सडक दुर्घटनाका कारण र रोक्ने उपाए

दुई गन्तव्यहरू जोड्ने भौगोलिक फासलालाई सडक भनिन्छ । यातायातका साधनहरूमार्फत् यात्रा सहज बनाउने पूर्वाधारका अरु साधनहरूको ओसार–पसार तथा खाद्य तथा अन्य ठोस पदार्थहरूको निकासी पैठारीका लागि अति आवश्यक माध्यम हो सडक । सडकमा गुड्ने बस, माइक्रोबस, साइकल, मोटरसाइकल ट्रक ट्याकटरहरूलाई सडक यातायातका साधन भनिन्छ । वस्तुभाउको आदान–प्रदान र मानिसहरूको आवत–जावतको लागि सडक यातायात सरल र भरपर्दो सञ्जाल हो । नेपालमा भौगोलिक दुरता र सुगमता अनुरूप तराई, पहाड र हिमालमा सडक यातायात र यसको अवस्था तथा साधनहरूमा विभिन्नता रहेको छ । लिच्छविकालीन इतिहासदेखि नै नेपालमा ‘लिङबल’ अड्डाको स्थापना गरी कुलो र यातायातको विकास थालनी भए पनि वि.सं. १९९६ सालदेखि नेपालमा सार्वजनिक यातायातको थालनी भएको पाइन्छ । देशमा यातायात र सडकको विकासक्रम जुन क्रम र गतिमा भए पनि सडक यातायात भने नेपालको लागि मध्यमस्तरको पूर्वाधार हुनसक्छ र अरु पूर्वाधार विस्तारका लागि सहयोगी पनि यातायात हुनसक्छ ।


पृष्ठभूमि
हाम्रो देश हिमाल, पहाड र तराई गरी ३ किसिमको भौगोलिक विविधतामा विभाजित छ । समुद्री सतहको ५९ मिटरदेखि ६०० मिटरसम्म अवस्थित भूमि समथर र समानान्तर झुकावको छ । यहाँ नेपाल भारत जोडने ट्रेन सेवा सञ्चालनका साथै बस, माइक्रोबस, टाटा, साइकलजस्ता सवारीको तीब्र चाप हुने गरेको छ । सडक सञ्जाल विस्तार गर्न सहज भएकै कारण तुलनात्मक रूपमा अरु भौगोलिक क्षेत्रभन्दा तराइमा यातायात विकासको गति तीव्र र केही गतिलो हुनु स्वभाविक पनि हो । सडक निर्माण पूर्वानुमान पनि सहज हुने गरेका कारण निर्माण लागत कम भइ बढी फाइदा र अधिक सामाजिक लाभ प्राप्त हुने गरेको छ । सडकलाई वैज्ञानिकमर्मत्, बसाइँ व्यवस्थापन, उचित ढल निकास, कलभर्टको व्यवस्था, विद्युत खम्बाहरू व्यवस्थित नगरिनु यस क्षेत्रका प्रमुख समस्या हुन् । भिरालो झुकावयुक्त जमिनको ढाल भएको ६०० मिटरदेखि ३३०० मिटर उचाइमा अवस्थत पहाडी क्षेत्र हो । उचाइले मुख्यत नेपालको भौगोलिक अवस्थतिमा भिन्नता ल्याएको छ । भिराला किसिमका चुुरे र महाभारत पर्वत श्रेणीका चुचुरा र पर्वतहरू, पहिरो जाने, कंकड पत्थर अनि बालुवायुक्त डाँडापाखाहरू, घुम्ती मोडहरू, भन्ज्याङ उतार–चढाव यस भूगोलको सडक यातायातका मुख्य विशेषताहरू हुन् । हालसालै खोलिएका ट्रयाक, घुम्तीयुक्त छुचा साँघुरा सडक बाटाहरू, मौसमी तथा खहरे खोलाबाट प्रभावित हुने, नियन्त्रित सडक, सडक