अब मोबाइलबाटै कारोबार

सुर्खेत, २१ असोज ।
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरूले अब मोबाइलबाटै सहकारीमा कारोबार गर्नसक्ने भएका छन् । सहकारीले मोबाइल एप्लिकेशनमार्फत् उक्त सेवा आफ्ना शेयर सदस्यहरूलाई उपलब्ध गराएको हो ।


जनहितकारीले सदस्यहरूलाई कारोबारमा थप प्रभावकारी र पारदर्शीताका लागि मोबाइल एप्लिकेशन सञ्चालनमा ल्याएको हो । उक्त एप्लीकेसनबाट सदस्यहरूले कारोबारको जानकारी लिनसक्ने र रकम आफ्नो खाताबाट अरुलाई भुक्तानी दिन सकिने सुविधा रहेको संस्थाका प्रबन्धक योगेन्द्र साउदले जानकारी दिए । मोबाइल र डीसहोम रिचार्ज गर्न, ल्याण्डलाइन फोनको बील तिर्न, आफ्नो कारोबारबारे बुझ्न, बचतको मिनी स्टेटमेन्ट हेर्न, बचतबाट अरुलाई पैसा स्थानान्तरण गर्न र खातामा रहेको रकम जुनसुकै बैंकबाट भुक्तानी लिन पनि सकिने उनले जनाए । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न १९ औं वार्षिक साधारणसभामा यस्तो जानकारी दिइएको हो ।
सांसद एवम् राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मल्लले सहकारी ऐन सहकारी क्षेत्रको उपलब्धिका रूपमा जनताको पक्षमा बनेको बताए । उनले जनहितकारीले अहिलेसम्म गरेको कामका प्रशंसा गर्दै थप सफलताको शुभकामना व्यक्त गरे । सहकारीमा महिला सहभागिता वृद्धि भएकोमा उनले खुशी व्यक्त गरे ।
संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा कूल २८ करोड ९३ लाख ९५ हजार आठ सय १७ रूपैयाँको वित्तीय कारोबार गरेको छ । संस्थाका कोषाध्यक्ष नवराज कँडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । साथै उनले आगामी वर्षका लागि ४० करोड बराबरको आय–व्यय प्रस्ताव गरेका छन् । सभाले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ ।
सभामा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, राष्ट्रिय सहकारी बैंकका आशुराम सोमै, बहुउद्देश्यीय सहकारी संघ सुर्खेतका अध्यक्ष चन्द्रप्रसाद थानी, नेप्सकुनका प्रदेश सदस्य शिवप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २२ आश्विन २०७४, आईतवार १६:१८