चट्टान फोड्न देउता भाकल
बिसौनी संवाददाता
सुर्खेत, २५ चैत ।
कर्णाली करिडोर अन्तर्गत कालिकोटदेखि हुम्ला जोड्ने सडक निर्माणको क्रममा ठूलो चट्टान फेला प¥यो । कालिकोटको खुलालु–रेगिल खण्डमा रहेको उक्त चट्टान फोड्ने क्रममा चार जनाले ज्यान नै गुमाए । दर्जनौं मजदुर घाइते भए, तर पनि चट्टान फुटेन । चट्टान फोड्न निकै कठिन भएको र मजदुरहरूको ज्यान नै जान थालेपछि नेपाली सेना र स्थानीयले उक्त चट्टान फुटोस् भन्दै देउतासँग भाकल नै गरे ।
देउतालाई भाकल गरेपछि चट्टान समेत फुट्न थालेको र कसैलाई पनि चोटपटक नलागेको स्थानीयले दाबी गरेका छन् । उक्त करिडोर निर्माणको जिम्मा पाएको नेपाली सेनाले अहिले सडक खन्ने काम गरिरहेको छ । कालिकोटको औलिसेपानीमा रहेको चट्टान फोड्नेक्रममा नै गत असोजमा सेनाका एक जवान र तीन जना स्थानीय मजदुरको मृत्यु भएको थियो । यस्तै दर्जनौं मजदुरहरू समेत घाइते भएका थिए ।
सबै उपाय अपनाउँदा पनि चट्टान नफुटेपछि स्थानीय बासिन्दाको आग्रहमा सेनाले स्थानीय कुल देउतासँग भाकल गरेको थियो । देउतासँग भाकल गरेपछि चट्टान फुट्न थालेको र सडक निर्माणमा जुटेका कसैलाई पनि चोट नलागेको भन्दै अहिले सेनाले सोही स्थानमा मन्दिर निर्माणको काम सुरु गरेको छ । देउतासँग गरिएको भाकल अनुसार नै सडक छेउमा मन्दिर निर्माण गरिएको सेनाले जनाएको छ ।
कर्णालीका जनताको भाग्यरेखा मानिएको यो सडक निर्माणको क्रममा ठूलो चट्टान फेला परेपछि सडक निर्माणको काममा समेत गतिरोध उत्पन्न भएको थियो । केही समयसम्म स्थानीय मजदुरले काम गर्न समेत मानेनन् । सडक छेउमा निर्माण हुँदै गरेको मन्दिर निर्माण समितिका संयोजक समेत रहेका स्थानीय बासिन्दा अनिपाल शाहीले देउता भाकल गरेपछि सडक निर्माणको काम सहज भएको दाबी गरे । उनले भने, ‘सडक खन्ने बेलामा ठूलो चट्टान भेटियो, हरेक उपाय लगाउँदा पनि फुटेन । चट्टान फुटाल्ने बेलामा मान्छे नै मरे, देउता भाकल गरेपछि भने सबै राम्रो भएको छ ।’ उनका अनुसार देउता भाकल गरेपछि हालसम्म कुनै पनि मजदुरलाई चोट लागेको छैन । अर्कोतर्फ चट्टान पनि सहज रूपमा फुट्दै गएको छ । सो खण्डमा अब चट्टान फोड्न कम मात्र भाग बाँकी रहेको छ । सेनाका अनुसार अब करिब एक सय ५० मिटर जतिको दूरीमा चट्टान फोड्न बाँकी छ । बाँकी चट्टान फुटालेर सकिएको सेनाको भनाइ छ । यो सडक खण्ड अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमिकोटसम्मको दूरी एक सय ९६ किलोमिटर रहेको छ ।
यो सडक निर्माणका लागि सरकारले २०७१ चैत ९ गते नेपाली सेनालाई जिम्मा दिएको थियो । सेनाले सडक निर्माणको काम सुरु गरेको ६ महिना बित्न नपाउँदै गत असोजमा उक्त चट्टान फुटाल्ने क्रममा चार जनाको ज्यान गएको थियो । त्यसपछि स्थानीयको आग्रहमा चट्टान फुटोस् र मजदुरलाई कुनै चोट नलागोस् भन्दै सेनाका कर्णेल इन्दिवर गुरुङ्ग र मजदुरहरूले संयुक्तरूपमा शिव र नैनेलदेव देउतासँग भाकल गरेका
थिए । आफूहरूले गरेको भाकल अनुसार नै मन्दिर निर्माण गरिएको सडक निर्माणमा खटिएको सेनाले जनाएको छ ।
मन्दिर निर्माण समितिका अनुसार मन्दिर निर्माणको लागि सेनाले नै बजेटको जोहो गरिदिएको हो । २०५७ सालमा कालिकोट सदरमुकाम मान्ममा यो सडकको शिलान्याश गरिएको थियो । शिलान्याश भएको १५ वर्षपछि सेनाले उक्त सडक निर्माणको जिम्मा पाएको हो । सडक निर्माणको काम थालेको सेनाले अबको पाँच वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य राखेको छ । यस्तै सेनाले यो आर्थिक वर्षमा कालिकोटको खुलालुदेखि बाजुराको अर्थङ्गेचौरसम्मको ६८ किलोमिटर सडक निर्माण गरिसक्ने जनाएको छ । कडा र ठूला चट्टानका कारण सडक निर्माणमा कठिनाइ भइरहेको सेनाको भनाइ छ ।
प्रकाशित मितिः २६ चैत्र २०७२, शुक्रबार ०५:०४
साझा बिसौनी संवाददाता ।