खाद्यमा सुर्खेत आत्मनिर्भर

सुर्खेत, ३० असोज ।
सुर्खेत जिल्ला खाद्य सुरक्षामा आत्मनिर्भर रहेको पाइएको छ । ३७ औं विश्व खाद्य दिवसको अवसरमा जिल्लास्थित सरोकारवालाहरूसँग वीरेन्द्रनगरमा गरिएको संवाद कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले खाद्यमा सुर्खेत जिल्ला आत्मनिर्भर रहेको जानकारी गराएको हो ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय सुर्खेतका खगेन्द्रबहादुर खत्रीले सुर्खेत जिल्ला खाद्यमा आत्मनिर्भर नै रहेको जानकारी गराएका थिए । जिल्लाको २०७४ सालको प्रक्षेपित जनसंख्या तीन लाख ६ हजार तीन सय ६ रहेको बताउँदै उनले आवश्यक पर्ने कूल खाद्यान्न ७७ हजार ६ सय ६० रहेकोमा कूल उत्पादन खाद्यान्न एक लाख ३२ हजार एक सय ४५ मेट्रिकटन रहेको जानकारी दिए । उनले सुर्खेत जिल्लामा उत्पादन हुने मुख्य खेती वालीमा धान, मकै, गहुँ, कोदो र जौ रहेको बताए ।
जिल्ला खाद्य सञ्जाल सुर्खेतको आयोजना, फियान नेपाल बाँकेको सहयोग र जागरण एफएमको सहजीकरणमा सोमवार वीरेन्द्रनगरमा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला खाद्य सञ्जालका सदस्य राजेन्द्र बुढा, शशी आचार्य, पशु सेवा कार्यालयका कृष्णप्रसाद पंगेनी, वाम संस्था सुर्खेतका दिनेश गौतम लगायत जिल्लास्थित सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३१ आश्विन २०७४, मंगलवार १६:०६