सुर्खेतका उम्मेदवारहरुको चिनारी

राष्ट्रिय राजनीतिमा स्थापित नेता

पूर्णबहादुर खड्का

वि.सं. २०१२ साल फागुन १७ गते पाम्का, सुर्खेतमा जन्मिएका खड्का नेपाली कांग्रेसका नेता हुन् । उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । खड्का वि.सं. २०३१ सालदेखि पार्टीगत राजनीतिमा प्रवेश गरेका हुन् ।
वि.सं. २०४८, वि.सं. २०५१ र वि.सं. २०५६ सालको संसदीय निर्वाचन तथा वि.सं. २०७० को संविधानसभा निर्वाचनमा उनी सुर्खेत क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । २०६४ सालको संविधान सभामा भने उनी समानुपातिक तर्फबाट सभासद् बनेका थिए । उनी प्रजातन्त्रको पुनस्र्थापनपछि वाणिज्य, युवा तथा खेलकुद, संस्कृति, जनसंख्या, वातावरण, सूचना तथा सञ्चार, उद्योग तथा गृहमन्त्री भइसकेका छन् ।
यसअघि नेपाली कांग्रेसको सहमहामन्त्री भइसकेका खड्का हाल केन्द्रीय सदस्य हुन् । कांग्रेस पार्टी विभाजनका समयमा नेपाली कांग्रेस लोकतान्त्रिकतर्फ लागेका उनी अहिले पनि कांग्रेसभित्र प्रभावशाली नेता मानिन्छन् ।

 

स्ववियु सभापतिदेखि मन्त्रीसम्म

हृदयराम थानी


उनको जन्म वि.सं.२०१६ साल जेठमा तत्कालीन गढी गाविसको बयलकाँडा सुर्खेतमा भएको हो । थानीले स्नातकोत्तर उत्तीर्ण गरेका छन् । वि.सं. २०३६ सालदेखि विद्यार्थी संगठनमार्फत् राजनीति सुरु गरेका थानी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । उनीसँग स्थानीय निकाय सञ्चालनको समेत अनुभव छ । थानी २०४९ सालमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष थिए ।
विद्यार्थी राजनीतिमा सुरुदेखि नै लागेका थानी नेपाल विद्यार्थी संघ इकाई समिति, इन्जिनियरिङ क्याम्पस, पुलचौक ललितपुर, २०३५–२०३९ सम्म सभापति भएका थिए । स्वतन्त्र विद्यार्थी युनियन, शंकरदेव क्याम्पस, काठमाडौं, २०४१–२०४३ सम्म सभापति भएका थानी नेपाल विद्यार्थी संघ, केन्द्रीय समितिको २०४३–२०४८ सम्म उपाध्यक्ष थिए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति समिति, सुर्खेतको २०४५–२०५२ सम्म सदस्य रहेका थानी नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर २, सुर्खेतको सभापति पनि भए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुर्खेतको २०५९–२०६० मा सभापति भएका उनले नेपाली कांग्रेस, केन्द्रीय समन्वय विभागको सदस्य सचिव भएर पनि काम गरे ।
नेपाली कांग्रेसको १३ औं महाधिवशेनबाट उनी प्रदेश नम्बर ६ बाट केन्द्रीय सदस्यमा निर्वाचित भए । राज्य व्यवस्था समितिका सभापति समेत भइसकेका थानी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री हुन् । वि.सं. २०५६ सालमा सुर्खेत क्षेत्र नम्बर २ बाट सांसद भएका थानी त्यसपछि संविधानसभा निर्वाचन २०७० मा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०६४ मा पराजित भएका थिए ।

