सिम्तामा सेवाप्रदायक निकायसँग अन्तरक्रिया

सुर्खेत, २६ असोज ।
सुन्दर नेपाल संस्थाको आयोजनामा सेवा प्रदायक निकायहरूसँग कानुन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिहीवार सिम्ता गाउँपालिकामा सम्पन्न भएको छ । रोलर युएनडीपीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्वारा सञ्चालित न्यायमा पहुँच परियोजना अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यमान कानुनमा भएका व्यवस्था तथा महिला अधिकारको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेलले बताइन् । कार्यक्रममा बालविवाह, बहुविवाह,घरेलु हिंसा तथा संविधानमा उल्लेखित महिला अधिकार र मुलुकी ऐनको बारेमा छलफल गरिएको थियो ।
कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले विद्यमान कानुन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । उनले बालविवाह न्यूनीकरणका लागि विशेष अभियान चलाउने बताए । कार्यक्रममा सिम्ता गाउँपालिकका कार्यकारी अधिकृत जनक हमाल, स्वास्थ्यचौकीका गणेश वली, कृषि शाखाका प्रमुख उमेश चौधरी, सिम्ता गाउँपालिकाका एकदेखि नौ वटै वडाका वडा अध्यक्षहरू लगायत ३७ जनाको सहभागिता रहेको थियो । न्यायमा पहँुच परियोजनाका कार्यक्रम संयोजक रमा प्याकुरेल, जेसी अफिसर उमा भट्टराईले कार्यक्रमको सहजीकरण गरेको परियोजनाका ऋषि पौडेलले जानकारी दिए ।
यसैगरी सिम्ता गाउँपालिकाका दक्षिणकाली नागरिक सचेतना केन्द्रका सदस्यहरूलाई मानव अधिकार तथा संविधानमा उल्लेखित महिला अधिकारको बारेमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा महिला हिंसा तथा मानवअधिकारको बारेमा छलफल गरिएको थियो ।

प्रकाशित मितिः   २७ आश्विन २०७४, शुक्रबार १५:५३