दण्डहिनता अन्त्यको लागि प्रतिबद्धता

सुर्खेत, १४ कार्तिक ।
पत्रकारविरुद्ध हुने दण्डहिनता अन्त्यका लागि प्रतिबद्ध रहेको सरोकारवालाहरूले बताएका छन् । फ्रिडम फोरम नेपालले पत्रकारविरुद्ध हुने अपराधका दण्डहिनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मंगलवार वीरेन्द्रनगरमा आयोजना गरेको प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक महेन्द्रप्रसाद गुँरागाईंले पत्रकारविरुद्ध हुने दण्डहिनता अन्त्य गर्नको लागि प्रतिबद्धता व्यक्त गरे । ‘विभिन्न समयमा हुने पत्रकारमाथि हुने घटनाहरू दुःखद् छन्’ उनले भने, ‘प्रेस स्वतन्त्रताका घटना हुन नदिन मातहतका कार्यालयहरूलाई पनि निर्देश गर्नेछु ।’ दण्डहिनता अन्त्यका लागि पत्रकार र राज्य दुवैले पक्ष सुधार हुनुपर्ने उनको भनाइ थियो । ‘राज्यबाट पनि पूर्णरूपमा प्रेस स्वतन्त्रताको व्यवस्था हुनुपर्छ’ उनले भने, ‘पत्रकारले पनि परिपक्क रूपमा सूचना प्रदान गर्नुपर्दछ ।’
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले दण्डहिनता अन्त्यका लागि एकबद्ध भएर अघि बढ्नुपर्ने बताए । जोखिमको रूपरूप नै दण्डहिनता भएको भन्दै सेजुवालले यसको अन्त्यको लागि सबै निकाय प्रतिबद्ध रहनुपर्ने बताए । ‘नेपाली पत्रकारिताले पनि आफ्नो धर्म निर्वाह गर्नुपर्ने हुन्छ’ सेजुवालले भने, ‘राज्यले पनि यसमा ध्यान दिनुपर्छ ।’ वरिष्ठ अधिवक्ता
कृष्णबहादुर हमालले पत्रकारविरुद्ध हुने दण्डहिनता अन्त्यको लागि राज्यको भूमिका महŒवपूर्ण हुने उल्लेख गरे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता विषयका प्रध्यापक भानुभक्त अधिकारीले दण्डहिनता विषय संवेदनशील भएको भन्दै सबै पक्षहरू नै यसमा सचेत हुन जरुरी रहेको औल्याए । पत्रकारहरूमा पनि भएका कमी कमजोरीहरू सुधार गर्दै लैजानुको साथै यस्ता खालका घटना हुन नदिन राज्यले पनि ध्यान दिनुपर्नेमा उनले जोड दिए । विश्वविद्यालयका प्रधयापक कमलराज लम्सालले राज्यले दण्डहिनता अन्त्यको लागि सबै पक्षमा भएका कमि कम्जोरी सुधार गर्दै अघि बढ्नुपर्ने औंल्याए । अधिवक्ता दुर्गा सापकोटाले राजनीतिक संरक्षणमा दण्डहिनता मौलाएको
बताए । नेकपा एमालेका जिल्ला उपाध्यक्ष अमृत बिसीले पत्रकारमाथि हुने दण्डहिनता अन्त्यको लागि पार्टीको सहयोग रहने बताए । ‘पत्रकारले पनि सत्य र निस्पक्ष सूचना संप्रेसित गर्नुपर्छ’ उनले भने, ‘दलहरूले पनि यस्ता सूचनाहरूको संरक्षण गरिनुपर्छ ।’
नेकपा माओवादी केन्द्रका हरिमाया शर्माले पत्रकार समाजको ऐना भएको भन्दै उनीहरूको संरक्षणको लागि दलहरूको महŒवपूर्ण भूमिका औंल्याइन् । कार्यक्रममा विभिन्न मानव अधिकारकर्मी, सुरक्षा निकायका प्रतिनिधि तथा प्रदेशका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण फ्रिडम फोरम प्रदेश नम्बर ६ का प्रतिनिधि लक्ष्मी भण्डारीले गरेकी थिइन् ।

प्रकाशित मितिः   १५ कार्तिक २०७४, बुधबार १५:४२