वाम गठबन्धन र एकताको कार्यभार

हिन्दु नेपालीहरूको महान पर्व दशंैको हर्षोल्लास चलिरहेको बेला नेपाली वाम पार्टीहरूको एकता थालनीको अप्रत्यासित र अपत्यारिलो खबरले नेपालीलाई अच्चमित बनायो । एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कम्युनिष्ट नेता कार्यकर्तालाई दिएको दशैंको ‘सरप्राइज’ उपहार जस्तै लाग्ने यो वाम ध्रुवीकरणको प्रक्रियालाई धेरैले सन्देहको आँखाले हेरे पनि आशालाग्दो सकारात्मक कदम ठानेका छन् । नेपालमा बदलिरहने मौसमी समीकरण र गठबन्धनका कारण वाम पार्टीका तल्लोस्तरका कार्यकर्तामा जति उत्साह देखिनुपथ्र्यो त्यो खासै नदेखिए पनि यसलाई दिगो बनाउन सके देशले सकरात्मक उपलब्धि हासिल गर्नेमा आशा गर्न सकिन्छ । यो कदमले नेपाली कम्युनिष्ट पार्टीहरूको ऐतिहासिक आवश्यकतालाई मूर्तरूप दिइएको छ । साथै नेपालका श्रमजीवि वर्ग र समुदायका जनताहरूमा नयाँ आशा जगाइदिएको छ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको झन्डै सात दशक पुरानो इतिहासमा जहिले पनि टुट–फुट र विभाजनमा रम्ने रमाउने नेपाली कम्युनिष्टहरूको परम्परा नै हो । पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोबिन्द बैध लगाएत केही नेपालका वाम नेताहरूले रोपेको कम्युनिष्ट पार्टी टुटफुट र विभाजनको शिकार बन्दै सत्तरीको दशकसम्म आइपुग्दा ६ दर्जन विभिन्न नामधारी नेपाली कम्युनिष्ट पार्टीहरूमा रूपान्तरण भयो । नेपाली कम्युनिष्ट पार्टीहरूका विद्यमान संकीर्णता, विभाजन र एकअर्काप्रतिको कठोर र निर्मम आरोप–प्रतिआरोप गर्नु विशेषताहरू नै हुन् । बेला बखत एकीकरणको चर्चा चले पनि त्यसले एउटा खास आकार ग्रहण गर्न सकिरहेको थिएन । नेपालको कम्युनिष्ट आन्दोलनमा ठूलो स्केलमा एकताका प्रयासहरूले कहिकतै सार्थकता पाउन सकेनन । पछिल्लो पटक माओवादी केन्द्र, एमाले र नयाँ शक्ति बीचको चुनावी तालमेलसहित पार्टी समेत एकीकरण गर्ने ६ बुँदे समझदारीले नेपालको कम्युनिष्ट आन्दोलनको विभाजनको निरन्तरतालाई ‘ब्रेक–थ्रु’ गरिदिएको छ । यो सम्झदारिले नेपालका वाम घटकहरूलाई नयाँ युगमा प्रवेश गर्ने मार्ग प्रशस्त गरेको छ ।

नेपालको राजनीतिक इतिहासको पछिल्लो साठी र सत्तरीको दशक उतारचढावपूर्ण रह्यो । नेकपा माओवादी १० वर्षको जनयुद्धपछिको शान्ति प्रक्रियामा आयो । राजतन्त्रको बहिर्गमन भयो । देशमा गणतन्त्रात्मक शासन व्यवस्थाको थालनी भयो । तथापि आम मानिसको जीवनस्तरमा खास भिन्नता देखा परेन र देशले पनि आर्थिक समृद्धिको कोर्ष पूरा गर्न सकेन । धेरै साना ठूला, क्षेत्रीयदेखि राष्ट्रिय दलहरू खुले । विभिन्न झुण्ड, आकार र प्रकारका दलहरू संसदीय अंकगणितको अभ्यासमा तल्लिन भए । जसको परिणाम देशले स्थिर र बलियो सरकार पाएन र देशले राजनीतिक परिवर्तनमा फड्को मारे पनि समृद्धि हासिल गर्न सकेन । जतिसुकै राम्रो व्यवस्था भए पनि त्यसलाई दिगो बानाउन तथा देश र जनताको मुहारमा खुशी ल्याउनका लागि नेपाल जस्ता विकासशील देशमा राजनीति स्थिरता अपरिहार्य आवश्यकता हुँदो रहेछ । अहिलेका च्याऊ उम्रे झैं उम्रेका दलहरूबाट त्यो सम्भावना देखिएन । त्यसैले पनि वाम पार्टीहरूले अहिले अख्तियार गरेको वाम एकताको बाटो कम्तीमा नेपालको राजनीतिक स्थिरताका लागि फलदायी हुने देखिन्छ ।

