‘विवाह भएका दश महिनापछि बोल्यौं’

अहिलेको यो समाज भन्दा पहिलेको त्यो समाज भिन्दै थियो । जुन समाजमा अरुका सामु श्रीमान्÷श्रीमती एक आपसमा बोले भने पनि त्यसलाई सहज रूपमा लिइदैंन थियो । त्यसैले पनि विवाह गरेको महिनौं तथा वर्षौ भइसक्दा पनि श्रीमान् श्रीमतीले एकअर्काेलाई नजिकबाट चिन्ने अवसर कमै हुन्थ्यो । संस्कार र परम्परालाई मान्नकै लागि पनि श्रीमान् श्रीमती भएर पनि नजिकबाट एकआपसमा कुरा गर्न सक्ने आँट हुँदैनथ्यो । नन्दलाल शर्मा र लक्ष्मी शर्मा पनि विवाह भएको १० महिनापछि मात्र बोल्न थालेका थिए । एक त समाज नै श्रीमान् श्रीमती बोलेको देख्दा कुरा काट्ने थियो भने अर्कोतर्फ यो जोडी एक आपसमा कुरा गर्न पनि लाज मान्थे ।


पिता ज्योतीखर जैसी र माता धनसरा जैसीको कोखबाट २०३२ सालमा जाजरकोटमा जन्मिएका नन्दलाल शर्माको बाल्यकाल दुःखदायी नै बित्यो । शर्मा ६ भाइबैनी मध्येका जेठा छोरा थिए । बाल्यकालमा सबैसँग मिलनसार स्वभावका शर्मा आठ वर्षको उमेरबाट गाउँकै स्कुलमा कक्षा पाँचसम्म पढे । कक्षा ६ देखि आठसम्म जनप्रिय मावि जाजरकोटमा पढेका शर्माले कक्षा १२ पास भने दैलेखबाट गरे । बाल्यकालदेखि नै सामाजिक सेवामा लाग्नु पर्छ भन्ने सोचाइ भएका शर्माले विद्यार्थीकालदेखि विद्यार्थी राजनीतिबाट सामाजिक सेवामा प्रवेश गरे । २०४६ सालदेखि राजनीतिमा प्रवेश गरेका शर्माले जेल जीवनसमेत बिताइसकेका छन् ।
शर्माको आमा सिकिस्तै बिरामी परिन् । शर्मा घरको जेठा छोरा भएकाले घरको सबै जिम्मेवारी उनको काँधमा थियो । आमा नै बिरामी भएपछि शर्मालाई झन् आपत आइलाग्यो । अब उनले नचाहेर पनि बिहे गर्नैपर्ने भयो । उनले गाउँकै एक जना केटी देखेका थिए । उनले रूप, पढाइ, धन केही हेरेका थिएनन् । उनलाई आफ्नो घर राम्रोसँग सम्माल्न सक्ने जीवनसाथी चाहिएको थियो । उनी स्कुल जाँदा बाटोमा देखेको केटी अरु कोही नभएर लक्ष्मी थिइन् । उनलाई लक्ष्मीमा घर सम्माल्न सक्ने क्षमता देखेका कारण उनी लक्ष्मीको हात माग्न एक्लै उनको घरमा गए । लक्ष्मीको बुबाआमाले नन्दलाललाई चिनेका र पढेलेखेको केटा भनेर लक्ष्मीको विवाह शर्मासँग गरिदिने निर्णय गरे । लक्ष्मी बिहे गर्दा भर्खर १५ वर्षकी थिइन् । उनलाई बुबाआमाले जहाँ दियो त्यही बिहे गर्नुपर्छ भन्ने सोचेर उनी पनि बिहेको लागि राजी भइन् । उनीहरूको २०५५ सालमा मागी विवाह भयो ।
शर्माले लक्ष्मीलाई बिहे गरेको एक महिनामा नै उनका आमाको मृत्यु भयो । त्यसपछिको सबै जिम्मेवारी लक्ष्मीमा नै आइप¥यो । साना साना देवर नन्दको हेरचाह, स्याहार सुसारदेखि घरको सबै जिम्मेवारी लक्ष्मीले सानै उमेरमा नै सम्हाल्नुप¥यो । बिहे गरेको आठ महिनामा शर्मा जेलमा परे । त्यसपछि लक्ष्मीको जीवनमा झन् कष्ठ आइप¥यो ।
एक त बिहेपछि छोरी र बुहारी हुनुको धेरै फरक अनुभव लक्ष्मीले लिइसकेकी थिइन् । माइतीमा ६ भाइबहिनीबैनी कान्छी छोरी सबैको माया ममतामा हुर्किएकी बिहेपछि घरमा सबैको जिम्मेवारी लिनुपर्दा दुःख त थियो । माइतीमा छोरी भएर बस्दा र बिहेपछि बुहारीको रूपमा भूमिका निभाउन गाह्रो नै हुन्छ । लक्ष्मीले ती सबै चुनौतीलाई सहज रूपमा कटाइन् । माइतीमा बाबुआमासँग झगडा गरे नि काम नगरेनी हुने तर बिहेपछि बिहान उठेदेखि साँझ नसुतेसम्म काम गर्नुपर्ने । आफन्तसँगको नातालाई पराइ बनाउँदै पराइसँगको नातालाई आफ्नो बनाउनुपर्ने यो सबै छोरीहरूको लागि गाह्रो कुरा नै हो । झन् लक्ष्मीलाई त सबै घरक सम्माल्ने जिम्मेवारी नै थियो । लक्ष्मीले अरु छोरीहरूको जीवन भन्दा पृथक रूपमा कटाइन् ।

