बाढीले बगाउँदा दुई जनाको मृत्यु

साझा बिसौनी संवाददाता
सुर्खेत, ३१ वैशाख ।
अकस्मात भएको वर्षासँगै आएको बाढीले बगाउँदा सुर्खेतमा दुई जनाको ज्यान गएको छ । जिल्लाको पूर्वी गाविस काफलकोट निवासी दुई जना किशोरीको बाढीले बगाउँदा ज्यान गएको हो । स्थानीय सिर्पा खोलामा आएको बाढीले उनीहरूलाई बगाएको थियो ।
काफलकोट–३ निवासी १९ वर्षीया हिमा बुढा र २० वर्षीया विपना बुढाको बाढीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कक्षा १२ को परीक्षा सकेर घर फर्कने क्रममा उनीहरूलाई बिहीवार साँझ बाढीले बगाएको
थियो । छिमेकी गाविस बजेडीचौरमा रहेको भानु उच्च मावि परीक्षा केन्द्रमा परीक्षा सकेर आफ्नो घर फर्कने क्रममा उनीहरूलाई बाढीले बगाएको
थियो । बाढीले बगाउँदा बेपत्ता भएका उनीहरूको शव शुक्रवार दिउँसो फेला परेको हो ।
ज्यान गुमाउने हिमा र विपना सानीमा र भतिजी रहेको उच्च मावि बजेडीचौरका शिक्षक रुद्र केसीले जानकारी दिए । बिहीवार अन्तिम दिनको परीक्षा सकेर घर फिर्ता हुने क्रममा उनीहरूलाई बाढीले बगाएको थियो । एक्कासी भएको वर्षासँगै खोलामा आएको बाढीले उनीहरूलाई बगाएपछि उनीहरूको स्थानीय गाउँलेले खोजी गरेका थिए । बाढीमा बेपत्ता भएका उनीहरूको शव शुक्रवार फेला परेको केसीले बताए । यसैबीच प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको छ ।

प्रकाशित मितिः   १ जेष्ठ २०७३, शनिबार १०:५०