दैलेखमा खेल महोत्सव

दैलेख, २४ असोज ।
दैलेखमा खेल महोत्सव हुने भएको छ । आज (बुधवार) देखि सुरु हुने चौथो दैलेखी युथ कप खेल महोत्सवको सवै तयारी पूरा भएको छ । आयोजकले मंगलवार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएका हुन् ।


रिपोर्टस् क्लब दैलेखमा आयोजित पत्रकार सम्मेलनमा यो वर्ष फुटबलतर्फको खेलमा विजेताले एक लाख राशीको पुरस्कार पाउनेछन् । यही असोज ३० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न खेलहरू हुनेछन् । खेलको माध्यमबाट जिल्लालाई चिनाउने अभियानका साथ खेल महोत्सव गर्न लागिएको आयोजकले जानकारी दिए ।
युवाहरू कुलतमा फस्दै गएको र उनीहरूलाई खेलतर्फ आकर्षित गर्नका लागि खेल महोत्सव गर्न लागिएको दैलेखी युथका संयोजक प्रेमबहादुर शाहीले बताए । काठमाडौंमा अध्ययन गर्ने दैलेखी युवाहरूले गठन गरेको दैलेखी युथ नामक समूहमार्फत् दशैं र तिहारको बिदाको अवसरमा जिल्लामा रहेका युवाहरूले भाग लिने गरी खेलकुद महोत्सवको आयोजना गर्न लागिएको हो । युवाहरूलाई खेलबाट स्वस्थ बनाउन र जिल्लालाई चिनाउन महोत्सवको आयोजना गरिएको युथका सदस्य मनोज भण्डारीले जानकारी दिए ।
अवसर नपाउँदा जिल्लाका योग्य खेलाडीहरू विस्थापित र पलायन हुनुपर्ने बाध्यता रहेकाले अबका दिनमा त्यस्तो नहुँने भण्डारीले बताए । जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधिहरू हुन छाडेपछि युथहरूको प्रयासमा पहिलो पटक जिल्ला स्तरिय खेल महोत्सव हुन थालेको हो । खेल महोत्सवमा चार वटा खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । फुटबल, भलिबल, टेवुलटेनिस र ब्याटमेन्टन खेलहरू सदरमुकाममा चार दिनसम्म हुनेछन् । सो अवसरमा नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले खेलकुद गतिविधिले युवाहरूमा सकारात्मक बाटोमा हिँड्ने बताए । कार्यक्रममा निजी क्षेत्र तथा जिल्लास्थित पत्रकारहरू र आयोजक सहभागी थिए ।

प्रकाशित मितिः   २५ आश्विन २०७४, बुधबार १४:०८