जसले त्यागे छोराको ‘मोह’

गीता थापा
सुर्खेत, १३ कार्तिक ।
छोरा मोहका कारण गर्भमा रहेको लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्नेक्रम रोकिएको छैन । शिक्षित र सहरभित्रै बस्नेहरूले नै गर्भमा छोरी भए गर्भपतन गरिरहेका छन् । तर यही समाजमा यस्ता जोडीहरू पनि छन्, जसले छोरा नै चाहिने मोह त्यागेर नमुना काम गरेका छन् । छोरी मात्र जन्माएर स्थायी रूपमा परिवार नियोजन गरेका जोडीहरूलाई सम्मान नै गरिएको छ ।


छोरा मोह त्यागेर दुई वटासम्म छोरीमात्र जन्माएर परियार नियोजन गरेका र अब सन्तान नजन्माउने योजनामा रहेका जोडीहरूलाई वीरेन्द्रनगरमा सम्मान गरिएको हो । सोमवार औपचारिक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरिएको छ ।
छोरा नै चाहिने मोह त्यागेर छोरी मात्र जन्माएर परिवार नियोजन गरेका १८ जोडीलाई सम्मान गरिएको हो । छोरी मात्र जन्माएर खुशी र सन्तुष्ट भएका ती जोडीलाई बाल मजदुर सरोकार केन्द्र सिविन नेपाल र नागरिक समाज संस्थाहरूको सञ्जाल सीएसओ नेर्टवक सुर्खेतले सम्मान गरेका हुन् । छोरी भएकै कारण भेद्भाव गर्ने र लिङ्ग पहिचान गरी छोरी भएमा गर्भपतन गराउने क्रम बढिरहँदा यी जोडीले गतिलो सन्देश दिएका छन् । दुई छोरी मात्र जन्माएर खुशी र सन्तुष्ट भएका परिवारलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरिएको सिविन नेपाल सुर्खेतका बाल संरक्षण अधिकृत संगीता वलीले बताइन् ।
उनका अनुसार यो सम्मानले समाज अन्य जोडीलाई पनि प्रेरणा दिनेछ । वीरेन्द्रनगर–३ निवासी जगतमाया शर्माका दुई वटा छोरी मात्र छन् । तर उनलाई छोराको मोह भने छैन । उनकी जेठी छोरी जन्मिदा घरमा सासुससुराले छोरी जन्माएको भन्दै राम्रोसँग खानासमेत दिएनन् । सम्मानित भएकी उनले भनिन्, ‘सुरुमा त घरकाले छोरीको अनुहार नै हेरेनन्, पेटभरी खान पनि दिएनन् ।’ उनी दोस्रोपटक गर्भवती भइन् । घरपरिवार र श्रीमान्लाई लागेको थियो, त्यसपटक त छोरा नै जन्मिन्छ । तर जगतमायाको दोस्रो सन्तानको रूपमा छोरीको नै जन्म भयो । परिवारले छोरोको चाहना राखेको भए पनि यो जोडीले छोरा मोह त्यागेको छ । उनीहरू अब अरु सन्तान नजन्माउने निर्णयमा पुगेका छन् ।
वीरेन्द्रनगर–६ निवासी मीना पौडेलको एउटा मात्र छोरी छन् । छोरी तीन वर्षको हुँदा नै उनको जोडीले अरु सन्तान नजन्माउने सहमति गरे । मीनाका श्रीमान् पूर्णप्रसाद पौडेलले स्थायी बन्ध्याकरण गरे । यो दम्पत्तीले ले छोरोको मोह राखेन । छोरीको भविश्य निर्माणमा जुटेका छन् । मीना भन्छिन्, ‘हाम्रो लागि यही छोरी नै सबै थोक हो, छोरा र छोरीमा हामी भेदभाव गर्दैनौ ।’ उनी भन्छिन्, ‘छोरी जन्माउँदा आज यसरी सम्मान पाइयो, अरु दम्पत्तीले पनि छोरीलाई यसरी नै माया गर्नुभयो भने नजन्मदै छोरीहरूले मर्नुपर्ने थिएन ।’ जगतमाया र मीना जस्तै सम्मान हुने पञ्चपुरी नगरपालिकाकी देवुमाया चपाईंका पनि दुई छोरी मात्र छन् । देवुमायाको पहिलो सन्तानको रूपमा छोरी विनु घिमिरे जन्मिन् । पहिलो सन्तान छोरी जन्मदा घरपरिवारको आश दोस्रो सन्तानमा थियो ।
