शक्ति प्रदर्शनसहित उम्मेदवारी दर्ता

डिलप्रसाद शर्मा/गीता थापा
सुर्खेत, १६ कार्तिक ।
प्रतिनिधिसभा र प्रदेशसभाका लागि सुर्खेतमा ६० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा रहेका ६ सीटका लागि ६० जनाको उम्मेदवारी दर्ता भएको हो । प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ सीटका लागि बिहीवार ६० जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जनाएको छ ।


जिल्लाका दलहरूले तामझामसहित उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस लगायतका दलहरूले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराए । यस्तै एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएको छ । उम्मेदवारी दर्ताको क्रममा दलहरूले वीरेन्द्रनगरमा आफ्नो शक्ति प्रदर्शनसमेत गरेका छन् । प्रतिनिधिसभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेका सुर्खेतमा २० जना र प्रदेशसभाका लागि चार वटा निर्वाचन क्षेत्रमा ४० जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाका लागि दुवै निर्वाचन क्षेत्रमा १०÷१० जनाको उम्मेदवारी परेको छ । यस्तै प्रदेशसभाका लागि निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गतको (क) बाट १० जना र (ख) बाट ९ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नम्बर–२ अन्तर्गतको (क) बाट ११ र (ख) बाट १० जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर–१ मा कांग्रेसबाट पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, नेपाल मजदुर किसान पार्टीबाट जीवनकुमार शाक्यले उम्मेदवारी दिएका छन् ।
यस्तै नयाँ शक्ति पार्टी नेपालबाट रेशमकुमार राना, मंगोल नेशनल अर्गनाइजेशनबाट देवबहादुर पुन, संघीय समाजवादी फोरमबाट धनवीर कामी, विवेकशील साझा पार्टीबाट रम्मा आचार्य र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट चक्रबहादुर नेपालीले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर–२ मा कांग्रेसबाट पूर्व सहकारी मन्त्री हृदयराम थानी, वाम गठबन्धनबाट एमालेका पूर्व जिल्ला अध्यक्ष नवराज रावत, नयाँशक्तिका प्रचण्ड पोखरेल, राजमोका कृष्णकुमारी रावल र साझा पार्टीका गोविन्द आचार्यको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


प्रदेशसभाका लागि कांग्रेसबाट क्षेत्र नं. १ (क) बाट उपसभापति टेकबहादुर सिंह र (ख) बाट झकबहादुर डाँगीको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र न २ (क) मा पार्टी सभापति कमलराज रेग्मी र (ख) बाट सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन् । वाम गठबन्धनबाट प्रदेशसभाको लागि क्षेत्र नं. १ (क) मा माओवादीका ठम्मर विष्ट र (ख) मा एमालेका खड्कबहादुर खत्रीले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्र नं. २ (क) मा एमालेका पोलिटब्यूरो सदस्य एवम् पूर्व पर्यटनमन्त्री यामलाल कँडेलले उम्मेदवारी दिएका छन् । यस्तै (ख) बाट माओवादीका विन्दमान विष्टले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता पछि दलहरूले जिल्लामा आफूहरूले जित्ने दावी गरेका छन् । वाम गठबन्धनले जिल्लाका सबै सीट जित्ने दावी गरेको छ भने कांग्रेसले पनि आफ्नो जीत सुनिश्चित भएको दावी गरेको छ ।

