आफ्नै मिहिनेतले तिखारिएका मूर्तिकार

चौकुने गाउँपालिका–२ लगामका पुस्कल पौडेललाई मूर्तिकला सम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन । विभिन्न प्रकारका मूर्तिहरू बनाउनका लागि पुस्कलसँग कुनै प्रविधिको साथ र साधनहरू पनि छैनन् । तर उनले बनाएका निकै सुन्दर र कलात्मक मूर्तिहरू देखेर सर्वसाधारणहरू दङ्ग पर्ने गरेका छन् । आफ्नो अघि कुनै देवी देवता, भगवान, जनावर या मान्छेको फोटो राखेर दुरुस्तै मूर्ति बनाउने पुस्कलको कलाले सबैलाई मोहित पार्ने गरेको छ । सानैदेखि चित्रकला र मूर्तिकलामा निकै रुचि भएका पुस्कल अहिले अब्बल मूर्तिकारको रूपमा परिचित हुँदै गएका छन् ।


लगाममा आफ्नै घरको आँगनमा उनले बनाउने मूर्ति र उनले मूर्ति बनाएको हेर्नेको पनि घुँइचो लाग्ने गरेको छ । विभिन्न देवी देवताहरू, भगवान, सहिदहरू र जनावरहरूको दुरुस्तै आकर्षक आकृति झल्किने मूर्ति बनाउने बहुक्षमता भएका ३० वर्षीय पौडेल कुनै साधन र सैद्धान्तिक ज्ञान विनै मूर्ति बनाउने गरेका छन् । उनले भारतको सिम्लामा दुःख गरी कमाएको १५ हजार लगानी गरेर मूर्ति बनाउने कामको सुरुवात गरेका थिए । कसैले ‘अर्डर’ गरे मात्र मूर्ति बनाउने गरेका पुस्कल पौडेलले गतिलो अवसर र आर्थिक सहयोग पाए व्यावसायिक रूपमै मूर्ति निर्माण उद्योग सुरु गर्ने इच्छा रहेको बताए ।


तीन वर्षअघि पहिलो पटक सुर्खेत चौकुने गाउँपालिका–१ स्थित भेरी–कर्णाली दोभान बेनीघाटका लागि शिव भगवान र साँढेको आकृति बनाएर मूर्ति बनाउने काम सुरु गरेका उनले अहिले जिल्ला भित्रकै विभिन्न मन्दिरहरूका लागि दर्जन बढी मूर्तिहरू निर्माण गरिसकेका छन् । घरेलु स्रोत र साधनको प्रयोग गर्दै निकै सस्तोमा मूर्ति बनाउने पुस्कल राम्रो अवसर पाए आफूभित्रको ज्ञानलाई दुनियाँको अघि फैलाउने र बेरोजगार भएर विदेशीने युवाहरूलाई स्वदेशमै रोजगारीको सिर्जना गर्न निःशुल्क सीप सिकाउने धोको रहेको उनले बताए ।
घरको निम्न आर्थिक अवस्थाका कारण १० कक्षासम्मको पढाइ स्थगित गरेका पौडेललाई एउटा मूर्ति बनाउन मूर्तिको आकार हेरि ५ देखि १५ दिनसम्म लाग्ने गरेको छ । जति मेहेनत गरे पनि दुःख अनुसारको पारिश्रमिक पाउन गाह्रो रहेको अनुभव उनीसँग छ । तर विदेशमा गइ अर्काको गुलामी हुनुभन्दा स्वदेशमै केही गर्न सके राम्रो हुने उनको तर्क छ । अहिले पौडेललाई मूर्ति बनाउन भ्याइ नभ्याइ छ । कैलाली, अछाम, डोटी, काठमाडौं, पोखरा लगायतका ठाउँबाट मूर्ति बनाउनका लागि ‘अर्डर’ आउने गरेको उनले बताए ।


एउटा मूर्ति बनाएको १५ हजार देखि ३० हजारसम्म पाउने गरेको भन्दै उनले आफ्नो दुःख अनुसार यो रकम निकै कम रहेको बताए । स्थानीयस्तरमा उपलब्ध माटो, सिमेन्ट, बालुवा, कलर र छडको प्रयोग गरेर मूर्ति बनाउने गरेका छन् । उनीसगँ यस सम्बन्धी कुनै औपचारिक ज्ञान र सीप छैन ।
नेपाल राष्ट्रिय माध्यमिक विद्यालय लगाममा पढ्ने बेलामा चित्रकला प्रतियोगितामा प्रथम भएको उनलाई सम्झना छ । त्यतिबेला शिक्षक र साथीहरूले दिएको हौसलाले उनलाई चित्रकारितामा अघि बढ्न प्रेरित ग¥यो । तालिम तथा औपचारिक ज्ञान र साधन विनै यति राम्रो मूर्तिहरू बनाउने पुस्कल पौडेलको क्षमता देखेर आफूहरू दङ्ग परेको स्थानीय जीतबहादुर तिरुवाले बताए । उनले सरकारले यस्ता प्रतिभालाई आफ्नो कला देखाउने अवसर दिनुपर्ने र यसतर्फ सरोकारवालाहरूको ध्यान जानुपर्ने बताए । पुस्कल पौडेलले देवी देवता, भगवान्का मूर्ति मात्र होइन विभिन्न व्यक्तिहरूको सालिक र जनावरहरूको प्रतिमा पनि बनाउने गरेका छन् ।
पुस्कललाई स्थानीयले मात्रै होइन सरकारले नै उचित अवसर दिएर सहयोग गर्नसके देशलाई नै ठूलो फाइदा हुने चौकुने गाउँपालिका वडा नः २ का अध्यक्ष मायाराम जैशीले बताए । उनले कुनै राम्रो अवसर पाए पुस्कलले चमत्कारी कला देखाउन सक्ने सम्भावना रहेको बताए । पुस्कललाई व्यावसायिक रूपमा मूर्ति निर्माणमा लगाउन सके अरुलाई पनि रोजगारीको अवसर सिर्जना गर्न सकिने अध्यक्ष जैशीको भनाइ छ । पुस्कल पनि यस्तै अवसरको खोजीमा छन् ।

प्रकाशित मितिः   २३ आश्विन २०७४, सोमबार १६:०५