देउसी–भैलोको रकम समाजिक कार्यमा

सुर्खेत, ८ कार्तिक ।
गुर्भाकोट नगरपालिकामा रहेको गुर्भाकोट क्लबले यसवर्ष देउसी–भैली खेलेर संकलन भएको रकम समाजिक लगाएको छ । क्लबले देउसी–भैलीबाट जम्मा भएको सो रकम खेलकुद मैदान निर्माण गर्नुको साथै स्थानीय शिव मन्दिर र दुर्गा मन्दिरको पुनर्निर्माणको लागि छुट्याएको छ ।
त्यसैगरी आर्थिक अवस्था विपन्न भएका परिवारको लागि पनि क्लबले रकम प्रदान गरेको छ । यस वर्षको देउसी–भैलीबाट उठेको एक लाख ११ हजार रकम मध्ये २० हजार रूपैयाँ खेलकुद मैदानको लागि छुट्याएको छ । त्यसैगरी स्थानीय दुर्गा र शिव मन्दिरको पुनर्निर्माणको लागि चार÷चार हजार छुट्याइएको क्लबका कोषाध्यक्ष कमानसिंह विकले बताए । यसका साथै स्थानीय बोटेचौर बजारको फोहोर व्यवस्थापनको लागि चार हजार पाँच सय रूपैयाँ छुट्याइएको उनले बताए । सो रकमबाट बजार क्षेत्रमा फोहोर फाल्ने डस्वीनहरूको व्यवास्थापन गर्ने उनले जानकारी दिए ।


बाँकी रकम युवाहरूको क्षमता विकासको लागि छुट्याइएको कोषाध्यक्ष विकले जानकारी दिए । यस क्षेत्रको खेलकुद विकास गर्नुको साथै धार्मिक पर्यटकीय स्थलको विकास गर्ने उद्देश्यले देउसी–भैलीको रकम खेलकुद मैदान र मन्दिरलाई छुट्याइएको अध्यक्ष वीरबहादुर सोनीले बताए । ‘खेलकुद मैदान बनाउनसकेमा यस क्षेत्रको खेलकुद विकास हुने भएकाले मैदान निर्माणको लागि जुटेका छौ’ उनले भने, ‘त्यसैगरी यहाँको धार्मिक मठ मन्दिरको जगेर्ना गरेमा युवाहरूको समुदायमा राम्रो प्रभाव पर्दछ ।’
समाज सेवाका काममा युवाहरूलाई प्रेरित गर्नको लागि देउसी–भैलीको रकम छुट्याएर सामाजिक कार्यमा लगाइएको उनको भनाइ थियो । ‘युवाहरू सामाजिक कार्यमा सहभागी गराएमा समुदायमा राम्रो प्रभाव पार्छ’ उनले भने, ‘जसले गर्दा पछिल्लो पुस्ताले पनि यस्तै कामहरूको सिको गर्दछन् ।’

प्रकाशित मितिः   ९ कार्तिक २०७४, बिहीबार १५:३४