आफन्त र छिमेकीबाटै ‘तिरस्कार’
दैलेख, ८ कार्तिक ।
आठबीस नगरपालिकाको राकमकर्णालीस्थित जाक्सी गाउँ निवासी नानीदेवी शाही हिजोआज एचआईभीसँग लडिरहेकी छन् । उनलाई एचआईभी संक्रमण भएको १० वर्ष भयो । उनका श्रीमान् मजदुरीका लागि भारत जान्थे । भारतमा असुरक्षित यौन सम्पर्क गरेका कारण एचआईभी संक्रमित भएपछि उनको मृत्यु भइसकेको छ । नानीदेवीले श्रीमान्को मृत्यु भएको पाँच वर्षपछि मात्र आफूलाई पनि संक्रमण भएको जानकारी पाइन् । उपचारमा हालसम्म उनले आफ्नो खेतबारी बेचिसकेकी छन् ।
बाँच्नका लागि संघर्ष गरिरहेकी उनले भनिन्,‘धन कमाउन गएका श्रीमान्ले, एचआईभी पनि बोकेर ल्याएछन् । आफू पनि बाँचेनन्, मलाई पनि मर्नु न बाँच्नुको अवस्था बनाए ।’ उनका देवरको पनि एचआईभी एड्सका कारण मृत्यु भइसकेको छ । ‘रोग लागेको थाहा पाएपछि आत्महत्या गर्ने सोच बनाएँ, तर छोराछोरीको भविस्य हेरेर सम्हालिएँ’ उनी भन्छिन्, ‘श्रीमान्ले धोका दिए, म यिनै सन्तानको मुख हेरेर बाँचेकी छु । अहिले नियमित औषधि खाएकी छु, तर समाजको अगाडि शीर ठाडो पारेर हिँड्न सक्ने अवस्था छैन ।’ श्रीमान्को गल्तीका कारण आफूले गाउँमा अपहेलना र तिरस्कारको सजाय भोग्नुपरेको उनले सुनाइन् ।
जाक्सीकै ६३ वर्षीया धनसरा माझीको पीडा पनि कम छैन । उनले आफू एचआईभी संक्रमित भएको थाहा पाएको पनि १० वर्ष बित्यो । मजदुरीकै क्रममा उनका श्रीमान्को भारतमै मृत्यु भयो । एड्सकै कारण उनका श्रीमान्ले ज्यान गुमाए । श्रीमान्को मृत्युपछि उनी लामो समयसम्म बिरामी भइन् । नेपालगन्जमा परीक्षण गर्दा उनमा पनि संक्रमण भएको खुल्यो । ‘एचआईभी भएको सुन्दा छाँगाबाट खसेजस्तै भएँ, तर पनि सजाय काटिरहेकी छु’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘गल्ती श्रीमान्ले गरे, सजाय मैले भोगिरहेकी छु । अहिले समाजले हेंला गर्छ, मान्छेहरू पनि मलाई देख्दा टाढा भाग्छन् ।’
स्थानीय ३५ वर्षीया लक्ष्मी कार्कीलाई पनि एचआईभी संक्रमण भएको नौ वर्ष बित्यो । उनकी पाँच वर्षीया छोरीलाई पनि एचआईभी संक्रमण भएको छ । श्रीमान्लाई संक्रमण भएपछि आफूलाई पनि संक्रमण भएको उनले बताइन् । उनले भनिन्, ‘घरमा बसेर खान पुग्दैन, श्रीमान् कमाउनका लागि भारत जानुहुन्थ्यो । उहाँले उतैबाट रोग ल्याउनु भएछ, मलाई पनि सार्नुभयो ।’ अहिले पनि उनका श्रीमान् भारतमै ज्याला मजदुरी गर्छन् । आफूहरूलाई संक्रमण भएको केही वर्षपछि छोरी जन्मिएको र छोरी पनि संक्रमित भएको उनले सुनाइन् । ५३ वर्षीया ज्वाला माझी एचआईभी सक्रमित भएको १५ वर्ष भयो । श्रीमान् बितेको तीन वर्षपछि मात्र आफूलाई
पनि संक्रमण भएको थाहा भएको उनले बताइन् । आँखाबाट आँसु झार्दै उनले भनिन्, ‘के पाप गरेकी थिएँ र मैले ? यो सजाय भोग्दै छु । छिमेकीले मेरो चप्पल पनि छुँदैनन्, रोग सल्किन्छ भनेर सबैजना मबाट टाढा भाग्छन् ।’
गरिबी मुख्य कारण
गाउँमा अचेल महिलाहरूको बाहुल्यता छ । पुरुषहरू मजदुरीका लागि भारत पसेका छन् । धन कमाउन गएका पुरुषहरू गाउँमा फर्कदा धन मात्र ल्याउँदैनन् । एचआईभी पनि सँगै लिएर फर्कन्छन् । जसको परिणाम गाउँका महिलाहरू पनि संक्रमित हुन पुगेका छन् । गरिबीसँग लड्दै आएका महिलाहरू हिजोआज एचआईभीसँग पनि जुधिरहेका छन् । स्थानीय महिलाहरूका अनुसार छाक टार्ने उपाय गाउँमा छैन । त्यसैले पुरुषहरू रोजगारीका लागि भारतका विभिन्न सहरमा पस्न बाध्य छन् ।
धन कमाउने आशमा भारत पसेका पुरुषहरू घरमा आउँदा एचआईभी पनि बोकेर आउँछन् । असुरक्षित व्यवहारका कारण पुरुषहरूले श्रीमतीलाई पनि एचआईभी सार्छन् । लामो समयसम्म परदेशमा बस्दा पुरुषहरूले असुक्षित यौन सम्पर्क गर्ने र एचआईभी संक्रमणको शिकार हुने गरेका छन् । जसको परिणाम उनीहरूले घरमा आउँदा श्रीमतीलाई पर्ने सार्न पुग्छन् । गाउँमै छाक टार्ने उपाय नहुँदा पुरुषहरू मजदुरीका लागि मुग्लान पस्न बाध्य छन् । अहिले पनि ग्रामीण क्षेत्रका अधिकांश पुरुषहरू भारत पसेका छन् ।
