प्रदेश ६ का सात जिल्लामा कसको पल्ला भारी ?
सुर्खेत, ७ कार्तिक ।
पहिलो चरणमा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेश नम्बर ६ का सात वटा जिल्ला समावेश छन् । यो प्रदेशका १० वटा जिल्लामध्ये पहिलो चरणमा डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट र पश्चिम रुकुममा निर्वाचन हुँदैछ । जसमा प्रतिनिधिसभाका ७ र प्रदेशसभाका १४ वटा निर्वाचन क्षेत्र रहेका छन् । यी सबै जिल्लामा प्रतिनिधिसभाका एक÷एक वटा र प्रदेशसभामा दुई÷दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको परिणाम अनुसार यो प्रदेशमा एमालेले २७ तथा कांग्रेस र माओवादी केन्द्रले २५÷२५ स्थानीय तहको नेतृत्व गरिरहेका छन् भने दुई वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । तर पहिलो चरणमा निर्वाचन हुन लागेका सात जिल्लामा रहेका ४९ स्थानीय तहमा भने माआवादी केन्द्र अगाडि छ । माओवादीले २२, एमालेले १३ र कांग्रेसले १२ वटा तथा स्वतन्त्रले दुई वटा स्थानीय तहको नेतृत्व गरिरहेका छन् ।
स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखहरूले प्राप्त गरेको मत विश्लेषण गर्दा सातै वटै जिल्लामा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन बलियो अवस्थामा छ । वाम गठबन्धनभित्र ‘अन्तरघात’ नभएमा सात वटै जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धनले ‘क्लिन स्वीप’ गर्न सक्ने आँकलन एमाले–माओवादी नेताहरूले गरेका छन् । कांग्रेसका नेताहरूले आफूहरू पनि कमजोर नभएको दावी गरिरहे पनि स्थानीय तहको मतपरिणामका आधारमा विश्लेषण गर्दा वाम गठबन्धनलाई तोडेर विजय हाँसिल गर्न कांग्रेसलाई निकै कठिन छ । वाम गठबन्धनको मत प्रभावित गर्न नसक्ने हो भने कांग्रेस नतिजा शून्य हुनसमेत सक्नेछ ।
१. डोल्पा
कूल जनसंख्याः ३६१२८
कूल स्थानीय तहः ८
नगरपालिका संख्याः २
गाउँपालिका संख्याः ६
स्थानीय तहको निर्वाचनमा डोल्पामा कांग्रेस नतिजा शून्य भयो । यहाँका ८ वटा स्थानीय तहमध्ये कांग्रेसले कुनै पनि जित्न सकेन । अबको निर्वाचनमा पनि सोही अनुसार मत आएमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा गठबन्धनका उम्मेदवारको जित निश्चित प्रायः छ ।
प्रदेशसभातर्फ पनि वाम गठबन्धन नै बलियो छ । प्रदेशसभाको क्षेत्र नम्बर १ मा ४ वटा स्थानीय तह छन् । जसमध्ये दुई वटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् भने दुई वटामा एमाले विजयी भएको छ । डोल्पोबुद्ध गाउँपालिका र छार्का ताङसाङ गाउँपालिकामा जितेका स्वतन्त्र उम्मेदवारहरू पनि एमालेमा प्रवेश गरिसकेका छन् । यसकारण पनि यो निर्वाचन क्षेत्रमा एमाले बलियो छ । कतिसम्म भने स्वतन्त्र उम्मेदवारले जितेका दुवै गाउँपालिकामा एमालेका उम्मेदवार नै दोस्रो स्थानमा थिए ।
क्षेत्र नम्बर २ मा पनि वाम गठबन्धन नै बलियो छ । चार वटा स्थानीय तह रहेको उक्त निर्वाचन क्षेत्रका दुई वटामा एमाले र दुई वटामा माओवादी केन्द्रले जितेको छ । एमालेले जितेको स्थानमा माओवादी दोस्रो र माओवादीले जितेको स्थानमा एमाले दोस्रो भएका थिए । त्यसकारण अब हुने प्रदेशसभाको निर्वाचनमा पनि वाम गठबन्धनलाई तोडेर जीत निकाल्न नेपाली कांग्रेसले सजिलो छैन ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं.१ः डोल्पो बुद्ध गापा (स्वतन्त्र ५५३ विजयी, एमाले ३११), छार्का ताङसाङ गापा (स्वतन्त्र ३०७ विजयी, एमाले २८२), काइके गापा (एमाले ९२० विजयी, कांग्रेस ८०), ठूली भेरी नपा (एमाले १४८३ विजयी, कांग्रेस १३६२)
प्रदेशसभा क्षेत्र नं. २ः त्रिपुरासुन्दरी नपा (एमाले १६०९ विजयी, माके ८३७) , मुड्केचुला गापा (माके ९३३ विजयी, एमाले ९३१), जगदुल्ला गापा (माके ५५६ विजयी, एमाले ४३४) शेफोक्सुण्डो गापा (एमाले निर्विरोध)
