‘सीट बाँडफाँड न्यायोचित होस्’

सुर्खेत, २२ असोज ।
नेकपा एमाले प्रदेश नम्बर ६ ले न्यायोचित रूपमा सीट बाँडफाँड गर्न आग्रह गरेको छ । माओवादी र नयाँ शक्ति पार्टीसँग चुनावी तालमेल भएको र निर्वाचन क्षेत्र बाँड्नुपर्ने भएपछि एमाले प्रदेश नम्बर ६ ले यस्तो आग्रह गरेको हो । प्रदेश संगठन कमिटीको बैठकले विशेष प्रस्तावका रूपमा यसलाई पार्टी केन्द्रमा पठाएको हो ।


वामपन्थी गठबन्धन भएपछि एमालेले ६० र माओवादीले ४० प्रतिशत उम्मेदवारी दिने सहमति गरेका छन् । केन्द्रमा गठित दुई दलको कार्यदलमा भने प्रदेश नम्बर ६ मा बराबर हैसियतमा सीट बाँडफाँड गर्ने विषयमा छलफल चलिरहेको छ । एमालेलाई प्रदेश १, ३, ५ र ७ मा बढी सीट दिने र प्रदेश ६ सहित २ र ४ नम्बरमा भने दुवै दलले समान सीट लिने प्रस्तावमाथि केन्द्रमा छलफल जारी छ । तर एमालेको प्रदेश कमिटीले भने ६ नम्बर प्रदेशमा पनि ६०÷४० कै अनुपातमा सीट भागवण्डा हुनुपर्ने माग गरेको हो ।
वीरेन्द्रनगरमा आइतवारदेखि सुरु भएको प्रदेश कमिटीको बैठकले विभिन्न तीन बुँदे विशेष प्रस्तावहरू पार्टी केन्द्रमा पठाएको छ । प्रदेश ६ मा रहेका प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २४ सीटलाई पनि ६० र ४० प्रतिशतकै अनुपातमा बाँड्नुपर्ने माग गरिएको छ । स्थानीय तहको निर्वाचनमा यो प्रदेशमा एमाले पहिलो शक्ति बनेको छ । यही आधारमा पनि माओवादीलाई समान सीट दिन नहुने एमाले कार्यकर्ताको मनसाय छ । ‘बामपन्थीहरूबीच भएको चुनावी तालमेल स्वागत योग्य छ, यसले चुनावपछि पार्टी एकतालाई थप बल प्रदान गर्नेछ’ एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका प्रदेश ६ का सहसंयोजक यामलाल कँडेलले भने, ‘देशभरी ६०÷४० को सहमति भएको छ, यसले एउटा प्रदेशको भार अर्को प्रदेशले बोक्नुपर्ने अवस्था आयो । हामीले देशभरको अनुपातमा होइन, हरेक प्रदेशमा नै ६०÷४० को अनुपातमा सीट भागवण्डा हुनुपर्ने माग गरेका छौं ।’
केन्द्रको प्रारम्भिक सहमति अनुसार यो प्रदेशमा एमाले र माओवादीले बराबर सीट संख्या बाँड्नेछन् । तर एमाले प्रदेश कमिटीले भने यसो गर्दा पार्टीको आन्तरिक जीवन र निर्वाचनको परिणाममा नै नकारात्मक असर पर्ने भन्दै केन्द्रलाई चेतावनी दिएको छ । कार्यकर्ताको भावनामा ठेस नपुग्ने गरी यो प्रदेशमा पनि न्यायोचित रूपमा सीट बाँडफाँड गर्न एमाले प्रदेश कमिटीले केन्द्रीय कमिटी र पार्टी अध्यक्षलाई ध्यानाकर्षण गराएको हो । कठिन अवस्थामा पनि यो प्रदेशमा पार्टी पहिलो भएकाले तालमेलपछि पनि बढी सीट पाउनुपर्ने प्रस्ताव बैठकले गरेको छ । यस्तै बैठकले आउँदो निर्वाचनमा एमाले र माओवादीका नेता तथा कार्यकर्तालाई सक्रिय बनाउन सबै जिल्लामा दुवै पार्टीका उम्मेदवार बन्ने गरी सीट वितरण गर्न आग्रह गरेको छ । हरेक जिल्लामा दुवै पार्टीले सीट भागवण्डा गरेको खण्डमा कार्यकर्ता परिचालनमा सहज हुने बैठकको ठहर छ ।
वीरेन्द्रनगरमा जारी एमाले प्रदेश कमिटीको बैठकमा पार्टीका तर्फबाट जिल्लाबाट सिफारिस भएका उम्मेदवाहरूको केन्द्रमा सिफारिस गर्नका लागि छलफल भइरहेको छ । नेता कँडेलले भने, ‘बैठकले सम्भव भएसम्म सूर्य चिन्ह लिएर उम्मेदवार उठाउने प्रस्ताव केन्द्रमा पठाएका छौं, यो नीति लागू भएमा उम्मेदवारलाई जिताउन सजिलो हुनेछ । एउटै चिन्ह भए जनता पनि अलमलमा पर्ने छैनन्, कार्यकर्तालाई भोट माग्न पनि सहज हुनेछ ।’ बामपन्थी तालमेलले कम्युनिष्ट एकतामा सकारात्मक सन्देश दिएको उनको भनाइ छ । साथै यसले देशमा राजनीतिक स्थिरता कायम हुने र विकासको गति बढ्ने उनको दाबी छ । बैठकमा एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक युवराज ज्ञवालीको पनि सहभागिता रहेको छ । आज सोमवारसम्म चल्ने बैठकले यो प्रदेशका सबै जिल्लाहरूबाट सिफारिस भएर आएका उम्मेदवाहरूको बारेमा आवश्यक निर्णय गरेर केन्द्रमा पठाउनेछ ।
एमाले र माओवादीबीच चुनावी तालमेलको सहमति भएपछि दुवै पार्टीले निर्वाचन क्षेत्र भागवण्डा गर्ने अन्तिम तयारी गरेका छन् । केन्द्रमा गठित दुवै दलको कार्यदलले यो प्रदेशमा बराबर सीट बाँड्ने विषयमा छलफल गरेको छ । केन्द्रमा यस्तो सहमति हुने संकेत देखेपछि एमालेको प्रदेश कमिटीले यो प्रदेशमा पनि ६० र ४० को अनुपातमा सीटको भागवण्डा हुनुपर्ने माग गरेको हो ।

प्रकाशित मितिः   २३ आश्विन २०७४, सोमबार १६:०७