सुर्खेत क्षेत्र नम्बर २ मा माओवादीको दाबी
सुर्खेत, २३ असोज ।
आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन यतिबेला सीट बाँडफाँडका लागि गृहकार्य गरिरहेका छन् ।
आशन्न प्रतिनिधिसभाको चुनावमा ६०÷४० प्रतिशतको भागवण्डाका लागि सैद्धान्तिक सहमति गरेका एमाले र माओवादी केन्द्रबीच कुन जिल्लामा कति सीट लिने भन्ने टुङ्गो भने लाग्न सकेको छैन । यसैबीच प्रदेश नम्बर ६ मा एमाले र माओवादी केन्द्रबीच बराबर सीट बाँड्ने तयारी भइरहेको बुझिइको छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रदेश नम्बर ६ मा एमाले पहिलो दल बनेको थियो । एमालेभन्दा दुई सीटले पछि परेको माओवादीले यो प्रदेशमा बराबर सीट भागवण्डा गर्नुपर्ने माग गरेको छ । यसमा एमाले नेतृत्व पनि सकारात्मक देखिएको जनाएको छ ।
स्थानीय तहको मत परिणामका आधारमा एमालेभन्दा केही मतले मात्रै पछि परेको माओवादीले प्रदेश ६ मा आधा अर्थात् ५० प्रतिशत सीट पाउने एमाले नेताहरू नै बताउँछन् । प्रदेश नम्बर ६ का १२ सीटमध्ये माओवादीले सल्यान, रुकुम, जाजरकोट, कालिकोट र जुम्ला पाउने लगभग सहमति भइसकेको नेताहरूले बताएका छन् ।
प्रदेश नम्बर ६ को केन्द्रको रूपमा रहेको सुर्खेतका दुई वटा निर्वाचन क्षेत्रको भागवण्डा भने मिल्न सकेको छैन । एमालेले दुवै निर्वाचन क्षेत्र सकेसम्म नछोड्ने तयारीमा छ भने माओवादीले क्षेत्र नम्बर २ आफूले पाउनुपर्ने दावी एमालेसँग गरेको छ । स्थानीय निर्वाचनमा सुर्खेतका नौं मध्ये एमालेले तीन वटा स्थानीय तहमा जीत हात पारेको थियो भने एमाले शून्य भएको थियो । यद्यपि दुई पार्टीबीचको चुनावी तालमेल दिगो बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा नै भागवण्डा गर्नुपर्ने दावी माओवादीका नेताहरूले गरेको स्रोतले जनाएको छ । माओवादीतर्फबाट हुम्ला र सुर्खेतको २ नम्बर क्षेत्रमा दाबी पेश भएको छ । यी मध्ये दुवै सीट माओवादीले पाएमा एमालेले १२ मध्ये पाँच सीटमा मात्रै प्रतिनिधिसभा सदस्य उम्मेदवार उठाउनेछ ।
साझा बिसौनी ।