२. जुम्ला
कूल जनसंख्याः १०८०६६
कूल स्थानीय तहः ८
नगरपालिका संख्याः १
गाउँपालिका संख्याः ७
जुम्लाका चार वटा स्थानीय तह कांग्रेसले जितेको छ । तीन वटा माओवादी केन्द्र र एउटामा भने एमाले विजयी भएको थियो । जसमध्ये प्रदेशसभाको लागि निर्धारण गरिएको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसले जितेका दुई वटा र माओवादी केन्द्रले जितेका दुई वटा स्थानीय तह पर्दछन् । तर चार वटै गाउँपालिकाका अध्यक्षहरूले प्राप्त गरेको मतपरिणामलाई हेर्ने हो भने नेपाली कांग्रेसभन्दा वाम गठबन्धनको मत दोब्बरभन्दा बढी हुन आउँछ ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा भने वाम गठबन्धनलाई कांग्रेसले टक्कर दिन सक्दछ । यस क्षेत्रमा रहेका चार वटा स्थानीय तहमध्ये दुई वटामा कांग्रेस विजयी भएको छ भने एमाले र माओवादी केन्द्र एक÷एक वटामा विजयी भएका छन् ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं. १ः पातारासी गापा (कांग्रेस २३११ विजयी, माके १९२२, एमाले ५७०) चन्दननाथ नपा (कांग्रेस २८०६ विजयी, एमाले २०६६, माके २०१५), गुठीचौर गापा (माके १३९६ विजयी, एमाले १४६७), तातोपानी गापा (माके २३९१ विजयी, एमाले २०७०)
प्रदेशसभा क्षेत्र नं. २ः कनकासुन्दरी गापा (कांग्रेस २११३ विजयी, एमाले १३५०), सिंजा गापा (कांग्रेस १४३० विजयी, माके ११६३, एमाले ११४०), हिमा गापा (माके १३१७ विजयी, एमाले १३१४, कांग्रेस १२२२), तिला गापा (एमाले १७६८ विजयी, माके १७४४)
३. कालिकोट
कूल जनसंख्याः १३६५८७
कूल स्थानीय तहः ९
नगरपालिका संख्याः ३
गाउँपालिका संख्याः ६
कालिकोट पनि वाम गठबन्धन नै बलियो भएको जिल्ला हो । ९ वटा स्थानीय तहमध्ये कांग्रेसले एउटा मात्र जितेको छ भने ५ वटा माओवादी केन्द्र र तीन वटामा एमाले विजयी भएको छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं. १ः महावै गापा (कांग्रेस १३४५ विजयी, माके १२७६), तिलागुफा नपा (माके १८५१ विजयी, कांग्रेस १६८६, एमाले १४८०), खाडाचक्र नपा (एमाले २२०५ विजयी, माके १४६१, कांग्रेस १४२९), कालिका गापा (एमाले २२७४ विजयी, माके १५०२, कांग्रेस ४९६)
प्रदेशसभा क्षेत्र नं. २ः पलाता गापा (माके १४२० विजयी, कांग्रेस ११८३, एमाले ७२४), पचालझरना गापा (माके १६२३ विजयी, कांग्रेस १२२४, एमाले ११०४), रास्कोट नपा (माके २११५ विजयी, एमाले १८३०, कांग्रेस १४२७), सान्नीत्रिवेणी गापा (माके १७३१ विजयी, कांग्रेस २२५५, एमाले ११२३), नरहरिनाथ गापा (एमाले २४६० विजयी, कांग्रेस २२२८, माके २१३७)
४. मुगु
कूल जनसंख्याः ५४८२८
कूल स्थानीय तहः ४
नगरपालिका संख्याः १
गाउँपालिका संख्याः ३
मुगु भने नेपाली कांग्रेस बलियो भएको जिल्ला हो । यहाँका ४ वटा स्थानीय तहमध्ये तीन वटामा कांग्रेस विजयी हुँदा एउटामा एमाले विजयी भएको छ । तर वाम गठबन्धनसँग भिडेर अबको निर्वाचन जित्न भने कांग्रेसलाई सजिलो छैन । प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा रहेका दुवै स्थानीय तह कांग्रेसले जितेको छ । तर एमालेका उम्मेदवारले कडा टक्कर दिएका थिए भने एमाले र माओवादी केन्द्रले प्राप्त गरेको मत कांग्रेसको भन्दा धेरै हुन आउँछ ।
त्यसैगरी क्षेत्र नम्बर २ मा रहेको सोरु गाउँपालिकामा एमालेका उम्मेदवारलाई ३३ मतको अन्तरले पराजित गर्दै कांग्रेस विजयी भएको छ भने खत्याड गाउँपालिकामा २३०७ मत प्राप्त गरी एमाले विजयी हुँदा १९९९ मत ल्याएको कांग्रेस तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको माओवादीले २०२८ मत पाएको थियो । जसलाई आधार मान्ने हो भने यो क्षेत्र पनि वाम गठबन्धनले जित्ने सम्भावना अधिक छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं. १ः मुगुमकार्मारोंग गापा (कांग्रेस ११९३ विजयी, एमाले १०१०), छायाँनाथ रारा नपा (कांग्रेस ३५६० विजयी, एमाले ३४४१)
