यसरी बन्यो बावियाचौरमा सूचना केन्द्र
पञ्चपुरी, २४ असोज ।
विभिन्न सामाजिक कार्यमा सक्रिय पश्चिम सुर्खेतका युवाहरूलाई आफ्नो ठाउँमा सूचना केन्द्रको आवश्यकता महसुस भयो । ग्रामीण एकता युवा सञ्जालमा आवद्ध ती आँटिला युवाहरूले जब सूचना केन्द्रको आवश्यकता महसुस गरे तब आफै उक्त सूचना केन्द्र स्थापनाका लागि अघि सरे । जसको परिणाम स्वरूप पञ्चपुरी नगरपालिकाको बावियाचौरमा युवा सूचना केन्द्रको आफ्नै भवन निर्माण भइ सञ्चालनमा आयो । नगरपालिकाका प्रमुख उपेन्द्र थापाले मंगलवार केन्द्रको भवन उद्घाटन गरेका छन् ।
युवाहरूले सूचना केन्द्र स्थापना गर्ने आँट त गरे तर उनीहरूसँग आर्थिक स्रोत थिएन । आफ्नै भवन निर्माण गनुपर्ने थियो, जुन सहज थिएन । तर जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तै भयो । उनीहरूले सूचना केन्द्र स्थापना गर्ने योजना सामाजिक सजाल फेसबुकमा राखे । लगत्तै अमेरिकामा बस्ने होमबहादुर भण्डारी, कोरियामा कार्यरत मानदेव भण्डारी, चक्रबहादुर थापा, नगेन्द्र शाही, मलेसियामा कार्यरत बमबहादुर नेपाली, भारतमा कार्यरत घनश्याम शाहीले आर्थिक सहयोग प्रदान गरे । त्यसैगरी नेपालमा रहेका विभिन्न व्यक्ति तथा संघ–संस्थाले पनि फेसबुकमार्फत् सहयोग गर्ने प्रतिबद्धता जनाए । यसले गर्दा युवाहरूमा थप हौसला मिल्यो । त्यसपछि उनीहरू जुटे भवन निर्माणको काममा ।
रकम नहुँदा पनि आँट र हिम्मत गरे काम गर्न सम्भव देखेका युवाहरूले सबैसँग सहयोगका हातहरू बढाउँदै गए । उनीहरूको योजनालाई साकार पार्नको लागि पञ्चपुरी–४ डाब सुर्खेत बस्ने मानबहादुर विकले आफ्ना स्वर्गीय बुवा प्रजे बिकको स्मृतिमा १०÷२० मिटर जग्गा भवन निर्माणका लागि सञ्जालको नाममा दान गरिदिए । यसले युवाहरूको योजनाले थप आकार ग्रहण ग¥यो । भवनका लागि सोही क्षेत्रबाट निर्वाचित सांसद एवम् सूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टले सांसद विकास कोषबाट १ लाख दिए । त्यसैगरी पञ्चपुरी नगरपालिकाले दुई तथा एकता फाउन्डेसन नेपालबाट एक लाख नौ हजार रकम सहयोग प्राप्त भयो । विभिन्न व्यक्ति र संस्थाबाट प्राप्त रकमले बावियाचौरमा युवा सूचना केन्द्रका लागि आवश्यक भवन तयार भयो । जुन भवन निर्माण गर्न १० लाख रूपैयाँ खर्च भएको छ ।
यसरी सामाजिक सजालको उपयोग र विभिन्न क्षेत्रबाट प्राप्त सहयोगबाट सूचना केन्द्र स्थापना गर्ने योजनाले पूर्णता पाएपछि अहिले यहाँका युवाहरू हर्षित छन् । स्थानीय क्षेत्रमा रहेका समुदायलाई सुशासन, समान पहुँच, जवाफदेही, पारदर्शीता ल्याउनका लागि काम अगाडि बढाइएको उनीहरूले बताएका छन् । सूचनाको माध्यमबाट युवा, बालबालिका, महिला, ज्येष्ठ नागरिक, दलित लगाएतलाई क्षमता विकास, आत्मनिर्भर गराउने सूचना केन्द्रको प्रमुख लक्ष्य रहेको क्षेत्रीय युवा सञ्जालका अध्यक्ष एवम् सूचना केन्द्र निर्माणका अभियन्ता अमर कार्कीले बताए । समुदायका कुनै पनि नागरिक सूचनाको पहुँचबाट टाढा हुन नदिन र समृद्ध समाज निर्माण गर्ने उद्देश्यका साथ युवा सूचना केन्द्र निर्माण गरिएको उनले जनाए ।
सूचना केन्द्रको भवन पाँच कोठाको रहेको छ । जसमा सूचना केन्द्र, युवा सञ्जालको कार्यालय रहने छ । उक्त भवन निर्माण गर्न सफल भएपछि थप हौसिएका युवाहरू अब शान्ति घर निर्माणको अभियान, वृहत पुस्तकालय, कम्प्युटर कक्षा, ईमेल ईन्टरनेट, आयोगका तयारी कक्षा, युवा तथा बालबालिकाको लागि क्षमता विकासका कार्यक्रम, व्यवसायमूलक कार्यक्रम, सहकारी सञ्चालन, सार्वजनिक सुनुवाइ, भ्रष्टाचार न्यूनीकरण, समाजिक सवालका विरुद्ध अभियान, तालिम, गोष्ठी, छलफल, बहस, रेडियो कार्यक्रम, पुस्तक प्रकाशन जस्ता कार्यक्रम सञ्चालन गर्ने योजनामा लागेका छन् ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले युवाहरूले सूचना केन्द्रका माध्यमद्वारा समाजलाई सशक्त र भ्रष्टाचार मुक्त बनाउन भूमिका खेलेको भन्दै प्रशंसा गरे । कार्यक्रममा युवा परिषद् सुर्खेतका अध्यक्ष टेकेन्द्र बस्नेत, विवेकशील साझा पार्टी प्रदेश नम्बर ६ का संयोजक गेहेन्द्रप्रसाद दहाल लगायतको युवाहरूले गरेको कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही अवसरमा भवन निर्माणका लागि सहयोग गर्नेहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रम सञ्जालका क्षेत्रीय अध्यक्ष अमर कार्कीको सभापतित्वमा सम्पन्न भएको हो ।
साझा बिसौनी संवाददाता ।