ढल निकास सुविधा नहुने, बाटैमा पसल र गाइवस्तुको गोठ, ओत अनि मलखाद, घरवारीको ठोस पदार्थ सडकमा मिल्काउने, घरबाट निस्किने ढलपानी सडकमा सोल्याउने अविवेकी प्रवृत्ति आदि यावत पहाडि सडकका अवरोध र समस्याहरू हुन् । भर्खरै ग्राभेलिङ ग्रामीण सडकहरूमा नालीकुलो नराखिदा बर्खायाममा ती खोला र बगरमा परिणत हुने तथा हिलाम्य हुने गरेका छन् । सडकमा काठढुङ्गा मिल्काउने, बाख्रा, कुखुरा, सुँगुर पाठा छोड्ने गलत प्रवृतिले पनि सडकलाई अव्यवस्थित, कुरूप र खतराउन्मूख बनाउँदै लगेको छ, यसबाट सिर्जना हुने भनेकै दुर्घटना र मानवीय धनजनको क्षति हो ।
उल्लिखित कारणहरूले सिर्जित सडक ब्यवधानले हाम्रो देशमा दिनानुदिन ठूला किसिमका सडक दुर्घटना र क्षति हुने गरेको छ । भोगौलिक दूरावस्था र कठिनाइका अतिरिक्त मानवीय, संस्थागत र राजनीतिक, सन्दर्भ र परिवेश पनि सडक दुर्घटनाका ठूला कारणहरू बन्ने गरेका छन् । सवारी साधन अनुमति पत्र वितरणमा कडाइ नहुने, भौगोलिक अवस्था अनुरूप तालिम परीक्षण नगरिने, सवारी सहचालकले चलाउने, सडकको अवस्था र साधनको क्षमता विपरित यात्रु सवार गर्ने, गराउने, ट्राफिक प्रहरीलाई छल्ने भनसुन गर्ने, फकाउने, ट्राफिक नियम, संकेत र संरचनाको हेक्का नराखी तीव्र गतिमा गाडी हुइकाउने, अस्वस्थ प्रतिस्पर्धा, मदिरा सेवन, अनुशासन, जिम्मेवारिपन र दायित्वको ख्याल नगर्ने जस्ता यावत अरु हिमाली र पहाडी इलाकामा सडक दुर्घटनाका कारकहरू बनिरहेका छन् । यकातिर यी राजनीतिक कारणसँगै केही संस्थागत र प्राविधिक कमीकमजोरीहरू पनि भेटिन्छन् । निर्माणका क्रममा प्राविधिकहरूले न्यूनतम लागतमा गुणस्तरीय र भरपर्दो अनुकूल प्रक्षेपण नगरिनु, समयमै सडक विस्तार र फराकिलो नबनाउने, सडकहरूमा नाली र आवश्यकता अनुरूप कलबर्ट नहर, छेकबार नगर्ने, स्पष्ट र वैज्ञानिक संकेतीकरण नहुने, ठेकादारले निर्माणको काम, तोकिएको लागत, गुणस्तर, नाप नक्सा, र समयमा नसक्ने, अब्बल कच्चा पदार्थको प्रयोग नगर्ने, समय–समयमा प्राविधिक र इन्जिनियरहरूमार्फत् अनुगमन मूल्यांकन र निरीक्षण नगरिदिने अझ भनौं सामाजिक लाभ र हितभन्दा निजी स्वार्थमा सरोकारवाला लाभिनु इत्यादि समस्या विद्यमान छन् । पुराना पिच सडकहरू भत्केर मर्मत नहुँदा धुलाम्य छन् भने नयाँहरू समयमै पिच नहुँदा खाल्डाखुल्डी, हिलाम्य र अस्त–व्यस्त छन् ।
अन्त्यमा
