युवा नेतामा उत्साह

mainnewsसाझा बिसौनी संवाददाता
सुर्खेत, ३१ वैशाख ।
सरकारले आगामी मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेसँगै राजनीतिमा सक्रिया युवापुस्तामा उत्साह छाएको छ । आफ्नो नीति तथा कार्यक्रममार्फत् सरकारले आगामी मंसिरभित्र स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेसँगै युवा नेताहरू उत्साहित भएका हुन् ।
स्थानीय निकायको निर्वाचन नभएको १९ वर्ष पुगेको छ । पछिल्लो पटक वि.सं. २०५४ सालमा स्थानीय निकायको निर्वाचन भएको थियो । त्यतिबेला भर्खर राजनीतिमा प्रवेश गरेका व्यक्तिहरू युवावस्था पार गर्ने अवस्थामा पुगिसकेका छन् । पार्टीभित्रको अन्तरिक संरचनामा बाहेक उनीहरूले नेतृत्व र क्षमता विकासका अवसर नै पाएका छैनन् । स्थानीय निकायको निर्वाचन नहुँदा उनीहरूले जनताको प्रतिनिधि भएर काम गर्ने अवसर गुमाए । एकातर्फ पार्टीभित्रको गुटगत राजनीति र अर्कोतर्फ जनतासँग उनीहरूको प्रतिनिधिको रूपमा काम गर्ने अवसरबाट वञ्चित भएको पुस्ता जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन हुनुपर्ने अपेक्षामा छन् । सरकारले नीति तथा कार्यक्रममार्फत् नै मंसिरभित्र निर्वाचन गर्नेगरी सम्बोधन गरेपछि उनीहरूमा उत्साह जागेको हो ।
मंसिरभित्रै स्थानीय निकायको निर्वाचन गराउने सरकारको तयारी स्रहानीय र स्वागत योग्य रहेको बताउँछन् नेकपा एमाले सुर्खेतका सचिव मोहन बडुवाल । स्थानीय निकायको निर्वाचन अत्यावश्यक भइसकेको भन्दै उनले जतिसक्दो छिटो गर्नुपर्ने बताए । जनता र राजनीतिमा सक्रिय नेता दुवै पक्षका लागि स्थानीय निकायको निर्वाचन उत्तिमै आवश्यक र महŒवपूर्ण रहेको बडुवालको
तर्क छ । ‘स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको दुई दशक पुग्न लागिसक्यो, जनताहरूले स्थानीय तहदेखि नै आफ्नो नेता र प्रतिनिधि छान्न पाएका छैनन्’ उनले भने, ‘यता राजनीतिमा सक्रिय युवाहरूले पनि आफूलाई जनताबाट परीक्षण गराएर नेतृत्व विकास गर्ने अवसर गुमाएको छन् ।’
स्थानीय निकायको निर्वाचन भएको खण्डमा राजनीतिमा लाग्न चाहने युवापुस्ताले अहिलेदेखि नै आफूलाई जनताकोमाझबाट परिस्कृत गरेर केन्द्रीय नेतृत्वमा पुग्नसकेमा मुलुकले नै सही नेतृत्व पाउने अवस्था आउने बडुवालको धारणा छ । यद्यपि लामो समयदेखि निर्वाचन नहुँदा यो अवसर गुमेको उनले तर्क गरे । ‘दुई पटक संविधानसभाको निर्वाचन त भयो तर त्यसले केही निश्चित र पुरानै व्यक्तिहरूलाई मात्र समेट्यो, पछिल्लो पुस्ता त्यसमा सहभागी हुन पाएनन्, त्यसैले उनीहरूलाई अहिलेदेखि नै जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउने माध्यम स्थानीय निकाय नै हो ।’
एकीकृत नेकपा माओवादी सुर्खेतका उपाध्यक्ष कृष्ण जिसी स्थानीय निकायको निर्वाचन जनतालाई आफ्नो प्रतिनिधि चिन्ने र चुन्ने अवसरका साथै राजनीति गर्नेहरूलाई आफू परिस्कृत हुन पाउने अवसर भएको बताउँछन् । उनले स्थानीय निकायको निर्वाचन जनता र राजनीति गर्ने दुवैका लागि आवश्यक रहेको बताए ।
नेपाली कांग्रेस सुर्खेत क्षेत्र नं. २ का सभापति नारायण कोइराला पनि आवश्यक तयारी पूरा गरेर जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गराउनुपर्ने बताउँछन् । ‘यति लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुनु हाम्रो विडम्बना हो’ कोइरालाले साझा बिसौनीसँग भने, ‘आवश्यक तयारी पूरा गरेर जतिसक्दो छिटो निर्वाचन गर्ने र स्थानीय निकायलाई जनताले आफै चुनेका प्रतिनिधिहरूबाट सञ्चालन गर्ने वातावरण
बनाउनुपर्दछ ।’
स्थानीय निकायको निर्वाचन जतिसक्दो छिटो हुनुपर्ने भए पनि मंसिरभित्रै हुनेमा पनि सबै विश्वस्त हुन सकेको छैनन् । एमाओवादीका जिसी अहिलेको सरकारले मंसिरभित्रै निर्वाचन गर्नेमा आफै ढुक्क नभएको बताए । ‘निर्वाचन गर्नेपर्छ, यो अपरिहार्य आवश्यकता हो’ उनले भने, ‘तर यो सरकारले नीति तथा कार्यक्रममा भने जस्तै मंसिरभित्रै गर्नसक्ने अवस्था छैन ।’ अहिलेकै अवस्थामा निर्वाचन गर्न सकिने उनी बताउँछन् । राज्यको पुनर्संरचना गर्ने चरणमा भएका बेला पुरानै संरचनालाई कायम राखेर निर्वाचन गर्न नहुने उनको तर्क छ । यद्यपि यो समस्यालाई सुल्झाएर निर्वाचनमा जानुको विकल्प नभएको जिसीले बताए । प्रदेश, गाउँपालिका र नगरपालिकाको टुङ्गो लगाएर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने धारणा छ, कांग्रेसका कोइरालाको पनि । उनले मंसिरभित्रै सम्भव नहुने तर एक दुई महिना ढिला भए पनि नयाँ संरचना अनुसार नै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।

प्रकाशित मितिः   १ जेष्ठ २०७३, शनिबार १०:५५