बहालवाला राज्यमन्त्री

तप्पबहादुर विष्ट

विष्टको जन्म वि.सं. २०२० सालमा कालिकास्थान गाविस–३, अछाममा भएको हो । उनको बुबाको नाम गाजले विष्ट र आमाको नाम अस्तना विष्ट हो । विष्टले मानविकी संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।
विष्ट वि.सं. २०३६ सालमा विद्यार्थी संगठनमार्फत् राजनीतिमा प्रवेश गरे । उनी २०४९ सालमा जिल्ला विकास समिति सुर्खेतको उपसभापति भए भने दुई पटक नेपाली कांग्रेस सुर्खेतको सभापति भएर काम गरे । पार्टी विभाजन हुँदा नेपाली कांग्रेस प्रजातान्त्रिकतर्फ लागेका उनी त्यसपछि पनि पटक–पटक गुट परिवर्तन गरिरहने नेता हुन् । पार्टी एकीकरणपछि कुनैबेला कोइराला समूहमा पुगेका उनीपछि पुनः शेरबहादुर देउवातिर लागेका हुन् ।
वि.सं. २०७० सालको संविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट निर्वाचित उनी अहिले सूचना तथा सञ्चार राज्यमन्त्री छन् ।

पहिलो पटक निर्वाचनमा

टेकबहादुर सिंह

वि.सं. २०२८ सालमा सुर्खेतको काफलकोटमा जन्मिएका सिंह विद्यार्थीकालदेखि नै राजनीतिमा संलग्न छन् । नेपाली कांग्रेस निकट विद्यार्थी संगठनको विद्यालय इकाई हुँदै क्षेत्रीय सभापति, नेपाली कांग्रेसको गाउँ कार्यसमिति सभापति, क्षेत्रीय समिति सदस्य, जिल्ला कार्यसमिति सदस्य, सचिव हुँदै अहिले सिंह जिल्ला उपसभापतिको जिम्मेवारीमा छन् ।
विभिन्न पदमा रहेर राजनीतिमा अघि बढिरहेका सिंह यो तहको निर्वाचनमा भने पहिलो पटक सहभागिता जनाउँदैछन् । पूर्व सांसद लालबहादुर घलेसहितका नेताहरूलाई पछि पार्दै अन्तिम समयमा उनले प्रदेशसभातर्फ सुर्खेत क्षेत्र नम्बर १ को क बाट उम्मेदवारी पाएका हुन् ।

अवकाशप्राप्त शिक्षक

झकबहादुर डाँगी

वि.सं. २०१७ सालमा सुर्खेतको पाम्कामा जन्मिएका डाँगी शिक्षण पेशाबाट अवकाश पाएपछि पूर्णकालीन पार्टी राजनीतिमा आएका हुन् । उनीसँग पार्टी राजनीतिको अनुभव त्यति लामो छैन । तर शिक्षक हुँदा नेपाली कांग्रेस निकट शिक्षक संघको विभिन्न जिम्मेवारीमा रहेर उनले काम गरिसकेका छन् ।
नेपाली कांग्रेसका जिल्लास्थित चर्चित युवा नेताहरू गोविन्द कोइराला, नारायण कोइराला लगायतलाई पछि पार्दै सुर्खेत क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार बनेका डाँगी पूर्णबहादुर खड्का समूहका व्यक्तिका रूपमा चिनिन्छन् ।

पूर्वमन्त्रीसँग भिड्दै

कमलराज रेग्मी

रेग्मी नेपाली कांग्रेस सुर्खेतका पार्टी सभापति हुन् । दुई पटक पार्टीको क्षेत्रीय कमिटी क्षेत्र नम्बर २ को सभापति भइसकेपछि उनी हाल जिल्ला सभापति छन् । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री हृदयराम थानीका विश्वास पात्र मानिन्छन् । उनलाई थानीको उत्तराधिकारीको रूपमा समेत कांग्रेसवृत्तमा चर्चा हुने गरेको छ । थानीका हरेक निर्णय र रणनीतिमा रेग्मी प्रत्यक्ष संलग्न हुने गरेको उनी निकटहरू बताउँछन् ।
डम्मर जिसी, कालिप्रसाद शाक्य लगायतका पूराना नेताहरूलाई पछि पार्दै निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट उम्मेदवार बनेका उनी वीरेन्द्रनगरका स्थायी बासिन्दा हुन् । उनी पूर्वमन्त्री यामलाल कँडेलसँग प्रतिस्पर्धा गर्दैछन् ।