पिता कविलाल जैसी र माता मोतीसरा जैसीको कोखबाट २०४० सालमा जन्मिएकी लक्ष्मीको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालमा धेरै नबोल्ने, शान्त र मिलनसार स्वभावकी थिइन् । घरको काम, मेलापात, गोठालो गर्दैमा उनको बाल्यकाल बित्यो ।
बिहेपछि नन्दलाल र लक्ष्मी एकआपसमा १० महिनासम्म बोलेनन् । जब बोले तब उनीहरूको माया विस्तारै झागिदैं गयो । त्यसैले पनि यो जोडीको झगडा ठूलो रूपमा भएको छैन । श्रीमान्–श्रीमती भएपछि सामान्य रूपमा झगडा हुनु स्वभाविकै मान्ने यो जोडी आफूहरूको भने अहिलेसम्म झगडा गरेर बोली बाराबार नगरेको बताउँछन् ।
दुःख–सुखसँगै बिताएका यो जोडी जाजरकोटबाट २०५७ सालमा बसाइँ–सराइँ गरेर सुर्खेत आए । शर्मा राजनीतिमा लागेका कारण घरमा भन्दा बढी समय बाहिर नै बिताउने गर्छन् । उनी अहिले वीरेन्द्रनगर वडा नम्बर ११ को वडा अध्यक्षको रूपमा नवनिवार्चित जनप्रतिनिधि हुन् । उनी यहाँसम्म पुग्नको लागि लक्ष्मीको ठूलो हात र सहयोग रहेको बताउँछन् । भन्छन्, ‘मलाई राजनीतिमा सफल बनाउन मेरो श्रीमतीको ठूलो हात छ, उनले मेरो घरव्यवहार सबै नधानेको भए आज म यो स्थानमा पुग्न सक्ने थिएन ।’ त्यसैले जीवनमा जीवनसाथीको महŒव पनि धेरै छ । जीवनलाई सफल र सही मार्गमा हिँडाउनको लागि जीवनसाथीको आवश्यकता पर्दछ । जीवनसाथी भनेको जीवनको हरेक सुख दुःखमा साथ दिने साथी हुन् । जीवनसाथी भन्दा माथी कोही हुँदैन । जो साथीसँग कसैसँग सेयर गर्न नसकेको कुरा शेयर गर्न सकिन्छ । जीवनमा आइपर्ने हरेक सुख दुःख बिसाउन सक्ने चौतारी हुन् ।
सम्बन्धलाई सुमधुर बनाउन र दिगो बनाउनका लागि एक आपसमा विश्वास र समझदारी हुनुपर्ने यो जोडीको भनाइ छ । सानो–सानो कुरा लुकाउँदा र शंका गर्दा सम्बन्धमा दरार उत्पन्न हुने यो जोडीको भनाइ छ । सम्बन्धमा यस्तो दरार उत्पन्न हुन नदिन श्रीमान्–श्रीमतीबीचमा सानो कुरा पनि शेयर हुन जरुरी हुन्छ । एकअर्काेमा देखिएका गल्ती सच्याउन सक्ने तप्परता भयो भने सम्बन्ध दिगो हुन्छ । यो जोडी एकअर्काेको प्रशंसा पनि खुलेरै गर्छन् । शर्मालाई लक्ष्मीको आफू बाहिरबाट जस्तो अवस्थामा जति बेला पुगे पनि नरिसाउने बानी मनपर्ने गर्छ । त्यस्तै लक्ष्मीलाई शर्माको सबै बानी मनपर्ने गर्छ । शर्मा धेरै समय बाहिर हुने भएकाले लक्ष्मीलाई घरको काममा सघाउन पाउँदैनन् । तर पनि लक्ष्मीलाई शर्मा सामाजिक काममा लागेकोमा सुखी लाग्छ ।
उनीहरूको अनुसार विवाह र प्रेम फरक कुरा हुन् । प्रेम जोसँग पनि हुनसक्छ । साथीभाइ, आफन्तदेखि वस्तुसँग पनि प्रेम हुनसक्छ । तर, विवाह एक जनासँग हुन्छ । विवाह अघिको प्रेम भन्दा विवाह पछिको प्रेममा फरक हुन्छ । प्रेम हुँदैमा विवाह नै हुन्छ भन्ने हुँदैन तर विवाह पछि प्रेम अनिवार्य हुन्छ । विवाह अघि गरिने प्रेममा स्वार्थ पनि हुनसक्छ विवाह पछि गरिने प्रेम सहयोगी हुन्छ । यो जोडी भन्छन्, ‘समाजमा उदाहरणीय जोडीको रूपमा आफूलाई स्थापित गारउने हो भने पहिला सम्बन्धलाई सुमधुर बनाउन जरुरी छ ।’

प्रकाशित मितिः   २८ आश्विन २०७४, शनिबार १६:१५