लोकसेवाले माग्यो ४४ सय बढी कर्मचारी

काठमाडौ, २५ चैत ।
लोकसेवा आयोगले चार हजार चार सय १३ जना प्राविधिक पदमा विज्ञापन खुलाएको छ । स्वास्थ्य सेवा चौंथो तथा राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात् खरिदारस्तरको पदका लागि झण्डै चार हजार चार सयभन्दा बढी कर्मचारीको लागि दरखास्त आव्हान गरिएको हो ।
यसमा स्वास्थ्य सेवाका लागि मात्रै तीन हजार पाँच सय १५ जनाको आवेदन माग गरिएको आयोगकी प्रवक्ता गीताकुमारी हुमागार्इंले जानकारी दिइन । यसमध्ये पनि अहेव र अनमी पदमा सबैभन्दा बढी कर्मचारी माग भएको छ । आयोगले आन्तरिक प्रतिस्पर्धाका लागि नौ सय ९१ पदमा आवेदन मागेको छ भने बढुवाका लागि ९३ पदमा प्रतिस्पर्धा हुने भएको छ ।
स्वास्थ्य सेवा, कृषि, फरेष्ट्री, सर्भे, सहायक कम्युटर अपरेटर, इञ्जिनियरिङ, अमिन, खानेपानी तथा सरसफाइ, इलेक्ट्रिकल, मेकानिकल लगायत सेवा, समूह र उपसमूहमा प्राविधिक कर्मचारी मागेको हो । विभिन्न क्षेत्रीय तथा उपक्षेत्रीय कार्यालयहरूका लागि माग भएको प्राविधिक कर्मचारीका लागि योग्यता पुगेकाहरूले दरखास्त दिन सक्नेछन् । 
प्रकाशित मितिः   २६ चैत्र २०७२, शुक्रबार ०५:००