उम्मेदवार सिफारिस गर्दै दलहरू
सुर्खेत, २० असोज । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन नजिकिदैं गर्दा राजनीतिक दलहरूले उम्मेदवार सिफारिस गर्न थालेका छन् । आउँदो मंसिर २१ गतेका लागि तय भएको निर्वाचनका लागि सुर्खेतका प्रमुख दलहरूले उम्मेदवारहरू सिफारिस गर्न थालेका हुन् । उम्मेदवार छनौट र सिफारिससँगै दलहरू चुनावको तयारीमा होमिएका छन् ।
प्रतिनिधिसभाका लागि दुई र प्रदेशसभाका लागि चार वटा निर्वाचन क्षेत्र रहेका सुर्खेतमा दलहरूले सोही अनुसार धमाधम उम्मेदवार छनौट सुरु गरेका हुन् । जिल्लाका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले स्थानीय स्तरबाट उम्मेदवार सिफारिस गरेका छन् । उम्मेदवार सिफारिस गरे पनि चुनावी तालमेल गर्ने सहमतिपछि एमाले र माओवादीका जिल्ला नेतृत्व अलमलमा छन् । यी दुई दलले जिल्लाबाट हाल सिफारिस गरेको भए पनि अब केन्द्रको निर्देशन अनुसार पुनः उम्मेदवारको हेरफेर गर्नुपर्ने हुन्छ ।
कांग्रेसले जिल्लाबाट प्रनिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट नेता पूर्णबहादुर खड्का र क्षेत्र नम्बर २ बाट नेता हृदयराम थानीलाई सर्वसम्मत् उम्मेदवारको रूपमा सिफारिस गरेको छ । यस्तै प्रदेशसभाका लागि जिल्लामा रहेका चार वटै क्षेत्रबाट उम्मेदवारका नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ । वीरेन्द्र रावत, केशर वली, टेकबहादुर सिंह, अनन्त पौडेल र नरेश ढकालको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर २ बाट नारायण कोइराला, झकबहादुर डाँगी, गोविन्द कोइराला, वेदु गिरी र कमल आचार्यको नाम उम्मेदवारको लागि सिफारिस भएको छ ।
कांग्रेस सभापति कमलराज रेग्मीले जिल्लाबाट धेरै जनाको नाम सिफारिस भए पनि केन्द्रले नै उम्मेदवारको अन्तिम टुङ्गो लगाउने बताए । कांग्रेसले प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ बाट जिल्ला सभापति कमलराज रेग्मी, डम्बर जिसी र धर्मराज गिरीको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नम्बर ४ बाट सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट, जिल्ला सचिव टोपबहादुर रावत र यज्ञबहादुर बिसीको नाम सिफारिस गरिएको छ । यसैगरी समानुपातिक तर्फको उम्मेदवारका लागि कांग्रेसले जिल्लाबाट ३५ जनाको नाम केन्द्रमा पठाएको छ । आकांक्षीहरू धेरै भएका कारण सबैको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
यस्तै एमालेले पनि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ बाट जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीको नाम सर्वसम्मत् सिफारिस भएको छ । क्षेत्र नम्बर २ बाट भने सहमति हुन नसकेपछि पूर्व जिल्ला अध्यक्ष नवराज रावत, कुलमणि देवकोटा र राधा कार्कीको नाम सिफारिस गरिएको छ । एमालेमा उम्मेदवारको अन्तिम टुङ्गो केन्द्रले नै लगाउनेछ । प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट ऐनबहादुर चन्द, मानबहादुर खत्री र तुलसी शर्माको नाम सिफारिस भएको छ । यस्तै क्षेत्र नम्बर २ बाट खड्कबहादुर खत्रीको नाम सर्वसम्मत् सिफारिस भएको छ । त्यसैगरी क्षेत्र नम्बर ३ बाट पनि पोलिट्ब्यूरो सदस्य यामलाल कँडेलको नाम सर्वसम्मत् सिफारिस भएको छ । क्षेत्र नम्बर ४ बाट भने पार्टी सचिव मोहन बडुवाल, इन्द्र केसी र टीका रानाको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । समानुपातिक तर्फका उम्मेदवारको सिफारिसका लागि छलफल भइरहेको एमालेले जनाएको छ ।
यता माओवादी केन्द्रले पनि उम्मेदवारको नाम सर्वसम्मत् रूपमा यसअघि नै सिफारिस गरेको थियो । तर एमालेसँग चुनावी तालमेलको सहमति भएपछि त्यो सिफारिस स्थगित भएको माओवादीले जनाएको छ । माओवादी केन्द्रका जिल्ला अध्यक्ष कृष्ण जिसीले भने, ‘हामीले पहिला उम्मेदवार सिफारिस गरेका थियौं, अब त्यो सबै स्थगित भयो । एमालेसँग तालमेल हुने भएपछि अब नयाँ रूपमा अगाडि बढ्नुपर्छ, अब संयुक्त छलफलबाट मात्र उम्मेदवारहरू सिफारिस हुनेछन् ।’ एमालेसँगको तालमेलपछि जिल्लामा निर्वाचन क्षेत्र बाँड्नुपर्ने भएकाले पहिला सिफारिस भएको लिष्टले अब काम नगर्ने उनको भनाइ छ । केन्द्रको सर्कुलेसन अनुसार अब आफूहरू अगाडि बढ्ने भन्दै उनले जिल्लामा पनि एमालेसँग संयुक्त छलफल गरेपछि मात्र उम्मेदवारहरू सिफारिस हुने जानकारी दिए । देशमा नयाँ राजनीतिक कोर्ष सुरु भएको भन्दै उनले अब नयाँ मापदण्ड अनुसार उम्मेदवार छनौट हुने बताए ।
प्रकाशित मितिः २० आश्विन २०७४, शुक्रबार १२:२९
साझा बिसौनी ।