प्रदेश नम्बर ६ का जिल्लामा एमालेले कति सीट माग्यो ?

सुर्खेत, २४ असोज ।
केन्द्रमा माओवादी केन्द्र र नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल भएपछि एमाललेले प्रदेश नम्बर ६ मा आफ्नो दाबी प्रस्ताव गरेको छ । यो प्रदेशमा माओवादीसँग निर्वाचन क्षेत्र बाँड्नुपर्ने भएपछि एमालेको ६ नम्बर प्रदेश कमिटीले आफ्नो पार्टीले पाउने सीट संख्याको दाबी गरेको
हो । प्रदेश कमिटीको वीरेन्द्रनगरमा सम्पन्न बैठकले यो प्रदेशका विभिन्न जिल्लामा पाउनुपर्ने सीटको प्रस्ताव केन्द्रमा पठाएको छ ।

केन्द्रमा चुनावी तालमेल भएपछि भागवण्डा मिलाउन दलहरूले कार्यदल गठन गरेका छन् । उक्त कार्यदलले देशका अन्य प्रदेशमा एमालेले ६० र माओवादीले ४० प्रतिशत सीट बाँडफाँड गर्ने सहमति गरेको छ । तर प्रदेश नम्बर ६ को हकमा भने दुवै पार्टीले बराबर सीट बाँड्ने गरी कार्यदलमा सहमति जुटेको छ । यो प्रदेशमा बराबर निर्वाचन क्षेत्र बाँडफाँड गर्ने केन्द्रमा अन्तिम सहमति हुँदै गर्दा एमालेको प्रदेश कमिटीले भने त्यसो नगर्न केन्द्रलाई आग्रह गरेको छ ।
एमाले–माओवादी केन्द्रको संयुक्त कार्यदलले ६ नम्बर प्रदेशमा दुवै दललाई ६०÷४० नगरी आधा–आधा सीट निर्धारण गर्ने गरी मापदण्ड बनाएको छ । एमालेको प्रदेश संगठन कमिटीले बराबर सीट निर्धारण गर्ने कार्यदलको उक्त प्रस्ताव तत्काल सच्याउन आग्रह गरेको हो । यस्तै आफूहरूले यो प्रदेशमा हरेक जिल्लामा पाउनुपर्ने सीट संख्या नै तोकेर केन्द्रमा प्रस्ताव पठाएको एमालेका पोलिटब्यूरो सदस्य यामलाल कँडेलले बताए । उनका अनुसार प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा एमालेले कुन जिल्लामा कति सीट पाउनुपर्छ भन्ने दाबीसहित केन्द्रमा आग्रह गरेको छ । केन्द्रमा गठित कार्यदलले ६ नम्बर प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रबाट चुनिने गरी बढी सीट दिने सहमति गरेको हो । त्यस आधारमा अन्य प्रदेशजस्तो ६०÷४० नभइ माओवादीलाई बराबरी सीट दिन एमाले तयार भएको हो ।
एमालेका उपाध्यक्ष एवम् प्रदेश संगठन कमिटीका संयोजक युवराज ज्ञवालीको अध्यक्षतामा वीरेन्द्रनगरमा बसेको बैठकले चुनावी तालमेल, पार्टी एकता सम्बन्धी निर्णयलाई स्वागत गर्दै सबै प्रदेशमा समान रूपमा सीट भागवण्डा गर्न कार्यदललाई सुझाव दिएको हो । यो प्रदेशमा प्रतिनिधिसभाका लागि १२ सीट रहेका छन् । त्यसमा एमालेको प्रदेश कमिटीले सात सीट पाउनुपर्ने माग गरेको छ । यस्तै प्रदेशसभाका लागि यो प्रदेशमा प्रत्यक्षतर्फ जम्मा २४ वटा सीट रहेका छन् । त्यसमध्ये १५ सीट पाउनुपर्ने अडानसहितको निर्णय केन्द्रमा पठाएको हो । प्रतिनिधिसभाका लागि माओवादीलाई जुम्ला, कालिकोट, सल्यान, जाजरकोट र रुकुम गरी पाँच सीट दिने लगभग सहमति भइसकेको छ । तर माओवादीले सुर्खेतको क्षेत्र नम्बर २ र हुम्ला पनि मागेको छ । एमालेको प्रदेश कमिटीले माओवादीलाई पाँच सीट भन्दा बढी दिन नहुने आशयसहित केन्द्रलाई ध्यानाकर्षण गराएको हो ।
प्रदेश कमिटीका सहसंयोजक एवम् पोलिटब्यूरो सदस्य यामलाल कँडेलले डोल्पा, मुगु, दैलेख, सल्यान र सुर्खेतमा गरी पाँच जिल्लामा प्रतिनिधिसभामा आफ्ना उम्मेदवारहरू हुनुपर्ने अडान कायमै रहने बताए । प्रतिनिधिसभामा दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र छन् । यस्तै एमालेले प्रदेशसभाका लागि डोल्पा, जाजरकोट, मुगु, जुम्ला, हुम्ला, सल्यान र रुकुममा एक÷एक सीट पाउनुपर्ने माग गरेको छ । यी जिल्लाहरूमा प्रदेशसभाका लागि दुई÷दुई वटा सीट रहेका छन् । यस्तै सुर्खेत र दैलेखमा तीन र कालिकोटका दुवै सीट पाउनुपर्ने आफूहरूको अडान कायमै राखेको नेता कँडेलले बताए । एमालेको प्रदेश कमिटीले सुर्खेत र दैलेखमा प्रदेशसभाका लागि रहेका चार÷चार सीट मध्ये माओवादीलाई एक÷एक सीट मात्र दिनुपर्ने राय केन्द्रमा पठाएको छ ।
उता माओवादीले भने कार्यदलको प्रस्ताव गरिसकेको विषयमा तलमाथि नगर्न आग्रह गरेको छ । माओवादीले दैलेख–सुर्खेतमा प्रदेशसभाका लागि दुइ÷दुई सीट मागेको छ । माओवादी केन्द्रका नेताहरूले कार्यदलले बनाइसकेको खाकामा पुनर्विचार नगर्न आग्रह गरेको छन् । स्थानीय कमिटीहरूबाट उम्मेदवारमा सिफारिस भएपछि मुख्य वाम गठबन्धनका एमाले र माओवादी केन्द्रका नेताहरू राजधानी केन्द्रित भएका छन् । आ–आफ्नो क्षेत्र र उम्मेदवारी सुनिश्चित गर्न सिफारिस भएका उम्मेदवारहरू राजधानीतर्फ लागेका हुन् ।

प्रकाशित मितिः   २५ आश्विन २०७४, बुधबार १४:१५