प्रदेशसभा क्षेत्र नं. २ः सोरु गापा (कांग्रेस १८५४ विजयी, एमाले १८२१, माके १४७७), खत्याड गापा (एमाले २३०७ विजयी, माके २०२८, कांग्रेस १९९९)
५. हुम्ला
कूल जनसंख्याः ४९९३३
कूल स्थानीय तहः ७
गाउँपालिका संख्याः ७
हुम्लाका सात वटा स्थानीय तहमध्ये खार्पुनाथ र सिम्कोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ भने अरु सबैमा माअेवादी केन्द्र र एमाले विजयी भएका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र नम्बर १ मा रहेका चार वटा स्थानीय तहमध्ये तीन वटामा माओवादी केन्द्र र एउटामा एमाले विजयी भएको छ । उक्त नतिजाले यो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारलाई हराउन असम्भव प्रायः देखिन्छ ।
त्यस्तै क्षेत्र नम्बर २ मा भने कांग्रेसले वाम गठबन्धनलाई टक्कर दिन सक्ने क्षेत्र हो । यहाँ रहेका तीन वटा स्थानीय तहमध्ये दुई वटामा कांग्रेस विजयी भएको छ । तीन वटै गाउँपालिकामा कांग्रेसका अध्यक्षका उम्मेदवारले पाएको जम्मा मत तीन हजार दुई सय ५४ छ भने एमाले र माओवादीका उम्मेदवारले पाएको मत चार हजार भन्दा बढी छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं. १ः चंखेली गापा (माके १२२४ विजयी, कांग्रेस १०५५), सर्केगाड गापा (माके १९२० विजयी, कांग्रेस १७७५४,), अदानचुली गापा (एमाले ११८५ विजयी, माके ९८७, कांग्रेस ७८४), ताजाकोट गापा(माके १३६९ विजयी, एमाले ९५१)
प्रदेशसभा क्षेत्र नं. २ः नाख्मा गापा (माके ८३३ विजयी, कांग्रेस ७७९), सिम्कोट गापा (कांग्रेस १३६५ विजयी, माके १२४१, एमाले ८९१), खार्पुनाथ गापा (कांग्रेस १११० विजयी, माके ५३३, एमाले ५१०)
६. जाजरकोट
कूल जनसंख्याः १७०११३
कूल स्थानीय तहः ७
नगरपालिका संख्याः ३
गाउँपालिका संख्याः ४
जाजरकोटमा पनि वाम गठबन्धनलाई रोक्न कांग्रेसलाई निकै गाह्रो छ । यहाँका सात वटा स्थानीय तहमध्ये दुई वटामा कांग्रेस विजयी हुँदा दुई वटामा माओवादी केन्द्र र तीन वटामा एमाले विजयी भएको छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं. १ः बारेकोट गापा (कांग्रेस २१४८ विजयी, माके २१२९, एमाले २१०७), त्रिवेणी नलगाड नपा
(माके ३४१८ विजयी, कांग्रेस २८९८, एमाले २६७४), कुसे गापाको आधा (कांग्रेस २५०८ विजयी, एमाले २०४४, माके १८१५), भेरी नपा (एमाले ४२९२ विजयी, कांग्रेस ३७८७, माके ३४११)
प्रदेशसभा क्षेत्र नं. २ः जुनीचाँदे गापा (माके २७७० विजयी, एमाले २२७४, कांग्रेस १९१८), छेडागाड नपा (एमाले ५१३१ विजयी, कांग्रेस ४३४७, माके २६६८), शिवालय गापा (एमाले २०७३ विजयी, कांग्रेस १८३३, माके १२५०), कुसे गापाको आधा ।
७. रुकुम पश्चिम
कूल जनसंख्याः २०७२९०
कूल स्थानीय तहः ६
नगरपालिका संख्याः ३
गाउँपालिका संख्याः ३
गठबन्धनभित्र अन्तरघात नभएको खण्डमा पश्चिम रुकुमका प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्र वाम गठबन्धनले जित्नेछन् । यहाँका ६ वटै स्थानीय तहमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखहरूले पाएको मत जोड्दा कांग्रेसको भन्दा माओवादी र एमालेको मत दोब्बर छ ।
स्थानीय तहको निर्वाचनमा प्राप्त मत
प्रदेशसभा क्षेत्र नं. १ः आठबीसकोट नपा (माके ५४८९ विजयी, कांग्रेस ३५९६, एमाले २४५९), बाफिकोट गापा (माके ३५६४ विजयी, कांग्रेस २८१३), मुसिकोट नपाका केही वडा (माके ४३५० विजयी, कांग्रेस ४१७४, एमाले २३५८)
प्रदेशसभा क्षेत्र नं. २ः चौरजहारी नपा (माके ५४२० विजयी, कांग्रेस ३२०४, एमाले २२८२), सानीभेरी गापा (माके ४६५० विजयी, कांग्रेस २६१७), त्रिवेणी गापा (माके ३९५८ विजयी, कांग्रेस २६६३, एमाले ६५२) मुसिकोट नपाका केही वडा ।
साझा बिसौनी संवाददाता ।