‘क्रिकेट मैदान निर्माण गर्नु मेरो प्रमुख योजना’
वि.सं. २०५५ सालमा स्थापना भएको प्रस्तावित जिल्ला क्रिकेट संघ सुर्खेतले त्यसको करिब एक दशकपछि मान्यता प्राप्त ग¥यो । त्यसयता जिल्लामा नेपाल क्रिकेट संघको कार्यक्रम अनुसारका विभिन्न गतिविधिका साथै स्थानीयस्तरमै प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको संघ पछिल्लो केही वर्षयता भने निस्क्रिय जस्तै छ । यही निस्क्रियताकैबीच मंगलवार सम्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ । सभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । जिल्लाको क्रिकेट विकासको जिम्मेवारी अब केसी नेतृत्वको समितिको काँधमा आएको छ । अध्यक्ष केसी लामो समयदेखि क्रिकेटसँग नजिक रहेर काम गरिरहेका छन् । सुर्खेतमा प्रस्तावित जिल्ला क्रिकेट संघ गठनदेखि नै सक्रिय उनको आगामी योजनाहरूका बारेमा हामीले केसीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, उनीसँगको कुराकानीको सम्पादित अंशः
सुर्खेतमा क्रिकेट खेल र खेलाडीहरूको अवस्था कस्तो छ ?
सुरुवातका वर्षहरूमा एउटा टीम पु¥याउन पनि खेलाडीहरूको अभाव हुने गर्दथ्यो । तर अहिले अवस्था निकै सुधार भएको छ । क्रिकेटमा पछिल्लो समय बालबालिकादेखि युवाहरूको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा क्रिकेट क्लबहरू गठन भएका छन् । विद्यालयस्तरीय तथा क्लबस्तरीय क्रिकेट प्रतियोगिताहरू सञ्चालन हुने गरेका छन् । त्यसैले विगतमा भन्दा अहिले सुर्खेतमा क्रिकेट विकास भएको छ ।
हालसम्म सुर्खेतबाट राष्ट्रियस्तरमा करिब एक दर्जन खेलाडीहरूले विभिन्न उमेर समूहमा सहभागिता जनाइसकेका छन् भने एक जनाले नेपालकै प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी भएका छन् । त्यसैले सुर्खेत क्रिकेटमा सम्भावना बोकेको जिल्ला हो ।
संघले गर्ने कामहरू के–के हुन्, बताइदिनुहोस् न ?
नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक कार्यक्रम अनुसार दिने जिम्मेवारीहरू जिल्ला क्रिकेट संघले पूरा गर्ने गर्दछ भने जिल्लाको अवस्था अनुसार स्थानीयस्तरमै क्रिकेटसँग सम्बन्धित अन्य विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्नेगर्दछ । हामीले पनि जिल्ला क्रिकेट संघकै पहलमा विगतमा हरेक वर्ष विद्यालयस्तरीय र क्लबस्तरीय क्रिकेट प्रतियोगिताहरू आयोजना गर्दै आएका छौं । क्रिकेटको विकास, खेलाडीहरू उत्पादन नै संघको मूख्य जिम्मेवारी हो ।
अहिलेसम्म सुर्खेतमा अपेक्षाकृत रूपमा क्रिकेट गतिविधि सञ्चालन हुन सकेका छैनन्, कारण के होला ?
सबैभन्दा पहिलो कुरा त यहाँ एउटा क्रिकेट मैदान पनि छैन । हामीले कालूञ्चौकस्थित मैदानलाई उपयोग गर्दै आएका छौं तर त्यो पर्याप्त छैन । मैदान नै नहुँदा क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्न सकिदैंन । मैदानकै अभावमा खेलाडीहरूले पनि अभ्यास र प्रशिक्षण गर्न पाउँदैनन् । त्यसैगरी क्रिकेटमा राज्यको लगानी नै कम छ । हामीसँग बजेट नै हुँदैन । केन्द्रबाट पनि बजेट पाउन मुस्किल हुन्छ भने जिल्लास्तरमा रहेका सरकारी निकायले पनि क्रिकेटमा लगानी गर्न मान्दैनन् । यसले गर्दा हामीले खेलकुद गतिविधि अपेक्षाकृत रूपमा सञ्चालन गर्न सकिरहेका छैनौं ।
अर्कोततर्फ यो खेल नै महंगो छ । क्रिकेट खेल्नका लागि एउटा खेलाडीलाई सामान्य रूपमा १० देखि १५ हजार रूपैयाँ खर्च लाग्छ । क्रिकेटका सामग्रीहरू महंगा छन् । यसले गर्दा क्रिकेट खेल्न चाहने सबैले आर्थिक जोहो गर्न नसक्दा खेलबाट टाढा रहने गरेका छन् । त्यसैले मैदानको अभाव, बजेट नहुनु लगायतका कारणले गर्दा जिल्लामा क्रिकेट गतिविधि धेरै हुन सकेको छैन ।
जिल्ला क्रिकेट संघ नै निस्क्रिय भएर पनि गतिविधि भएका हुन् कि ?
एउटा कारण यो पनि हो । नेपाल क्रिकेट संघ नै अहिले विवादमा छ । पछिल्लो दुई तीन वर्षदेखि कुनै प्रतियोगिताहरू गर्न सकेको छैन । राजनीतिकरण हुँदा समस्या भएको छ । त्यसले गर्दा जिल्ला शाखाहरू पनि निस्क्रिय हुन पुगेका हुन् । केन्द्रको समस्या समाधान भएर नियमित कार्यक्रम अनुसार काम गर्ने हो भने क्रिकेटको विकास हुन सक्दछ ।
केन्द्रमा विवाद भए पनि जिल्लामा स्थानीय स्रोतको खोजी गरी संघले काम गर्न सक्दैन र ?
