प्रत्यक्षमा महिलालाई ‘अविश्वास’

सुर्खेत, २९ असोज ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि राजनीतिक दलहरूले जिल्लाबाट उम्मेदवार सिफारिस गरिसकेका छन् । सिफारिसमा परेकाहरू यतिबेला टिकटका लागि राजधानीमा पुगेर नेता रिझाउने काममा व्यस्त छन् । निर्वाचनको मिति नजिकिंदै जाँदा पुरुषहरूकै चलखेल र चहलपहल नै बढी देखिएको छ ।
दलहरूले समानुपातिकतर्फ केही संख्यामा महिलाको नाम पनि केन्द्रमा सिफारिस गरे । तर प्रत्यक्षतर्फका लागि महिलाहरूको नाम उम्मेदवारमा सिफारिस हुन सकेन । महिला सहभागिताको वकालत गर्ने दलहरूले नै प्रत्यक्षतर्फको निर्वाचनका लागि महिलालाई विश्वास गर्न सकेनन् । जिल्लाका प्रमुख दलहरूले नै महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउने आँट गरेनन् । ठूलो कसरत गर्दा पनि प्रत्यक्षमा एउटा पनि महिला सिफारिस गर्न पार्टी नेतृत्व तयार नभएको भन्दै दलहरूकै महिला संगठनहरूले चिन्ता व्यक्त गरेका छन् ।

सुर्खेतबाट प्रत्यक्षतर्फ महिला निर्वाचित नहुने लगभग पक्का भएको छ । उम्मेदवारमा नै सिफारिस हुन नसकेपछि महिलाको उपस्थिति अब नहुने भएको हो । दलभित्रै टिकट हत्याउँन पुरुषहरूबीच नै कडा कसरत भएपछि महिलाहरूले उम्मेदवारीका लागि दाबी नै गर्न सकेनन् । महिलालाई केवल समानुपातिकतर्फ मात्र सीमित गरिएको छ । सुर्खेतमा अहिले प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार वटा निर्वाचन क्षेत्र छन् । प्रत्यक्षतर्फ जिल्लामा रहेका ६ सीट मध्ये उम्मेदवारका लागि महिला सिफारिसमा नै परेका छैनन् । माओवादी केन्द्रले प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ मा पञ्चा सिंहको नाम सिफारिस गरेको छ । यो बाहेक जिल्लाबाट प्रत्यक्षमा महिलाको नाम नै सिफारिसमा पर्न सकेन ।
जिल्लाका प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीले नै प्रत्यक्षतर्फको उम्मेदवारमा महिलालाई अविश्वास गरेका छन् । निर्वाचनमा उम्मेदवार बन्नका लागि महिलाहरूले आकांक्षा नदेखाएका होइनन् । प्रत्यक्षका लागि उम्मेदवार बन्नका लागि हारगुहार गर्दा पनि पार्टीले आफूहरूलाई अविश्वास गरेको महिलाहरूको गुनासो छ । समानुपातिकको कार्ड देखाएर आफूहरूलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिसमा नै पार्टीबाट सहयोग नभएको महिला संगठनका नेताहरू बताउँछन् । जिल्लामा मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले प्रत्यक्षतर्फ मात्र होइन, समानुपातिकतर्फ पनि नगन्य मात्रामा महिलाको नाम केन्द्रमा पठाए ।
‘पार्टीभित्र प्रत्यक्षमा चुनाव लड्ने महिलाहरू नै नभएका होइनन्, साथीहरूले आकांक्षा पनि राख्नुभएको थियो’ एमाले निकट अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मोहनमाया ढकालले भनिन्, ‘तर पार्टी नै महिलालाई उम्मेदवार बनाउन तयार भएको देखिएन, एक जना महिलाको नाम प्रस्ताव गर्ने आँट पनि कसैले गरेनन् । पार्टीमा योग्य र क्षमतावान महिलाहरूको कुनै कमी छैन, तर पनि महिलालाई समानुपातिकमा मात्र सीमित गरियो ।’ जिल्लाका ६ वटा सीट मध्ये एउटामा मात्र भए पनि महिलालाई उम्मेदवार बनाउन पहल गर्दा सफल नभएको उनले बताइन् । उनले भनिन्, ‘महिलाहरूमा पनि उत्साह देखिएन, बरु धेरैले समानुपातिकमा नै सुरक्षित देखेर त्यतै इच्छा देखाउनुभयो । पार्टीले पनि महिलाहरूलाई
उत्प्रेरणा दिन सकेनन्, महिलाहरू उम्मेदवारमा सिफारिस हुन नसक्नु नै मुख्य चुनौती हो ।’
‘पार्टीले महिलालाई पटक्कै विश्वास गरेन, अहिले पनि पुरुषवादी चिन्तन हावी छ’ कांग्रेस निकट नेपाल महिला संघका जिल्ला अध्यक्ष पार्वती गिरीले भनिन्, ‘महिलाले चाहना राखेर मात्र नहुने रहेछ, दलीय प्रणालीमा पार्टीको निर्णय नै अन्तिम हुन्छ । धेरै महिलाले प्रत्यक्षमा दावी गरेका थिए, तर हाम्रो पार्टीले एक जना महिलालाई पनि उम्मेदवार बनाउने आँट गरेन ।’ अहिले पनि महिलाहरूको आत्मवल कमजोर बनाउने काम नेतृत्वबाटै हुने गरेको भन्दै उनले महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर नदिनु दुःखद् भएको बताइन् । पार्टीभित्र कम्तीमा प्रदेशको एउटा सीटमा महिला उम्मेदवार बनाउनका लागि कसरत गरेको स्मरण गर्दै उनले नेतृत्वले महिलालाई विश्वास नै नगर्ने समस्या रहेको उल्लेख गरिन् ।
संविधानको बाध्यकारी व्यवस्था बाहेक अन्य पदमा महिलालाई उम्मेदवार बनाउनेतर्फ दलहरू लचिलो देखिएनन् । जसले गर्दा जिल्लाबाट प्रत्यक्षतर्फ पुरुषहरू मात्र उम्मेदवारमा सिफारिस भएका
छन् । माओवादी केन्द्र निकट अनेमसंघ क्रान्तिकारी प्रदेश नम्बर ६ का संयोजक हरिमाया शमाले भनिन्, ‘हामीसँग पार्टीमा योगदान गरेका र क्षमतावान महिलाहरू छन्, तर प्रत्यक्षतर्फको उम्मेदवारका लागि उनीहरूको नाम नै आएन । रुची देखाएको महिलाहरूको नाममा नेतृत्व सहमत हुन सकेन, यद्यपि हामीले एक जना महिलाको नाम प्रत्यक्षमा सिफारिस गरेका छौं ।’
महिलालाई जिम्मेवारी दिने बेलामा नेतृत्वले अहिले पनि आनाकानी गर्ने समस्या सबै दलमा रहेको उनको भनाइ छ । यही कारणले गर्दा जिल्लामा महिलाहरू प्रत्यक्षतर्फको उम्मेदवार बन्नसक्ने अवस्था नभएको उनले बताइन् । जिल्लाका सहकारी, उपभोक्ता समूह र दलका अधिकांश कमिटी पनि महिलाले नै धानेका छन् । राजनीतिक नेतृत्व र चुनावमा टिकटका लागि आफूहरूलाई उपेक्षा गरिएको भन्दै महिलाले असन्तुष्टी व्यक्त गरेका हुन् ।

प्रकाशित मितिः   ३० आश्विन २०७४, सोमबार १६:२५