पत्रकार महासंघलाई दश लाख दिने थानीको घोषणा

सुर्खेत, २१ असोज ।
सुर्खेत क्षेत्र नम्बर २ का सांसद हृदयराम थानीले नेपाल पत्रकार महासंघ सुर्खेतलाई १० लाख रूपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । महासंघको वीरेन्द्रनगरमा रहेको कार्यालय भवनको तला थप्नका लागि उनले उक्त सहयोग गर्ने घोषणा गरे ।


पूर्व मन्त्रीसमेत रहेका सांसद थानीले सांसद विकास कोषमार्फत् आउने रकममध्ये १० लाख दिने वचन दिए । शनिवार वीरेन्द्रनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा थानीले महासंघको भवनको तला थप्नका लागि १० लाख आर्थिक सहयोग गर्ने वचन दिएका हुन् ।
पत्रकारिताको विकास भए मात्र अन्य क्षेत्रको विकास हुने भन्दै उनले महासंघलाई सहयोग गर्न लागेको जानकारी दिए । प्रदेश नम्बर ६ को सम्भावित राजधानी भएकाले पनि सुर्खेतको पत्रकारिता अब सवल हुनुपर्ने उनको भनाइ छ । पछिल्लो समय प्रदेश प्राप्तीको आन्दोलनमा सुर्खेतका पत्रकारहरूले राजनीतिक दलहरूलाई महŒवपूर्ण सहयोग गरेको स्मरण गर्दै नेता थानीले महासंघलाई सहयोग गर्न पाउँदा आफूले गौरव महसुस गरेको बताए ।
अर्को प्रसंगमा उनले वाम दलहरूबीच निर्वाचनको मुखमा गठबन्धन भए पनि त्यति ठूलो अन्तर नहुने दाबी गरेका छन् । प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट सुर्खेत क्षेत्र नं. २ को उम्मेदवारमा सिफारिस भएका थानीले बाम गठबन्धन भए पनि जिल्लामा धेरै अन्तर नहुने
जनाए । सो अवसरमा कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सञ्चारकर्मीलाई विकास निर्माणका मुद्दाहरूलाई प्राथमिकता दिन आग्रह गरे । उनले जिल्लाको समृद्धिका लागि सञ्चारकर्मीहरूको महŒवपूर्ण योग्दान हुने भएकोले त्यसतर्फ पनि अग्रसर हुन जोड दिए । वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले सुर्खेती पत्रकारहरूको लागि पत्रकार कल्याण कोष र पूर्वाधार विकासमा नगरपालिका सधैं समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
यस्तै पत्रकार महासंघका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाईंले भवनको तला थपका लागि सांसद थानीले गरेको सहयोगप्रति आभार व्यक्त गरे । यस्तै पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले आगामी दिनमा पनि सञ्चार क्षेत्रको विकास र समृद्धिका लागि सहयोग गर्न सांसद थानीलाई सुझाव दिए । उनले सुर्खेतको महासंघलाई पनि प्रदेशस्तरको बनाउन आवश्यक पर्ने भएकोले त्यसका लागि सहयोग गर्न जोड दिए ।

प्रकाशित मितिः   २२ आश्विन २०७४, आईतवार १६:२०