हेवी वेटसँग प्रतिस्पर्धा

ध्रुवकुमार शाही


वि.सं. २०४५ सालमा अनेरास्ववियु छैटौं प्रारम्भिक कमिटीमा आवद्ध भएका शाही त्यसपछि अखिल पाँचौंमा प्रवेश गरी विद्यार्थी राजनीतिमा प्रवेश गरेका थिए । २५ वर्षको उम्मेरमा २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन मालारानी गाउँ विकास समितिको अध्यक्ष बनेपछि राजनीतिमा उनको बाटो अझ फराकिलो बन्यो ।
वि.सं. २०५६ सालदेखि नेकपा एमालेको लगातार जिल्ला कमिटी सदस्य, २०६३ मा भएको पाँचौं जिल्ला अधिवेशनबाट जिल्ला उपसचिव, २०६६ मा भएको छैठौं जिल्ला अधिवेशनमा अध्यक्षको प्रत्यासी झिनो मतअन्तरले पराजीत भएका उनी २०७१ सालमा भएको सातौं जिल्ला अधिवेशनबाट ६० मतअन्तरले पार्टी जिल्ला अध्यक्षमा विजयी भए । विकास निर्माण लगायत सामाजिक कार्यमा बढी अग्रसर हुने उनी यसअघि संसदीय निर्वाचनमा भने सहभागी भएका थिएनन् । प्रतिनिधिसभातर्फ सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काका प्रमुख चुनौती हुन् ।

दुई पटकका गाविस अध्यक्ष

खड्गबहादुर खत्री

वि.सं. २०२२ सालमा सुर्खेतको रानीवासमा जन्मिएका खत्री मूलतः निर्माण व्यवसायीको रूपमा परिचित छन् । वि.सं. २०३४ सालदेखि राजनीतिक यात्रा थालेका उनी वि.सं. २०४९ र २०५४ सालमा भएका स्थानीय निकायका निर्वाचनमार्फत तत्कालीन रामघाट गाविसका अध्यक्षमा निर्वाचित भए ।
व्यवसाय सँगसँगै सामाजिक कार्य र राजनीतिमा सक्रिय उनी भलिबल र एथ्लेटिक्सका पूर्व राष्ट्रिय खेलाडीसमेत हुन् । नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य उनी नेकपा एमाले निकट नेपाल उद्योग परिषद्को समेत केन्द्रीय सदस्य हुन् । हाल भेरीगंगा नगरपालिकाको वडा नम्बर ११ का स्थायी बासिन्दा खत्री सामाजिक कार्यमा पु¥याएको योगदानका कारण चर्चित छन् ।

मुख्यमन्त्रीका दावेदार

यामलाल कँडेल

कँडेल प्रदेश नम्बर ६ को मूख्यमन्त्रीका प्रमुख दावेदार हुन् । राष्ट्रिय राजनीतिमा स्थापित नेकपा एमालेका पोलिट्ब्यूरो सदस्य समेत रहेका कँडेलले मूख्यमन्त्री बन्ने आकाक्षांसहित यसपटक प्रदेशसभाको उम्मेदवार बनेका हुन् ।
वि.सं. २०५१ यता उनी लगातार निर्वाचन लड्दै आएका छन् । ०५१ को मद्यावधि निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका उनी एमाले विभाजन भएपछि भने मालेतिर लागे । मालेबाट २०५६ को संसदीय निर्वाचनमा भने उनी सुर्खेत क्षेत्र नम्बर २ बाट पराजित हुन पुगे । त्यसपछि पुनः पार्टी एकीकरण भएपछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा भने सोही क्षेत्रबाट विजयी भएका कँडेल दोस्रो संविधानसभा निर्वाचन २०७० मा पुनः पराजित हुन पुगे ।
जिल्ला पार्टी सचिव, केन्द्रीय सदस्य हुँदै पार्टीको पोलिट्ब्यूरो सदस्यसम्म पुगेका कँडेल यसअघि पर्यटनमन्त्री समेत भइसकेका छन् ।