वृहत वाम एकतासहितको राजनीतिक ध्रुवीकरण वर्तमानको आवश्यकताले जन्माएको हो । अहिलेका नेपाली कम्युनिष्ट शक्तिहरू संख्यामा जति धेरै भए पनि गुणात्मक रूपमा श्रमजीवि तथा उत्पीडित जनसमुदायको जीवनस्तर उकास्नमा खासै उल्लेखनीय काम गर्न सकेका छैनन् । एमाले र माओवादी केन्द्र ठूला वाम पार्टी भए पनि श्रमजीवि जनताको पक्षमा काम गर्दै समाजवादी व्यवस्था निर्माण गर्न परिस्थितिमा छैन् । उनीहरूमा आ–आफ्नै आकार प्रकारका सीमा समस्याहरू छन् । सायद यही सीमा समस्यालाई आंकलन गरेरै होला यो नयाँ प्रक्रियाको मियो थालनी गरेको । नेकपा माओबादी केन्द्रका प्रचण्डले शान्ति प्रक्रियादेखि अहिलेसम्म ठूलै जोखिम मोल्दै आफ्ना राजनीतिक मुद्दाहरू स्थापित गरे । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशी समानुपातिक लागयतका मुद्दामा स्थापित गर्दै संघीय नेपालको संविधान जारी गरेर स्थानीय निकायसम्मको चुनाव गराउनका लागि उनले सापेक्षित राजनीतिका हरेक सम्भवानाहरूलाई आत्मसात् गर्दै नेपालका ठूला दलहरूसँग सत्ता समीकरणको आभ्यास गरे ।

अबको कोर्ष राजनीतिक स्थिरता र देशको समृद्धिको थियो उक्त कोर्ष पूरा गर्न् पार्टीको आकारले सम्भव थिएन । उनलाई कांग्रेससँगको सत्ता गठबन्धन स्वाभाविक र प्राकृतिक लागेन र उक्त गठबन्धनबाट अपेक्षित उपलब्धि हासिल गर्न नसकिने ठहर गरे । त्यसैले प्रचण्ड यो प्रक्रियामा अग्रसर देखिए । अर्कोतिर एमालेको आकार र घनत्व स्थानीय निर्वाचनमा बढे पनि माओवादी कांग्रेसको सत्ता समीकरणसहितको गठबन्धन प्रादेशिक र प्रतिनिधिसभाको चुनावसम्म पुग्दा एमाले पनि सानोे आकारमा खुम्चने पक्का थियो । त्यतिमात्र नभइ ठूलो दलको पगरी गुथे पनि केही वर्ष एमालेलाई सत्ता बाहिर नै बस्नुपर्ने बाध्यता आउने थियो । जसले गर्दा एमाले पनि यो विषयमा सोच्न बाध्य भयो । त्यस्तै वैकल्पिक शक्ति केन्द्र बनाउने उद्देश्यका साथ कम्युनिष्टकै मूलधारबाट अलगिएर माओवादी केन्द्र छोडेका बाबुराम भट्टराईको पार्टीले अपेक्षाकृत सफलता हात पारेन उल्टो दिनप्रतिदिन खिइदै गयो । माओवादी केन्द्रबाट छुट्टिएका उनका साथीहरू एकपछि अर्को गरी बाहिरन थाले । उनले सोचे जस्तै राष्ट्रिय मूलधारको वैकल्पिक शक्ति केन्द्र बनाउने उनको योजनामा प्रश्न चिन्ह लाग्न थाल्यो । बाबुरामका लागि पनि सुरक्षित अवतरणका लागि यो विकल्प उत्तम नै ठहरियो । सबैका लागि एक्लै आगाडि बढ्ने प्ररिस्थति प्रतिकूल बनेपछि सबै बाम शक्तिहरूसँगै हिँड्ने पहलकदमीले सार्थकता पायो ।

