कोटवाडा फर्केनन् ‘चीलगाडी’

कालिकोट, २७ असोज ।
वर्षौैंपछि आँगनमै जहाज (चीलगाडी) अवतरण गर्दा उनीहरूमा खुशीको सीमा नै रहेन । कालिकोटको कोटवाडास्थित सुनथराली विमानस्थलमा जहाज हेर्न गाउँलेहरू जम्मा भए । अघिल्लो वर्षको माघ २९ गते कोटवाडामा पहिलो पटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । वर्षौंसम्म जहाज चढ्न त के, नजिकबाट देख्नसमेत नपाएका उनीहरूले आँगनबाटै चीलगाडी चड्न पाइने सपना पनि बुने ।
नौ महिना बित्यो । तर हालसम्म पनि फेरि जहाज अवतरण नभएपछि स्थानीय बासिन्दा निराश बनेका


छन् । करिब ३१ वर्ष लगाएर निर्माण गरिएको उक्त विमानस्थलमा गत वर्षको माघमा परीक्षण उडान गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पहलमा तारा एयरको जहाज सफल अवतरण भएको थियो । परीक्षण उडान सफल भएपछि कोटवाडामा नियमित उडानको घोषणा पनि भयो । तर परीक्षण उडानले हर्षित बनेका स्थानीयले त्यसपछि भने आँगनमा जहाज नै देख्न पाएका छैनन् ।
जिल्लामा रहेको एकमात्र यो विमानस्थल सदरमुकाम मान्मदेखि करिब पाँच घण्टाको पैदल दूरीमा रहेको छ । सडक यातायातको पहुँच नपुगेको कोटवाडा आसपासका बासिन्दा निराश हुने नै भए । परीक्षण उडान सफल भएको नौ महिनासम्म पनि नियमित उडान हुनसकेको छैन । जसका कारण आँगनबाटै जहाज चढ्ने कालिकोटबासीको रहर अधुरै रहेको छ । ‘पोहोर माघको महिना चीलगाडी गाउँमै आयो, हामी सबै हेर्न गएका थियौं’ कोटवाडाकी मृगा विष्टले भनिन्, ‘आँगनबाटै चढ्न पाउने भयौं भनेर खुशी भएका थियौं, हाम्रो रहर अधुरै रह्यो । त्यही एकदिन मात्र आयो, त्यसपछि त चीलगाडी फर्केरै आएनन् ।’ उनले अचेल जहाज आकाशमा मात्र उडेको देख्ने गरेको सुनाइन् । आँगनमै विमानस्थल हुँदा पनि पैदल हिँड्नुपर्ने बाध्यता नहटेको भन्दै स्थानीयले गुनासो पोखे ।
स्थानीय बासिन्दा हिरामणी उपाध्याय भन्छन्, ‘गाउँमा न सडक पुगेको छ न त विमानस्थल नै संचालन भयो । परीक्षण उडानपछि जहाज फर्केर आएका छैनन्, हाम्रा दुःखका दिन कहिलेसम्म रहने हुन खै ?’ जहाज नियमित सञ्चालनमा आएपछि जिल्लाबाहिर आवत–जावत गर्न सजिलो हुने अपेक्षा गरेका स्थानीयहरू यतिबेला जहाजको पर्खाइमा छन् । नियमित उडान नभएपछि बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म लैजानुपर्ने बाध्यता छ । यतिबेला कालिकोटको आकाशबाट मात्र जहाज उडेर अन्यत्र गएको दृश्य हेरेर स्थानीयले मन बुझाउने गरेका छन् । परीक्षण उडान भएको दृश्य स्थानीयको मनबाट हटेको छैन् । एक वर्ष पुग्नै लाग्दा पनि जहाज नआएको भन्दै स्थानीय गणेशकुमार विष्टले आफूहरूमाथि अन्याय भएको बताए । साथै उनले चाँडो नियमित उडान सुरु गर्न आग्रह गरे ।
चिहानमाथि खुशी पर्खदैं स्थानीय
यो विमानस्थल निर्माणका क्रममा १६ वर्षअघि ३६ जना कामदारको एउटै चिहान भयो । विमानस्थल निर्माणमा खटिएका कामदारमाथि माओवादीको आरोप सेनाले आक्रमण गरेको थियो । सोही क्रममा ३६ जना मजदुरले ज्यान गुमाए । उनीहरू सबैको चिहानमाथि यो विमानस्थल बनेको छ ।