सुर्खेत जेलब्रेकका ‘कमाण्डर’

विन्दमान विष्ट

२०५८ मा भएको सुर्खेत जेलबे्रकको घटना रोचक र चर्चित छ । सोही जेलब्रेकका एक कमाण्डर हुने विन्दमान विष्ट । विद्यार्थी छँदादेखि नै माओवादीले सुरु गरेको जनयुद्धमा सहभागी भएका उनी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्वमहासचिव समेत हुन् । हाल पार्टीको पोलिट्ब्यूरो सदस्य रहेका उनी माओवादीभित्रका चर्चित युवा नेता हुन् ।

चौथो पटक भिड्दै

नवराज रावत

सुर्खेतमा कम्युनिष्ट पार्टीको विकास र विस्तारमा रावतको भूमिका पनि उल्लेख्य छ । रावतसँग स्थानीय तह सञ्चालन तथा पार्टीको संगठन सञ्चालनको अनुभव छ । वि.सं. २०५४ को स्थानीय निकाय निर्वाचनमा उनी जिल्ला विकास समिति सुर्खेतको उपसभातिमा निर्वाचित भए । नेकपा एमाले सुर्खेतको नेतृत्व समेत उनले दुई पटक गरिसकेका छन् । तर उनले सांसद हुने अवसर भने अहिलेसम्म पाउन सकेका छैनन् ।
२०५१ मा भएको मद्यावधि निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका रावत उक्त निर्वाचनमा पराजित हुन पुगे । त्यसपछि संविधानसभा निर्वाचन २०६४ र ०७० मा पनि सोही क्षेत्रबाट उनी पराजित भए । आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उनी यो सँगै चौथो पटक उम्मेदवार बन्न पुगेका छन् । यसपटक एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनबाट उम्मेदवार बनेका उनी विजयी हुनेमा विश्वस्त छन् ।

जनमुक्ति सेनादेखि पोलिटब्यूरो सदस्यसम्म

ठम्मर विष्ट

वि.सं. २०२७ सालमा सुर्खेतको गुर्भाकोटमा जन्मिएका विष्टले २०४२÷०४३ सालदेखि नै आmूलाई राजनीतिमा समर्पित गरे । पञ्चायत विरुद्ध आन्दोलनमा सहभागी हुँदै राजनीतिमा होमिएका उनले नेकपमा माक्र्सवादी, नेकपा माले हुँदै राजनीतिक यात्रालाई अघि बढाए २०५४ सम्म । त्यसपछि तत्कालीन नेकपा (माओवादी) मा प्रवेश गरेर २०५६÷०५७ देखि भूमिगत भए ।
जनयुद्धकालमा माओवादीको गाउँ जनसरकार प्रमुखदेखि जिल्ला जनप्रचार सदस्य, क्षेत्रीय ब्यूरो सचिवालय सदस्यसमेत भए । युद्ध चर्किदै जाँदा उनी माओवादीको जनमुक्ति सेनामा भर्ना भए । जहाँ कम्पनी कमिसारदेखि बिग्रेड कमाण्डरसम्मको जिम्मेवारी उनले सम्हाले । मुलुक शान्ति प्रक्रियामा आएपछि शान्ति प्रक्रिया, हतियार तथा सेना व्यवस्थापनका लागि दुई वर्ष युनाइटेड मिसनमा सहभागी भएका विष्ट नेकपा माओवादी केन्द्र सुर्खेतका सचिवको जिम्मेवारीका साथै हाल केन्द्रीय पोलिटब्यूरो सदस्यसमेत हुन् ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेत क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका उनी यसपटक प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को ‘क’ बाट उम्मेदवार बनेका छन् ।

प्रकाशित मितिः   १७ कार्तिक २०७४, शुक्रबार १६:५८