एक त क्रिकेट बुझ्ने मानिसहरू नै कम छन् । बुझेकाहरूले मात्रै यसमा चासो दिन्छन् अरुले दिदैंनन् । विगतमा पनि हामीले विभिन्न क्षेत्रबाट सहयोग लिएर काम गर्न नखोजेका होइनौं । तर स्थानीय स्तरमा सहयोग नै पाइँदैन । जिल्ला विकास समितिले पनि विगतमा हरेक वर्ष फुटबलमा बजेट छुट्याउने गरेको थियो तर क्रिकेटलाई पैसा नै दिदैंनथ्यो । क्रिकेट नबुझेर पनि होला यसमा बजेट दिन मान्दैनन् । त्यसैले गर्दा समस्या भएको छ ।
तपाईंले अब तत्काल गर्ने काम के हुन् ?
सुर्खेतमा एउटा राम्रो क्रिकेट मैदानको आवश्यकता छ । मेरो पहिलो योजना भनेकै क्रिकेट मैदान बनाउनु हो । यसका लागि पहल गर्नेछु । कालुञ्चौकमा रहेको मैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न पहल गर्छु । मैदान भएमा प्रतियोगिता सञ्चालन गर्न पनि सकिन्छ । त्यसैगरी जिल्लामा एउटा क्रिकेट एकेडेमी सञ्चालन गर्ने योजना पनि बनाएको छु । एकेडेमीबाट राम्रा खेलाडीहरू उत्पादन गर्ने सोच छ । त्यसबाहेक अन्य विभिन्न गतिविधिहरू पनि सञ्चालन गर्दै जानेछु ।
सुर्खेतमा क्रिकेटको विकासमा अहिले भएका समस्या र चुनौतीहरू के हुन् ?
मैले अघि पनि भने सबैभन्दा पहिलो समस्या मैदानको हो । त्यसपछि बजेटको समस्या छ । खेलाडीहरूले चाहेर पनि नियमित खेल्न र अभ्यास गर्न पाएका छैनन् । एउटा मात्रै भए पनि राम्रो मैदान बनाउन र प्रतियोगिताहरू सञ्चालनका लागि बजेटको व्यवस्थापन गर्नसक्ने हो भने अरु समस्या सहजै समाधान गर्न सकिन्छ ।
आफ्नो चार वर्षे कार्यकालमा सुर्खेतको क्रिकेटको क्षेत्रमा के परिवर्तन वा सुधार ल्याउन सक्नुहुन्छ ?
सुर्खेत अहिलेसम्म क्षेत्र नम्बर ५ नेपालगन्ज अन्तर्गत रहेको छ । नेपालगन्जमा यहाँभन्दा बढी क्रिकेट गतिविधिहरू हुन्छन् । हामी उनीहरूको छायाँमा पर्दै आएका छौं । त्यसैले अब त्यसको अन्त्य हुनुपर्दछ र त्यसका लागि म पहल गर्नेछु । नेपालगन्ज र सुर्खेत अब छुट्टाछुट्टै प्रदेशमा छन् । अब प्रदेश नम्बर ६ को नेतृत्व सुर्खेतले गर्नेछ । यो प्रदेशमा क्रिकेट संघ भएको एउटा मात्रै जिल्ला सुर्खेत हो । त्यसैले प्रदेशका अन्य जिल्लाहरूमा पनि क्रिकेट संघ गठन गर्नुपर्नेछ । तब मात्रै हामी बलियो हुन सक्दछौं । अब नेपालगन्ज अन्तर्गत रहेर होइन सुर्खेतले प्रदेश ६ को नेतृत्व गरेर राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउनेछ । हामी त्यो वातावरण बनाउन गम्भीर छौं ।
सरकारले पनि प्रदेशस्तरको क्रिकेट मैदान बनाउने योजना घोषणा गरिसकेको छ । यो प्रदेशको राजधानी सुर्खेत हुने भएकाले सुर्खेतमै प्रदेशस्तरको क्रिकेट मैदान बनाउन सरकारसँग समन्वयन गरेर अघि बढ्छौं । मैदान भयो भने क्रिकेट गतिविधिहरू पनि नियमित रूपमा हुन सक्दछन् । त्यसैगरी एकेडेमी सञ्चालन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू सुर्खेतमै उत्पादन गर्ने योजना छ । अब राज्यको मात्रै मुख ताकेर हुँदैन क्रिकेटमा निजी क्षेत्रको लगानी भिœयाउन पनि हामीले पहल गर्नेछौं । हाम्रो कार्यक्रममा सुर्खेतको क्रिकेट विकासमा देखिने गरी नयाँ परिवर्तन हुनेछन् र यहाँको क्रिकेटमा धेरै सुधार भएको हुनेछ ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ ?
जिल्लाको क्रिकेटको विकासका लागि क्रिकेट संघले मात्रै काम गरेर पुग्दैन । यहाँका स्थानीय तह, जनप्रतिनिधि, निजी क्षेत्र र आम नागरिकको पनि साथ र सहयोग चाहिन्छ । सबै क्षेत्रबाट सहयोग भयो भने मात्रै सुर्खेतको क्रिकेटले फड्को मार्ने हो । त्यसैले म सबैसँग क्रिकेटको विकासका लागि सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।
साझा बिसौनी संवाददाता ।