२०५८ फागुन १५ गतेको त्यो पीडलाई स्थानीयले भुल्न सकेका छैनन् । तर त्यही चिहानमाथि गत वर्ष चीलगाडी अवतरण गर्दा स्थानीयको पीडा हल्का भयो । उनीहरूले जहाज अवतरण भएसँगै आफ्ना खुशीका दिन फिर्ता भएको अनुभूति गरे । सेनाले मजदुरमाथि गोली हानेर हत्या गरेपछि मृतकलाई विमानस्थलको छेउमा एउटै खाल्डोमा पुरिएको थियो । कोटवाडाबासीका लागि दुःखको त्यो दिनलाई २०७३ साल माघ २९ गतेको दिनले बिर्सायो पनि । तर, परीक्षण उडान भएको नौ महिना बितिसक्दा पनि फेरि जहाज गाउँमा अवरतण नभएपछि उनीहरू दुखी बनेका हुन् । ३१ वर्षपछि परीक्षण उडान हुँदा खुशी भएका अनुहारहरू यतिबेला पुनः मलिन बनेका छन् । चिहानमाथिको त्यही विमानस्थलमा नियमित जहाज अवतरणको पर्खाइमा स्थानीय बासिन्दा रहेका छन् ।
विमानस्थलमा २६ करोड खर्च
कर्णालीका पाँच जिल्ला मध्ये कालिकोट बाहेक अन्य जिल्लाका विमानस्थल सञ्चालनमा छन् । तर कालिकोटमा भने एकमात्र सुनथराली विमानस्थल लामो प्रयासपछि निर्माण गरिएको छ । यद्यपि यसलाई सञ्चालनमा ल्याउन सकिएको छैन । करिब ३१ वर्ष लगाएर निर्माण भएको यो विमानस्थलमा हालसम्म २६ करोड रूपैयाँ खर्च भएको छ ।
२०४२ सालबाट यो विमानस्थलको निर्माण थालिएको थियो । देशमा चलेको शसस्त्र युद्धका कारण निर्माणको काममा ढिलाइ भएको थियो । लामो प्रयासपछि निर्माण गरिएको विमानस्थलमा हालसम्म २६ करोड रकम खर्च भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । समयमै काम सम्पन्न गर्न तत्कालीन पर्यटनमन्त्री शाहीले पटक–पटक अनुगमन र छड्के गरेका थिए । बल्लतल्ल निर्माणको काम भएको विमानस्थल सञ्चालनमा आउन नसक्दा स्थानीयले दुःख व्यक्त गरेका छन् ।
नियमित उडान सुरु गर्न माग
कोडवाडा क्षेत्रमा अहिले पनि सडकको पहुँच छैन । भौगोलिक रूपमा विकट रहेको यो जिल्लामा हवाइ सेवा एक मात्र भरपर्दो विकल्प हो । तर स्थानीय बासिन्दा पैदल हिँड्न बाध्य छन् । निर्माण सम्पन्न भएको र परीक्षण उडान पनि सफल भइसकेको अवस्थामा तत्काल नियमित उडान सुरु गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।
सरकारले विमानस्थल सञ्चालनमा चासो नदिएको गुनासो जिल्लाका राजनीतिक दलहरूले गरेका छन् । साथै उनीहरूले तत्काल विमानस्थल सञ्चालनका लागि सामूहिक दबाब दिने जनाएका छन् । एमाले कालिकोटका अध्यक्ष नेशनल शाहीले भने, ‘पहिला विमानस्थलको काम नै सुस्त भयो, बल्लबल्ल परीक्षण उडान भएको थियो । नियमित उडान सुरु हुन सकेन, अब सरकारले तत्काल नियमित उडानमा ध्यान दिन जरुरी छ ।’ आफू पर्यटनमन्त्री हुँदा जीवनबहादुर शाहीले विमानस्थल सञ्चालनका लागि निकै मेहेनत गरेका थिए । परीक्षण उडानपछि उनले तत्काल नियमति सञ्चालनको समेत वचन दिएका थिए ।
तर सरकार परिवर्तनपछि नियमित उडानको प्रक्रिया पनि अलपत्र परेको हो । यद्यपि आफू मन्त्री नभए पनि यो विमानस्थल नियमित सञ्चालनका लागि पहल जारी राख्ने शाहीले बताउँदै आएका छन् । यसका लागि जिल्लाका राजनीतिक दलहरू एकमत भएर दबाब दिनुपर्ने उनी बताउँछन् । स्थानीय बासिन्दाले आफूहरूको एक मात्र माग नियमित उडान भएको बताएका छन् । जिल्लामा पुग्ने सरकारी अधिकारी र दलका नेताहरूलाई स्थानीय बासिन्दाले नियमित उडानको माग गर्ने गरेका छन् । पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु दुःखको भएको उनीहरूको गुनासो छ ।

प्रकाशित मितिः   २८ आश्विन २०७४, शनिबार १६:१८