देउवाका चुनौती

पार्टी सभापतिमा निर्वाचन भएको एक महिना बित्न नपाउँदै शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेतामा पनि निर्वाचित भएका छन् । सभापति पदकै प्रत्यासी रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । पार्टीको केन्द्रीय समितिमा बहुमत प्राप्त गरेका देउवा पक्षमा सांसदहरूको पनि बहुमत रहेको पुष्टि भएको छ । संसदीय समितिमा पनि पनि उनको स्पष्ट बहुमत छ । जसले गर्दा देउवालाई पार्टी सञ्चालनमा सहज हुने देखिन्छ । हुन त महामन्त्री र कोषाध्यक्षमा निर्वाचित पदाधिकारी उनका प्रतिस्पर्धी रामचन्द्र पौडेल समूहका हुन् । तथापि उनीहरू देउवाको बाटोमा तगारो बन्न सक्ने अवस्था छैन । देउवाको व्यक्तित्व र वरियताका कारण उनीहरूबाट खासै अप्ठेरो नपर्ने सहजै अनुमान गर्न सकिन्छ । तर, कांग्रेसभित्रका अनेक समस्याहरूलाई सल्टाएर अघि बढ्न देउवालाई सहज भने पक्कै छैन । सिद्धान्त र व्यवहारमा बाटो बिराएको अनि गुटैगुटमा बाँडिएको नेपाली कांग्रेसलाई एक बनाएर अगाडि बढाउन चाहिँ चुनौतीपूर्ण देखिन्छ । उनका सामुको अर्को चुनौती देशलाई लोकतान्त्रिक मार्गबाट अगाडि बढाउन नेतृत्व प्रदान गर्ने पनि हो ।
कांग्रेस संसद्को सबैभन्दा ठूलो पार्टी हो । तर अहिले ऊ प्रतिपक्षमा छ भने दोस्रो ठूलो दल नेकपा एमालेको नेतृत्वमा सरकार छ । सरकारबाट मात्र हैन नेपाली कांग्रेस राज्यका सबै महŒवपूर्ण पदबाट बाहिरिएको छ ।  कम्युनिष्टहरूले राष्ट्रपति, उपराष्ट्रपति, सभामुखजस्ता पदमा आफ्ना उम्मेदवार जिताएका छन् । संवैधानिक परिषद्मा प्रमुख विपक्षी दल पनि सदस्य रहने प्रावधान छ । तर, संसद्को नियमावली पारित गर्न मतदान गर्ने भनेर कम्युनिष्टहरूले कांग्रेसलाई पन्छाएर जाने सङ्केत दिइसकेका छन् । प्रमुख विपक्षी नेताका रूपमा शेरबहादुर देउवाका लागि कम्युनिष्टहरूको चक्रब्यूहबाट लोकतान्त्रिक पद्धतिलाई जोगाउने कार्य निकै चुनौतीपूर्ण हुनेछ । समग्र पार्टी पंक्तिको साथ नभइ त्यस्तो चुनौती सामना गर्न सहज हुनेछैन । कम्युनिष्टहरूले गरेको राष्ट्रिय सहमतिको सरकारमा सामेल हुने आव्हानलाई कांग्रेस सभापतिमा निर्वाचित हुनेवित्तिकै स्पष्ट शब्दमा अस्वीकार गरिदिएका छन् देउवाले । संसदीय दलको नेता चुनिएपछि पनि उनले सशक्त विपक्षी हुने उद्घोष गरेर आफू लोकतन्त्रका आधारभूत मान्यतामा अडिने स्पष्ट पारेका छन् । यसले बाटो बिराएको नेपाली कांग्रेस लोकतान्त्रिक मार्गमा पुनः अगाडि बढ्ने सम्भावना उजागर गरेको छ । तर, सत्ताको स्वाद राम्ररी चाखेका देउवा र अझ उनका सहयोगीहरू सरकारमा जान बढी नै आतुर हुनसक्ने जोखिम पनि उत्तिकै बलियो छ । 
पार्टीका आन्तरिक चुनावहरूमा देउवाका पक्षमा जुटेको समर्थन हेर्दा विभिन्न व्यक्ति र समूहलाई अनुचित प्रलोभन दिइएको हुनसक्ने सन्देहलाई पनि निराधार भन्न मिल्दैन । त्यस अवस्थामा असन्तुष्टि व्यवस्थापन गर्न देउवालाई सहज हुनेछैन र उनले सिद्धान्तमा सम्झौता गर्न नहिचकिचाउने पुरानै व्यवहारवादी कार्यशैली अपनाउन सक्छन् । तुष्टीकरणको नीति अपनाउँदा केही समय सजिलै होला तर कालान्तरमा त्यसबाट नेपाली कांग्रेसमात्र हैन लोकतन्त्रकै पनि भविष्य सङ्कटमा पर्नसक्छ । यसैले देउवाले पार्टी र लोकतन्त्रका लागि आवश्यक भए अप्रिय निर्णय गर्न पनि हिचकिचाउनु हुँदैन । नेपाली कांग्रेस दोस्रो जनआन्दोलनकै बेलादेखि कम्युनिष्टहरूको पछि लागेको देखिएको छ । कांग्रेसका नेता प्रगतिशीलता र उदार लोकतन्त्रलाई सँगै लैजान सकिँदैन भन्ने अधिनायकवादी कम्युनिष्ट सोचबाट प्रभावित भएका देखिएका छन् । पार्टी सञ्चालनको संरचनामा समयसापेक्ष सुधार आवश्यक छ । आर्थिक सामाजिक नीतिमा पनि कांग्रेसले गलत बाटो अपनाएको छ । यसलाई सही बाटो दिनु पनि देउवाको चुनौती हो ।