बाबुको मुख देख्न पाएनन्
धेरै पुरुषहरू सन्तानको उज्वल भविष्यको लागि भन्दै भारतमा पसिना बगाउन गए । भारतका सहरमा पसिना बगाउन गएका मध्ये धेरैलाई एचआईभी संक्रमण भयो । जसमध्ये अधिकांशको मृत्यु भइसकेको छ । गाउँमा उनीहरूका श्रीमती र सन्तान मात्र बाँकी छन् । लापरबाही र असुरक्षित व्यवहारका कारण केही बालबालिकाहरू पनि संक्रमति बनेका छन् ।
ती मध्ये धेरैले आफ्ना बाबुको मुखसमेत देख्न पाएनन् । एचआईभीका कारण बाबुको मृत्यु भइसकेकाले पनि धेरै बालबालिकाले बाबुको अनुहार नै देख्न नपाएको अवस्था छ । अचेल गाउँमा जन्मिदै एचआईभी संक्रमण भएका बालबालिकाहरूको संख्या पनि धेरै छ । जसले बाबुको अनुहार पनि राम्रोसँग देख्न पाएनन् । कतिपय बालबालिकाहरू अभिभावकविहीन नै बनेका छन् ।
स्थानीय सरकारसँग अपेक्षा
संक्रमितहरूले अब स्थानीय सरकारसँग आफ्नो जीवन रक्षाको अपेक्षा गर्न थालेका छन् । रोगसँग लड्ने प्रतिरक्षा शक्ति बढाउन नियमित रूपमा एआरटी औषधि सेवन गर्नुपर्ने हुन्छ । तर आर्थिक अभाव र भौगालिक विकटताका कारण समस्या भइरहेको पीडितको गुनासो छ ।
आफूहरूको स्वास्थ्य कमजोर बन्दै गएको भन्दै उनीहरूले अब स्थानीय सरकारले नै एआरटी औषधि उपलब्ध गराउनुपर्ने माग गरेका छन् । हाल जिल्ला अस्पतालमार्फत् औषधि वितरण हुने गरेको छ । तर पीडितहरूले सदरमुकामसँग पुग्न र बास बस्न समस्या हुने गरेको बताए । यसका लागि स्थानीय सरकारले नै औषधि उपलब्ध गराउनुपर्ने भन्दै उनीहरूले आफ्नो जीवन रक्षाको माग गरेका हुन् ।
एउटै नगरमा ८७ जना संक्रमित
जिल्लामा एचआईभी संक्रमितको संख्या वर्षेनी बढ्दै गएको छ । जिल्लाभरमा संक्रमितको संख्या बढ्दै गएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । जिल्लाको आठबीस नगरपालिकाभित्र मात्र ८७ जना एचआईभी संक्रमित रहेका छन् । यहाँका अधिकांश पुरुषहरू मजदुरीका लागि भारत जाने भएका कारण पनि संक्रमणको दर बढी भएको हो । नगरपालिकाका उपप्रमुख दीपा बोहोराले नगरका विभिन्न वडामा ८७ जना संक्रमित रहेका जानकारी दिइन् । नगरपालिकाका अनुसार उनीहरूलाई सहज रूपमा नियमित औषधि सेवन गराउनका लागि पहल गरिनेछ ।
पोषण भत्ताको व्यवस्था
एचआईभी भएका र एआरटी औषधि सेवन गर्दै आएकाहरूका लागि भत्ताको व्यवस्था गरिने भएको छ । आठबीस नगरपालिकाले नगरमा रहेका संक्रमितहरूका लागि सन्तुलित भोजन भत्ता उपलब्ध गराउने भएको हो । यसका लागि नगरपालिकाले नीतिगत निर्णय भइसकेको जनाएको छ ।
एचआईभी संक्रमित भएका व्यक्तिहरूले नियमति रूपमा एआरटी सेवन गर्नुपरेका कारण शारीरिक रूपमा कमजोर हुने गरेका छन् । यस्तो समस्यालाई समाधानका लागि भन्दै नगरपालिकाले पोषण भत्ता दिने निणर्य गरेको हो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले गरेको प्रतिबद्धता अनुसार नगरसभाबाट नीतिगत रूपमा सन्तुलित भोजन भत्ता प्रदान गर्ने निणर्य गरिएको हो । संख्यात्मक रूपमा दैलेखको सबैभन्दा बढी एचआईभी संक्रमण भएका व्यक्तिहरू रहेको आठबीस नगरपालिकाले सन्तुलित भोजन भत्ता प्रदान गर्न लागेको हो ।
नगरपालिकाले वडा नम्बर ३ मा एचआईभी पीडित महिलाहरूका लागि ५० हजार रकम विनियोजन गरेको छ । यस्तै वडा ४ मा संक्रमतिलाई लक्षित गर्दै आकस्मिक कोष स्थापना गरिएको छ । यसका लागि एक लाख ५० हजार रकम विनियोजन गरिएको छ । नगरपालिकाले वडा नम्बर ७ मा एचआईभी पीडित तथा एकल महिलाका लागि दुई लाख रकम विनियोजना गरेको छ ।
(क्रियाशील पत्रकार मञ्च नेपालका लागि)
प्रकाशित मितिः ९ कार्तिक २०७४, बिहीबार १५:३६
साझा बिसौनी संवाददाता ।