टिकट नपाउनेहरु प्रस्तावक र समर्थक

निर्वाचनमा अन्तर्घातको आरोपबाट बच्न र असहयोगी बनेको शंका मेट्न टिकट नपाउनेहरू नै उम्मेदवारका प्रस्तावक र समर्थक बनेका छन् । जिल्लाबाट सिफारिस भएर अन्तिम समयमा टिकट नपाएपछि असन्तुष्ट बनेकाहरू आधिकारिक टिकट पाएका उम्मेदवारका प्रस्तावक र समर्थक बनेका हुन् । यसले आफूहरूमाथिको शंका मेटिने र उम्मेदवारलाई पनि हौसला मिल्ने उनीहरूको दाबी छ ।
चुनावी तालमेल भएपछि सुर्खेतमा एमाले र माओवादीका धेरै आंकाक्षीले टिकट पाएनन् । कांग्रेसमा पनि आंकाक्षी धेरै हुँदा सिफारिसमा धेरै परेका थिए । अन्तिम समयमा टिकट नपाएपछि सिफारिसमा परेकाहरूले सामाजिक सञ्जालमा नै असन्तुष्टी पोखे । वाम गठबन्धनमा सीट नै बाँडफाँड भएपछि एमाले र माओवादीका धेरै आकांक्षीहरू बाहिरिए । यस्तो अवस्थामा एमाले र माओवादीमा एकले अर्कोलाई असहयोगको आशंका थियो । यही आशंका मेट्न वाम गठबन्धनले टिकट नपाएकाहरूलाई नै उम्मेदवारका प्रस्तावक र समर्थक बनाएको छ ।
कांग्रेसले पनि टिकट पाउनबाट वञ्चित भएकाहरूलाई नै प्रस्तावक र समर्थक बनाएको छ । प्रतिनिधिसभाको क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेशसभा (ख) मा एमालेका जिल्ला सचिव मोहन बडुवाल सिफारिस भएका थिए । तर उक्त क्षेत्र माओवादीको भागमा परेपछि बडुवालका समर्थक निकै असन्तुष्ट बने । उनीहरूले उक्त क्षेत्रमा गठबन्धन नै पराजित हुनेसम्मका चेतावनी दिए । चुनावपछि भोग्नुपर्ने अन्तर्घातको आरोप र असहयोगी बनेको शंका मेट्न एमाले नेता बडुवाल नै माओवादीको तर्फबाट उम्मेदवार बनेका विन्दमान विष्टको प्रस्तावक बनेका छन् । बडुवालले भने, ‘मैले टिकट नपाए पनि गठबन्धनले जित्नुपर्छ, म इमान्दार भएर खट्नेछु । वाम गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्नेछु, टिकट नपाउँदैमा निराश हुनुपर्ने अवस्था छैन ।’
प्रतिनिधिसभा–२ बाट माओवादीले पोलिटब्यूरो सदस्य नरबहादुर विष्टलाई उम्मेदवारमा सिफारिस गरेको थियो । तर केन्द्रको तालमेलपछि यो क्षेत्र एमालेको भागमा प¥यो । आफ्नो पार्टीको उम्मेदवार नबन्ने भएपछि माओवादी कार्यकर्ताहरूमा चर्को असन्तुष्टी देखियो । यही असन्तुष्टीका कारण निर्वाचनमा नै असहयोग गरेको शंका मेटाउन विष्टले एमालेबाट उम्मेदवारी दर्ता गराएका नवराज रावतलाई समर्थन गरेका छन् । सीट बाँडफाँडका कारण र अन्तिम समयमा टिकट नपाएकाहरूलाई वाम गठबन्धनले उम्मेदवारको प्रस्तावक र समर्थक बनाएर निर्वाचनमा सहयोगी बनाउने प्रयास गरेको छ । गठबन्धनमा एमालेका उम्मेदवारले माओवादीमा टिकट नपाएका र माओवादीका उम्मेदवारले एमालेमा टिकट पाउनबाट वञ्चित भएकाहरूलाई नै प्रस्तावक र समर्थक बनाएका छन् ।
यस्तै कांग्रेसमा पनि निर्वाचनमा अन्तर्घात गरेको आरोपबाट बच्न अन्तिम समयमा टिकट नपाएर असन्तुष्ट बनेकाहरू नै प्रस्तावक र समर्थक बनेका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर–१ अन्तर्गत प्रदेशसभाको (क) मा लालबहादुर घलेले टिकट पाउने चर्चा चल्यो । तर उम्मेदवारी दर्ता गर्ने बेलामा उनले टिकट पाएनन् । जिल्ला उपसभापति टेकबहादुर सिंहले उम्मेदवारी दर्ता गरे । सिफारिस भएर पनि टिकट नपाएका वीरेन्द्र रावत प्रस्तावक र नरेशविक्रम ढकाल सिंहका समर्थक बनेका छन् । उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा टिकट खोसिएका लालबहादुर घले नेता पूर्णबहादुर खड्काको समर्थक बनेका छन् । जिल्लाका सबै क्षेत्रबाट सिफारिसमा परेर अन्तिम समयमा टिकट नपाएकाहरू नै उम्मेदवारका प्रस्तावक र समर्थक बनेका हुन् । यसले आपसमा शंका मेट्ने र उम्मेदवारको आत्मविश्वास पनि बढ्ने टिकट नपाएकाहरू बताउँछन् ।

खड्काको उम्मेदवारी वारेसनामामार्फत्


कांग्रेस नेता एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले वारेसनामामार्फत् उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको तर्फबाट सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उनले बिहीवार उम्मेदवारी दर्ता गराएका हुन् । कार्य व्यस्तताका कारण राजधानीमै रहेका खड्काले जिल्ला सदस्य रामबहादुर सिंहमार्फत् उम्मेदवारी दर्ता गराए । यसअघि आफैं उमेदवारी दर्ता गराउन आउने तयारी गरेका खड्काले बिहीवार बिहानसम्म पनि केन्द्रमा उम्मेदवारहरूको टुङ्गो लगाउन व्यस्त भएपछि वारेसनामा पठाएको कांग्रेस सुर्खेतले जनाएको छ ।

दर्ता गर्नेबेला टिकट आएपछि…

यसैबीच कांग्रेसका जिल्ला उपसभापति टेकबहादुर सिंहले उम्मेदवारी दर्ता गर्ने समय सुरु भएपछि टिकट पाएका छन् । उनले उम्मेदवारी दिएको क्षेत्र नं. १ (क) मा बिहीवार बिहानसम्म पूर्वसांसद् लालबहादुर घलेले उम्मेदवारी दिने चर्चा थियो । कांग्रेस कार्यकर्ताहरूसमेत घलेले टिकट पाएको चर्चा गरिरहेका थिए । तर बिहान ११ बजेपछि केन्द्रबाट एकाएक सिंहको नाममा टिकट आएको हो । एक्कासी टिकट आएपछि सिंहले नै उक्त स्थानमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस स्रोतका अनुसार घलेले उमेर ढल्केका कारण उम्मेदवार बन्न नचाहेको बताएपछि सिंहको हातमा टिकट परेको हो ।
यद्यपि कांग्रेसभित्रको आन्तरिक गुट मिलाउन अन्तिम समयमा सिंहलाई टिकट दिइएको बताइएको छ ।

 

प्रकाशित मितिः   १७ कार्तिक २०७४, शुक्रबार १७:०५