देवुमायाले दोस्रो सन्तानको रूपमा पनि छोरीलाई नै जन्म दिइन् । दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी देवुमायाले घरपरिवारबाट छोरा जन्माउनुपर्ने दबाब थेगिन् । तर उनले हिक्मत भने हारिनन् । विस्तारै परिवारलाई बुझाउने प्रयास गरिन् । उनले भनिन्, ‘म मेरा दुई छोरीमा नै सन्तुष्ट छु समाजले जेसुकै भनोस् । छोराछोरी जे भए पनि, मेरो लागि सबै सम्मान हुन् ।’ यो जोडीले पनि छोरा मोह त्यागेर अब सन्तान नजन्माउने भएको छ । जिल्ला अन्य जोडी पनि सम्मानित
भए, जसले छोराको मोह त्यागेका छन् । छोरा मोह त्यागेर छोरीमै खुशी भएका जोडीहरू सम्मानित हुँदा दङ्ग परेका छन् ।
सम्मानित हुनेमा वीरेन्द्रनगर–८ का बसन्ती मल्ल र भरत मल्लको जोडी, वीरेन्द्रनगर–१० का चन्द्रा खड्का र मोहनसिंह खड्का, शुक्र चौधरी र शान्ता चौधरी, कौशिला चौधरी र हरिलाल चौधरी, वीरेन्द्रनगर– ८ का सीता बिसी र श्याम बिसी, वीरेन्द्रनगर –८ का शान्ता कँडेल र जगतप्रसाद कँडेल, वीरेन्द्रनगर –७ का डम्मर आचार्य र तिलकप्रसाद सापकोटा, वीरेन्द्रनगर–३ का निशा पौडेल र कमलप्रसाद पौडेल, जानकी लामिछाने र ओम लामिछाने, जगतमाया शर्मा र मात्रिका तिमिल्सेना, पूर्णप्रसाद पौडेल र मीना पौडेल, लक्ष्मी खड्का र कृष्णबहादुर खड्का, दिलमाया रामजाली र शशीराम रामजाली, इन्द्रा गिरी र झक्कलदेव गिरी, दिलबहादुर चौधरी र प्यारी चौधरी, वीरेन्द्रनगर–१० का यामबहादुर चौधरी र बिमला चौधरी तथा खडानन्द घिमिरे र देवुमाया चपाईंको जोडी रहेका छन् ।
सो अवसरमा गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले गर्भपतन गरी छोरीको भ्रुण हत्या गर्नेलाई कारबाहीको दायरामा ल्याउने काम अब स्थानीय सरकारले गर्ने बताइन् । उनले नगरको हरेक योजनामा बालिका संरक्षण योजनाहरू समावेश गर्नुपर्ने बताइन् । वीरेन्द्रनगर कार्यपालिकाका प्रशासकीय अधिकृत दिपेन सुवेदीले छोरीको संख्या बढाउने अभियानमा लागि परेको बताए । उनीहरूले नगरपालिकाले छोरी बचाऔं अभियानमा छोरी खाता बचत अभियान थालनी गरेको बताए । कार्यक्रममा जिल्ला शिक्षा कार्यालयका भोजप्रसाद लम्साल र आवाज संस्था सुर्खेतका कार्यकारी निर्देशक पवित्रा शाही, वीरेन्द्रनगर, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालीकाका नवनिवार्चित जनप्रतिनिधिहरू, जिल्लास्थित सरकारी तथा गैरसरकारी संस्थाहरूका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १४ कार्तिक २०७४, मंगलवार १३:३२