दशैं, तिहार, छट जस्ता मुख्य चाडपर्व, जात्रा, मेला र भेला आदि बेलामा स्वभाविक रूपमा सडक चाप बढी हुन्छ । स्वभावतः मानिस स्वार्थी प्राणी हो भन्दा अत्योक्ती नहोला । अरुभन्दा एक कदम अगाडि हुनखोज्नु, छिटो चाँडो गन्तव्यमा पुग्न चाहनु, मानिसका प्राकृतिक प्रवृत्तिनै हुन् । यसैले पनि सवारी सञ्चालक मात्र नभइ सवार हुने यात्रु पनि दुर्घटनाका जिम्मेवार हुने गरेका छन् । बरु केही ढिलै किन नपुगियोस, भयमुक्त र सुविधायुक्त तवरले गन्तव्यमा पुग्नु उत्तम र कम जोखिमपूर्ण हुन्छ र भवितव्य धनजनको क्षतिको सिकारबाट बाँच्न र बचाउन सकिन्छ । त्यसैले त दुर्घटना र क्षति न्यूनीकरण गर्न यात्रु चालकवर्ग दुवैको उत्तिकै जिम्मेवारी हुन्छ । यसका लागि व्यक्ति, परिवार र समाजस्तरमा एकाएक शिक्षत भइ व्यवहारिक हुन जरुरी छ । यसलाई सम्भव तुल्याउन शिक्षा प्रणलीको आधारभूत तहमा यी कुरा मिसाउनु पर्दछ । राजनीतिक स्वार्थ र व्यक्तिगत हितभन्दा माथि उठेर जो कोहिले पनि सामाजिक लाभलाई प्राथमिकता दिनुपर्दछ ।
अब भौगोलिक अवस्थिति अनुरूप उच्च पहाड हिमालमा हवाइ यातायातको सञ्जाल विस्तार गर्ने, साँघुरा सडक फराकिला बनाउने सडक निर्माण र मर्मत गर्दा शिक्षा, स्वास्थ्य, विद्युत सञ्चार, वाणिज्य, उद्योग, कच्चा पदार्थ आदिको क्षेत्र विस्तार र संगठनमा ध्यान राख्ने इन्जिनियरले सडक पूर्वानुमान नापजाँच गर्दा वैज्ञानिक रूपमा सरल र मितव्ययी सडक बनाउने कि, रुट प्रमिट, साधन अनुपति पत्र आदि व्यवस्थापकीय पक्षहरू चुस्त दुरुस्त र पारदर्शी बनाइ माथि उल्लिखित समस्याहरू समावेश गर्दै नीति निर्माण र कार्यान्वयन गरेमा अवश्य दुर्घटना न्यूनीकरण गर्न सकिन्छ । प्राविधिकहरूले प्रक्षेपण गर्दा होस् या ठेकेदार कम्पनी वा निर्माण व्यवसायीले निर्माण, हस्तान्तरण अनि मर्मत सम्भार गर्दा सार्वजनिक खरिद ऐन नियमावली र प्रचलित कानुनको अक्षरस पालन गनुपर्दछ साथै दशैं तिहार जस्ता यात्रु चाप बढ्ने सिजनमा साधनहरूको वैकल्पिक थप व्यवस्था गर्ने, उच्च ट्राफिक निगरानी, पुरान थोत्रा सवारी साधन र सडकको नियमित मर्मत सम्भार, सवारी आगमन प्रस्थानको समयपालना र नियमितता, पैसा कमाउने होडबाजीको अन्त्य गर्नुपर्दछ । यसो गर्न सकेमा पक्कै पनि हर्ष उमंग मौलाउने चाडवाडका बेलामा दुर्घटना र क्षतिका हृदयविदारक तिता समाचारहरू अवश्य कम हुनेछन् । घटना र भैपरी आउने भवितव्य दुर्घटनाको अघि वा पछि मानवीय संवेदनशीलतालाई भने उच्च प्राथमिकता दिनुपर्दछ जुन मानवीय कर्म र साँचो धर्म पनि हो ।
(लेखक सडक डिभिजन कार्यालय सुर्खेतमा कार्यरत छन् ।)

प्रकाशित मितिः   ३१ आश्विन २०७४, मंगलवार १६:०५