पञ्चपुरी फुटबल कप सुरु

पञ्चपुरी, २५ असोज ।
प्रथम पञ्चपुरी खुल्ला फुटबल कप प्रतियोगिता बुधवारदेखि बावियाचौरमा सुरु भएको छ । बावियाचौर स्पोर्ट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले उद्घाटन गरेका हुन ।


जिल्लाको पश्चिम क्षेत्रमा लुकेर रहेका फुटबल खेलाडीहरूको प्रतिभा बाहिर ल्याउने र नयाँ खेलाडीहरू उत्पादन गर्नका लागि बावियाचौर स्पोर्ट क्लबले तिहारको अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।
बुधवारदेखि सुरु भएको प्रतियोगिता कात्तिक १ गतेसम्म सञ्चालन हुनेछ । २० वटा क्लबहरूले प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता गराएका छन् । प्रतियोगितामा प्रथम टिमलाई ७५ हजार, द्वितीयलाई ३२ हजार, तृतीयलाई २५ हजार रूपैयाँ बराबरको उचित पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष क्षितिज थापाले जानकारी दिए ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले नगरपालिकाले पनि खेलकुदलाई प्राथमिकतामा राखेको बताए । उनले पञ्चपुरीका ११ वटा वडामा खेलकुदका आवश्यक सामग्रीहरू प्रदान गर्ने, प्रत्येक वडामा खेलमैदानको व्यवस्थापन गरी निकट भविष्यमा पञ्चपुरीलाई फुटबलको खानीका रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । थापाले राष्ट्रियस्तरका खेलाडीहरू उत्पादन गर्ने लक्ष्यका साथ नगरपालिकाले खेल गतिविधि सञ्चालन गर्नेसमेत जनाए । उक्त कार्यक्रममा प्रत्यक्ष उपस्थिति हुन नसके पनि फोनबाट सम्बोधन गर्दै सूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टले खेलाडीहरू राष्ट्रका गहना भएको भन्दै पश्चिम सुर्खेतको खेलकुद विकासमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   २६ आश्विन २०७४, बिहीबार १५:३६