अब सल्यानको तरकारी सुर्खेतमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १३ कार्तिक ।
सल्यानमा उत्पादित तरकारी लगायतका उच्च मूल्यलाई सुर्खेतमा ल्याउन पहल सुरु गरिएको छ । लिवर्ड नामक गैरसरकारी संस्थाले सल्यानका कृषकहरूले उत्पादन गरेका उच्च मूल्य वस्तुलाई सुर्खेतका व्यवसायीसँग समन्वय गराइ सो पहल थालेको हो ।

लिवर्डले सल्यानमा पछाडि पारिएका समुदायको जीविकोपार्जनका लागि बाख्रा, अदुवा बेसार, टिम्मुर र तरकारीको क्षेत्रमा काम गर्दै आएको छ । सल्यानका कालिमाटी रामपुर, काल्चे, काप्रेचौर, निगालचुला, कुभिण्डे दह, लक्ष्मीपुर, काम्रा र माचकाँडालाई उच्च मूल्य वस्तु उत्पादनको क्षेत्र बनाएर त्यहाँका किसानहरूलाई त्यसतर्फ आकर्षित गराइएको लिवर्डका मूल्य शृंखला संयोजक विजय गुरुङले जानकारी दिए ।
सल्यानमा उत्पादित केही तरकारीहरू सुर्खेततर्फ आए पनि धेरैजसो अन्य जिल्ला गएको हुँदा आफ्नै छिमेकी जिल्लाहरूमा खपत गर्न सकिए सस्तो पर्ने उनले बताए । उनले तीन वर्षको अवधिमा त्यसक्षेत्रमा २५ प्रतिशत आम्दानी बढाउने र तीन महिना खाद्यान्न अभाव घटाउने लक्ष्य लिएको बताए । लिवर्ड सल्यानका उद्धव कार्कीले सुर्खेत ६ नं. प्रदेशको राजधानी पनि भएकोले अब सल्यानका उत्पादित वस्तुहरू बाहिर भन्दा सुर्खेततर्फ ल्याउनका लागि कृषक तथा
व्यवसायीहरूबीच सम्वन्य गराउन पहल भएको जनाए ।
सुर्खेतका व्यवसायीहरूले कृषक र व्यवसायीबीच समन्वय हुन नसक्दा, सडकको अवस्था कच्ची भएकोले सल्यानको सामग्री पर्याप्तमात्रामा सुर्खेतमा ल्याउन नसकिएको बताए । तरकारी तथा मासु व्यवसायी टोपबहादुर शाहीले यदि कृषकहरूले पर्याप्त मात्रामा उच्च मूल्य वस्तुको उत्पादन गरी समन्वय गरेमा सुर्खेतमा आयात गर्न सकिने जानकारी दिए । सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेती, पशु सेवा कार्यालयका पशु चिकित्सक नारायण न्यौपानेले सल्यानका सामग्री सुर्खेतमा ल्याएर बिक्री वितरण गर्न सकिए दुवै जिल्लाको आयस्तर बढ्न सक्ने औंल्याए ।

प्रकाशित मितिः   १४ कार्तिक २०७४, मंगलवार १३:३१