कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक
भक्तपुर, १५ कात्तिक ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका ३९ हजार ४ सय ४६ मध्ये ३४ हजार ५ सय ३० जना उत्तीर्ण भएका परीक्षा नियन्त्रक डम्बरकुमार बतासले जानकारी दिए । यो ८७ दशमलब ५४ प्रतिशत हो । २ जनाको परीक्षा रद्ध भएको छ ।
कक्षा ११ उत्तीर्ण भई कक्षा १२ मा एक विषय लागेका विद्यार्थीलाई मौका प्रदान गरिएको हो । अब, अहिले पास भएका विद्यार्थीले नियमति विद्यार्थी सरह स्नातक तह पढ्न पाउँछन् ।
गत असार २० गते विज्ञान र साउन १५ गते अन्य विषयको कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । उक्त परीक्षामा एक विषयमा अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले गत असोज २१ गते परीक्षा सञ्चालन गरेको थियो । परीक्षाका काम समयमा नगरेर आलोचना खेप्दै आएको बोर्डले यस बर्ष परीक्षा सञ्चालन र नतिजा प्रकाशनको काम गत बर्ष भन्दा छिटो गर्दै आएको छ ।
गत बर्ष भन्दा यस बर्ष कक्षा १२ मौका परीक्षाको नतिजा पनि छिटो प्रशाशन भएको छ । गत बर्ष कात्तिक २ गते बल्ल परीक्षा भएको थियो ।
‘हाम्रो काम त परीक्षा गर्नु नै हो, ढिलो गरेर किन विद्यार्थी र अभिभावकलाई हैरानी दिने ? नियन्त्रक बतासले भने, ‘यस बर्ष हामीले परीक्षाका हरेक काम समयमै गरेका छौं ।
प्रकाशित मितिः १५ कार्तिक २०७४, बुधबार १७:३७
साझा बिसौनी ।