स्तरोन्नति नहुँदा गाउँका सडक जीर्ण

सुर्खेत, ७ कार्तिक ।
दुई दशक पुरानो हुर्के–बराहताल सडक अहिलेसम्म जीर्ण अवस्थामा छ । वर्षातको समयमा उक्त सडकमा सवारी साधन नै सञ्चालन हुन सक्दैनन् । सडक निर्माण सुरु भएको वर्षौ बितिसक्दा पनि सडकले पूर्णता पाउनसकेको छैन भने अहिलेसम्म ग्राभेल समेत गरिएको छैन ।

यस्तै वर्षातमा अवरुद्ध भएको पश्चिम सुर्खेतको लगाम, बेतान र बिजौरा जोड्ने सडक मर्मत गर्न स्थानीय युवाहरू नै अघि सर्नुप¥यो । सम्बन्धित निकायले समयमै सडक मर्मत नगर्दा र लामो समयदेखि स्तरोन्नति नहुँदा नागरिकले वर्षेनी सास्ती खेप्दै आएका छन् ।


त्यसैगरी वीरेन्द्रनगरदेखि नै पूर्वी सुर्खेतका विभिन्न स्थानलाई जोड्ने धुलियाबिट–भेडाबारी सडक पनि जीर्ण अवस्थामा नै रहेको छ । वर्षौं पूरानो उक्त सडकको स्तरोन्नति हुन सकेको छैन । जसले गर्दा त्यस क्षेत्रका नागरिकले उक्त सडकबाट अपेक्षाकृत सुविधा लिन पाएका छैनन् ।
उल्लेखित तीन वटा सडक त उदाहरण मात्रै हुन्, जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश सडकको अवस्था यस्तै छ । सडक सुधार र मर्मतका लागि भन्दै वर्षेनी बजेट छुट्याउने गरे पनि सडकको अवस्था भने सुधार हुन नसकेको नागरिकहरूले गुनासो गर्ने गरेका छन् । उनीहरूका अनुसार वर्षेनी बजेट विनियोजन गर्ने गरिए पनि पर्याप्त बजेट एकै पटक नआउँदा उक्त बजेटले अपूर्ण काम हुने गरेको छ । एकै पटक पर्याप्त बजेट छुट्याएर सडकको स्तरोन्नति गर्नुपर्ने स्थानीयबासीहरूको माग छ ।

चौकुने गाउँपालिका–२ का पदमबहादुर थापाले सम्बन्धित निकाय र स्थानीय राजनीतिक दलका नेतृत्वको बेवास्ताकै कारण लगामदेखि बिजौरा जोड्ने सडक सुधार हुन नसकेको बताउँछन् । सम्बन्धित सरकारी कार्यालयको गैरजिम्मेवारिपन र राजनीतिक नेतृत्वको बेवास्ताका कारण आफूहरूले वर्षेनी सास्ती भोग्नु परेको भन्दै उनले सडकको स्तरोन्नति तत्काल गर्न आग्रह गरे । स्थानीयस्तरबाट पटक–पटक गाउँपालिका र सडक डिभिजन कार्यालयमा समेत सडकको अवस्थाबारे जानकारी गराउँदा समेत मागको सुनुवाइ नभएको र बेवास्ता गरिएको थापाले बताए ।

ग्रामीण क्षेत्रमा रहेका अधिकांश सडक एकतर्फी छन् । ट्रयाक मात्रै खोलिएका सडकमा ग्राभेल हुन सकेको छैन भने नाली समेत छैनन् । जसले गर्दा वर्षात्को समयमा ती सबै सडकमा थप क्षति हुने गरेको छ । यसरी वर्षातको पानी र भेलले क्षति पु¥याएको सडक मर्मतमा मात्रै वर्षेनी लाखौं बजेट सकिने गरेको छ । तर यसरी गरिएको मर्मत पनि स्तरीय नहुँदा सडकको अवस्था सधैं जीर्ण हुने गरेको स्थानीयवासीहरू बताउँछन् ।
पश्चिम सुर्खेतका अधिकांश सडकको अवस्था जीर्ण छ । कर्णाली राजमार्ग अन्तर्गत वीरेन्द्रनगरदेखि बड्डिचौरसम्मको सडक कालोपत्रे गरिएको छ । त्यसैगरी बड्डिचौरदेखि बाबियाचौर जोड्ने सडक कालोपत्र गरिएको भए पनि अझै समस्या रहेको नागरिकले बताएका छन् । त्यसबाहेकका पश्चिमका सबै सडक कच्ची छन् । धुलाम्मे सडकमा जोखिमपूर्ण तरिकाले जीप, ट्रयाक्टरलगायतका सवारी साधन सञ्चालन गर्ने गरिएको छ । कतिपय सडकमा भने बस नै सञ्चालन गरिएको छ । तर कच्ची सडकमा सवारी साधन सञ्चालन गर्दा यात्रा जोखिमपूर्ण हुने गरेको सवारी चालकहरूले बताउने गरेका छन् । कच्ची सडककै कारण सवारी साधनमा समेत क्षति हुने गरेको उनीहरूले बताएका छन् ।

ग्रामीण क्षेत्रका अधिकांश सडक कच्ची र जीर्ण हुँदा पनि सम्बन्धित निकाय र त्यस क्षेत्रका जनप्रतिनिधिहरूले सडकको स्तरोन्नति गर्न चासो नदिएको भन्दै स्थानीयबासीहरूले गुनासो गरेका छन् । उनीहरूले जति सक्दो छिटो ग्रामीण क्षेत्रका कच्ची सडकलाई मर्मत र स्तरोन्नति गर्न माग गरेका छन् ।

प्रकाशित मितिः   ८ कार्तिक २०७४, बुधबार १५:०९