तीन वाम पार्टीहरूको चुनावी तालमेलसहित पार्टी एकीकरणको यो प्रक्रियाले नेपालका श्रमजीवि उत्पीडितवर्ग समुदायमा एउटा नयाँ तरंग पैर्दा गरेको छ । हिजोदेखि अहिलेसम्म वाम नेताहरूको कुर्ची मोहको प्रवृतिले यसलाई सन्देहको आँखाले पनि हेर्न सकिएला तर यतिबेला सकारात्मक भइ बुझ्ने बेला हो । सधै कटु आलोचना र विभाजनमा रम्ने कम्युनिष्ट पार्टीहरू कम्तीमा चुनावी तालमेलको प्रक्रियासम्म आउनु हरेक बामपन्थी शुभचिन्तक र श्रमजीवि जनताका लागि यो शुभ सन्देश नै हो । साथै नेपालको संविधानको कुशल कार्यान्वनमा यो प्रकिया नेपाली राजनीतिका लागि कोशेढुङ्गा हुनसक्छ । त्यतिमात्र नभएर यो एकता प्रक्रिया भने जस्तै सफल भयो भने नेपालको राजनीतिक स्थिरता र समृद्धिका लागि उपयुक्त हुनसक्छ । यो एकता प्रक्रियाले गैर कम्युनिष्ट शक्तिहरू पनि धु्रवीकरण हुन्छन् । अनि देशमा ‘लेफ्ट’ र ‘राइट’ दुई वटा शक्ति केन्द्रहरू भए जनता गुण र दोषका आधारमा आवधिक निर्वाचनबाट आफ्नो अनुकूलको शक्ति केन्द्रलाई रोज्छन् । नेपालको राजनीति सत्ता र शक्तिको छिना झपटीका लागि भन्दा देश र जनताको हितमा अगाडि बढ्छ र देशले समृद्धिको यात्रा तय गर्छ ।

हिजोदेखि आरोप प्रतिआरोपसहित एक अर्काको खेदो गरिरहेका वाम पार्टीहरूले अपेक्षाकृत एकताको कार्यभार पूरा गर्न थुप्रै चुनौतीहरूको सामाना गर्नुपर्ने देखिन्छ । पहिलो कुरा पार्टी निकट कार्यकर्ताहरूको हिजोको प्रतिशोधपूर्ण मनोविज्ञानलाई हटाउन केन्द्रदेखि स्पष्ट निर्देशन दिएर एक आपसमा सहमति र सहअस्तित्व स्वीकार गरेर अगाडि बढ्न प्रेरित गर्नुपर्छ । त्योभन्दा महŒवपूर्ण पक्ष सहमतिमा इमान्दार बन्नुपर्ने आवश्यकता छ । नेपालका दलहरू सहमतिको मसी सुक्न नपाउदै उल्लंघनमा उद्दत हुने संस्कार छ । यो प्रक्रियासँगै भने जस्तै गर्ने र गरेको जस्तै भन्ने इमान्दार राजनीतिक संस्कार वाम दलहरूले निर्माण गर्नुपर्छ । आशन्न निर्वाचनमा सहमतिका बुँदा अनुरूप आफ्ना गतिविधिहरू–क्रियाशील बनाउनुपर्छ । अनि पद, प्रतिष्ठालाई भन्दा समृद्ध नेपालको कार्यभारलाई प्रथामिकतामा राख्नुपर्ने हुन्छ ।

यति ठूला फरक स्कुलिङका राजनीतिक शक्तिहरूबीच पदीय जिम्मेवारीदेखि आशन्न निर्वाचनको उमेदवारीसम्म थुप्रै उल्झनहरू छन् । सोचे जस्तो चिनीलाई पानीमा घुलाए जस्तो छैन तर क्रियाशीलता, इमान्दारिता र देशको हितलाई ध्यानमा राखेर आगाडि बढे असम्भव पनि छैन । क्षणिक चुनावी राजनीतिक स्वार्थबाट अभिप्रेरित भएर मात्र यो गठबन्धनको पासा फालिएको हो भने देशलाई त फाइदा हुँदैन हुँदैन वामपार्टीहरू स्वयम्का लागि पनि यो कदमप्रति उत्पादक बन्नसक्छ ।
(लेखक मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्राध्यापक हुन् ।)

प्रकाशित मितिः   २३ आश्विन २०७४, सोमबार १०:५५