ आजका शहर बजार भन्नु मात्र हो, सुविधा लिन मानिसहरू जान्छन् सहरभित्र निसास्सिएर स्वच्छ वातावरण घुम्न यात्रामा आउँछन् । बहुदलीय प्रजातन्त्र पुनस्र्थापन र माओवादीको द्वन्द्वकालमा मानिसहरूको बस्ती सर्न ओहिरो नै लाग्यो काठमाडौं उपत्यकामा । व्यवस्थापन नहुँदा अनेकौ विकृतिले मडारिन्छ काठमाडौं । केही बेरपछि लामोसाघु जलविद्युत आयोजना आयो । कोशीमा निर्माण भएका साना ठूला जलविद्युत योजना जस्तै नेपालका साना ठूला नदीहरूमा निर्माण गर्नसक्ने हो भने सायद आज सौर्य ऊर्जाको बजार नेपालबाट अन्त्य हुने थियो । नेपालीले आफ्नै पानीमा उत्पादित बिजुली लोडसेडिङ्ग विना बाल्न पाउने थिए । साथै हाम्रो उत्पादित बिजुली विदेशमा बेचेर ठूलो आम्दानीको श्रोत राष्ट्रले पाउने थियो । बिजुली उत्पादन नगर्ने अरुको साझेदारीमा पनि नबनाउने अन्ध राष्ट्रवादनै बाधक हो कि लाग्न थालेको छ ।
१० बजे बारबीसे बजार पुगीयो । बजार भोटेकोशी वारिपारि लतमन्न सुतेको छ । म भने बस खोज्न थालें, तातापानी जाने । बस त थिए खाली । अब खाना खाएर मात्रा टिकट लिउँला भनि होटलमा पसें । भोटेकोशीको मिठो माछासँग दालभात तरकारी खाएँ । खाएर बस खोज्न गएको त सीट भरिएर एउटा पनि खाली छैन । मेरो बुद्धि पहिले नै टिकट किन नलिएको होला भनेर एकछिन खिन्न भएँ । पछुताएर जीवनमा केही हुन्न बरु उपाय खोज्नु नै महानता हुन्छ भन्ने पुर्खाको भनाइलाई सम्झेर अब एक घरण्टा कुरेर अर्को बसमा जानुभन्दा यही बसमा उभिएर पनि जान्छु भनि चढें । काठमाडौंमा एघार कक्षा पढ्ने प्रकाश तामाङसँग चिनजान गरे । उनले बुढो मानिस बस्नुहोस् बुबा भनि अलिकति सीटमा ठाउँ दिए । काठमाडौंमा उनी र बहिनी पढ्दा रहेछन् । बाबु भारतको कुल्लु मनाली भन्ने ठाउतिर ड्राइभर काम गरेर पैसा पठाउँदा रहेछन् । आमा र सानो भाइ तातापानीको माथी उच्च पहाडमा भेडाबाख्रा पालेर बस्छन् भने । मलाई भने तिब्बत सीमानामा बस्ने हामी नेपालीले पनि भारतमा नै कमाएर नै गुजरा गर्नुपर्ने किन भारतीयहरूले नहेपुन् त, आत्मा निर्भर भएर कतै पनि उभिएको हाम्रो स्थान छैन । अन्तर आत्माग्लानीले मन कटक्क दुख्छ । त्यही नजिक बसेका यही जिल्लाबासी ध्रुव लामासँग पनि चिनजान गरें । उनी २०५४ सालको स्थानीय निर्वाचनमा राप्रपाबाट वाडा सदस्यमा विजयी भएका रहेछन् । म उनी राजनीतिमा लागेकोले अलि खुलेर कुरा हुन थाले ।
हाम्रो बस भोटेकोशीको तिरतिर अगाडि बढिरहेको छ । गाउँवस्तीहरू माथीमाथी अग्ला पहाडका चट्टानहरूमा कहिकतै झल्याक झुलुक देखिन्छन् । सडकको छेउछाउसम्म परेको जमिनमा सानो बजार एकतले रिसोटहरू पनि देखिरहेको थिए । एक घण्टापछि चाकु बजार पुग्यौं । लामा भाइ भन्छन् यो क्षेत्र सिन्धुपलान्चोकको एक नम्बरमा पर्छ ३० गाविस छन्, याहाँ प्रायः तमाङ बस्तीको बाहुल्य रहेको छ । मानिसहरूका अनेकौं आवश्यकता बढ्दा पनि अहिलेसम्म गुजारा मुखी खेतीपाती उच्च पहाड हुदाँ मानिसको जीवन कठिन छ । मानिसहरू प्रायः मदिरा पिउँछन्, थोरातिनो खेतीबाट उत्पादित अन्न पनि त्यहिमा उडाउँछन् । शिक्षा स्वास्थ्यको अभावै अभाव छ । मैले पनि साथमा ससुरालाई तातोपानी नुहाएर शरीर दुख्ने निको हुन्छ कि भनि ल्याएको छु । केही वर्षयता वाहाको शरीर दुखिरहेको छ धुम्रपान, मध्यपान भने लामो समयदेखि खाइरहनुभएको छ । म सोध्छु भाइ के तातो पानीमा नुहाउँदा हात खुट्टा शरीर दुख्ने सन्चो होला ? हुन्छ भन्ने परम्परादेखिको जनविश्वास हो म पनि यस्ता कुराको त विश्वास मान्दिन तर कहीं पानी तताउने कुनै प्राकृतिक ग्यासको कारण उपचार पनि हुनसक्छ भने हो भाइ । मेरो पनि दुई महिनादेखि शरीर असाध्यौ दुखी रहन्छ । कहीं निको हुन्छ कि यसपटक त नुहाउँछु भने । ६६ वर्षे उनका ससुरा हाम्रो कुरा सुनिसकेपछि भन्छन् ‘काठमाडौंका डाक्टरलाई जचाउँदा तमाखु र जाँड छोड्नुपर्छ भने । तमाखु त एक महिना भयो छोडे जाँड बच्चैदेखि खाएकोले सकिरहेको छैन, अहिले पनि खाएको छु । ६ भाइ छोरा छन् कोही पनि घरमा बसेर खेतीपाती गर्दैन । कोही काठमाडौंमा सानोतिनो व्यापार गर्छन् । कोही भाडामा विदेश अरवतिर कमाउन गएका छन् । घरमा ६३ वर्षकी श्रीमती छिन्, उनी त अहिले पनि खेतीपाती गर्न वस्तुभाउ पाल्न व्यस्त हुन्छिन् । हातखुट्टा नआएपछि हामीलाई छोराछोरी बुहारीले कसरी बसीबसी पाल्लान्, म त मरुन्जेल काम गरेर खाना चाहन्छु, आफ्नै जन्म गाउँमा मर्न चाहन्छु । मेरा छोराछोरी जस्तो विदेश गएर कमाइ गर्ने, विदेशबाट आएका वस्तुहरू मात्र बेची र खाना चाहन्न । उनको त्यो राष्ट्रिय, स्वाभिमान देखेर मेरो मन गर्वले फुल्छ । भन्छु, धन्य दाइ यस्तै महान् सबै नेपाली हुनुपर्छ । मलाई नि बसेर खाना मन लाग्दैन, केही न केही काम गरेर मात्र जिउने वानीको विकास गर्नुपर्छ भन्ने लाग्छ । तर बुढेसकालमा मानिस अशक्त पनि हुँदो रहेछ । त्यो समयमा राज्यले सबै बृद्ध नागरिकलाई निश्चित अवधि तोकेर खाना लगाउन बस्ने समेतको व्यवस्था गर्नुपर्ने रहेछ । बहुदलीय व्यवस्था पुनस्र्थापना भएपछि एक सय रूपैयाँबाट सुरु गरिएको बृद्ध भत्ता केही बढाइएको छ, त्यो पनि भेद्भावपूर्ण र अति नै न्यून छ । हाम्रो जस्तो मुलुकमा साठी वर्ष हाललाई सबै नागरिक पेन्सिन पाउने आयु तोकिए उपयुक्त हुन्छ । छोराछोरी पालनपोषण १८ वर्षसम्म जिम्मेवारी आमाबाबुको गराउने त्यसपछि शिक्षा स्वास्थ्य रोजगारी राज्यले लिने बाबुआमाको सम्पत्ति कमाइमा छोराछोरीको हक नलाग्ने इच्छा भएपछि मात्र दिन पाउने नीति भएमा हामी सुखी हुने थियौं । बरु आजको केन्द्रिकृत शासन प्रणालीलाई विकेन्द्रिकृत गरेर स्थानीय निकायलाई अधिकार सम्पन्न गराएर हरेक नागरिकले आफ्नो आम्दानीमा, आम्दानी अनुसारको कर लगाउने कर व्यवस्थित तरिकाले वितरण प्रणाली लागू राज्यले गर्नुपर्दछ । राज्यका सबै क्रियाकलाप पारदर्शी गराउन जनप्रकाशन गरेर जनताको विश्वास जित्न सकेमा हामी पनि अहिलेका विकशीत मुलुकका नागरिकले विताएको समृद्धि शाली जीवन बिताउन सक्ने थियौं’ भनि कुराको बिट मारें ।
दाईले पनि मेरो कुरामा सहमति जनाउँदै भने भाइ हाम्रो देशमा त्यस्तो व्यवस्था कस्ले ल्याउलान् ? आफै खाउ आफै लाउँ । हिजो राजा हुनेहरूले गरे आज जनताका छोरा प्रजातन्त्रमा नेताहुनेहरू जहिले पनि कुर्सीको खेल खेलिरहेका छन् । आफ्नै मात्र दुनो सोझ्याउन कति–कति खाए ठूला घर हाले गाडी जोडे देश विदेशमा आफ्ना छोराछोरी पढाउँछन् रे भन्ने हल्ला सुनिन्छ । तपाईंले भने जस्तो व्यवस्था हाम्रो देशमा ल्याउलान् म त भाइ सपनामा पनि सोच्दिन । हिजो जस्ता थिए आज उस्तै छन् यी छट्टु भिखारीहरू भनि लामो सास फेर्नुभयो । मैले भने हो त दाई हाम्रो देशमा निरुन्कुश सामान्ती राज लामो समय रह्यो । अहिलेका बहुदलीय नेता भनेका पनि त्यही सामान्ती संस्कार बोकेर आएका रहेछन् । यिनीलाई तपाईं हामीले को पार्टी जनताको काम गर्ने नेता हो चिनेर मात्र विजयी बनाउनुपर्छ । पार्टी मात्र चाटेर हुँदो रहेनछ, हामी जनता पनि लाटा भयौं । जसले जता हाम्रो पार्टी भन्यो लाटाले केरा छामे जस्तै गरेर चुनेर पठायौं । हो त भाइ अब त राम्रो गरेर चिनेर मात्र भोट दिएर जिताउनुपर्छ भनि कुराको विट मार्नुभयो । (बाँकी अर्को साता)
साझा बिसौनी संवाददाता ।