मदिराको मनपरी व्यापार

सिन्धुपाल्चौक सदरमुकामलाई एक फन्को लगाएँ । बेलुका आराम गर्नका लागि घुम्दै टुँडिखेल पुगें । त्यहाँ नजिक जिल्ला विकास समितिको कार्यालय रहेछ । यात्रा खर्चको जोहो गर्न स्थानीय विकास अधिकारीसँग निवेदन गरें । भनें, ‘म सुर्खेतदेखि यहाँ आइपुगेको छु, यहाँबाट खासासम्मको आन्तरिक पर्यटन यात्रामा छु । यो यात्रा खर्चको लागि मेरा सिर्जना पुस्तक लिएर सहयोग गरिदिनुहोस् ।’

स्थानीय विकास अधिकारीले एक÷एक प्रति पुस्तक लिने तोक लगाएपछि म लेखा शाखा खोज्न हिँडे । यहाँका प्रायः कर्मचारी जनताको सेवामा नबसेर बजारका पसलहरूमा बसिरहेका हुँदा रहेछन् । हुन त पहिलेदेखि भन्दै आएको थेगो ‘नेपालको कानुन दैवले जानुन्, सरकारी काम कहिले जाला घाम ।’ बहुदलिए व्यवस्था आएको यति वर्षसम्म विभिन्न पार्टीको जन वर्गीय संगठनको छाता ओढेर पञ्चायतकाल भन्दा पनि कर्मचारीहरू सुरक्षित भइरहेका छन् । मन्त्री भनाउँदा पनि सरकार फेरिने बित्तिकै सरुवा बढुवा गरी लाहुर गएर कमाइ ल्याउने धन्दा बहुदलीय भिखारी नेताहरूको बानी परिरहेको छ । त्यसैले भनिन्छ, प्रजातान्त्रिक तौरतरिकाले चलाउन नसके प्रजातन्त्र भाडतन्त्र हुन्छ, हाम्रो बाइस वर्षे लक्का जवान भइसकेको प्रजातन्त्रका हविगत हेर्दा किन प्रजातन्त्रका लागि जीवनको धेरै समय खेर फालिएछ भनि मलाई कहिले कहिँ पछुतो पनि लाग्छ । तापनि खुला प्रजातान्त्रिक राजनैतिक व्यवस्थाले नै व्यक्तिले चौतर्फी विकास गर्ने भएकोले नयाँ नेपाल बन्ने विस्तारै सफलतातिर मोडिएला भन्ने आशा मृगतृष्णा भएर चिन्तनको कलम चलाउँछु ।
कार्यालयमा आउने सेवाग्राहीहरू बजारबाट कर्मचारी खोजेर ल्याइ आफ्नो काम लिनेरहेछन् । कर्मचारीमा कुटनैतिक भाषा प्रयोग गर्ने सामन्ती प्रवृति चर्को रहेछ । कर्मचारी नआइन्जेलको समय बिताउनुथियो । घरी टुँडिखेलको चौरमा पुगें, चौतारा बजार अवस्थित डाँडो नियालें । ठ्याक्कै हाम्रो सिम्ता बजेडीचौरको डाँडामा जस्तो तल भेरी नदी देखिने डाँडामा यो सदरमुकाम रहेछ । माथी पहाड, तल इन्द्रावती नदी बगिरहने । सिँचाइ विनाको यो डाँडा वरिपरि गाउँबस्तीहरू उही गुजरामुखी खेतीपाती, पशुपालन, सरकारी कामकाज, सानो बजार व्यवसाय गरी लतमन्न सुतेको रहेछ । आज चार घण्टाको बसाइँ विभिन्न सरकारी कामले आउने व्यक्तिहरूसँग यही टुँडिखेलमा भेटघाट अन्तरक्रियावाट थाहा पाएँ यहाँका बासिन्दाहरू पनि बढी जसो युवायुवतीहरू अरवियन मुलुकहरूमा, केही भारततिर पनि भाडाको श्रम गर्न जाँदा रहेछन् । मलाई मेरो देशको भ्रमण गर्दा कहिले काहीं स्वदेशी भाडाका राजनीतिज्ञहरूले शासन चलाउनु भन्दा कुनै मुलुकलाई केही वर्षको लागि ठेक्कामा दिएको भए आफ्नै देश बनाउन युवा युवतीहरू श्रम गरेर परिवारसँग बसेर जिन्दगी बाँच्न पाउँथे जस्तो लाग्छ ।
जैविक विविधताले यो जिल्ला पनि भरिएको रहेछ, हिमाल पहाड, बेसी, टारमा चारैतिरवाट पानी छहरा भएर आउने सुनकोशी, भोटेकोशी, इन्द्रवती नदीको पानीले भारतको विहारलाई हराभरा बनाउन निरन्तर वगी रहन्छन् । ‘अभागी भइ भाग्यमानी यो देशको बासी हुँ’ मेरो आफ्नै कविताको पंक्तिले मेरो घुमुन्ते मनलाई दुखाउँछ । एक दिनको पाहुना के नै गर्नसक्ने थिएँ । अरु नागरिकले जस्तैगरी काम सकेर चार घण्टापछि जिल्ला पत्रकार महासंघ कार्यालय गएँ । त्यहाँ हाम्रो सुर्खेतको भन्दा ठूलो दुई तले भव्य भवन रहेछ । सञ्चारका सबै यन्त्रहरू जडान गरी राम्रो व्यवस्थापन गरिएको रहेछ ।
बजारलाई एक फन्को मार्दा बजारमा लालुपाते सुर्ती, खगरी तमाखु राखेको देखें । ‘यो काहाँबाट आउँछ ?’ मैले स्थानीय पसलेलाई सोधें । पसलेले भने, ‘सप्तरीतिरबाट आउँछ ।’ यहाँ अहिलेसम्म हुक्का, सुल्पा खाने परम्परा छँदैछ । हुन त धुम्रपान स्वास्थ्यको लागि हानीकारक हुन्छ तर पनि हुक्का सुल्पाबाट खाँदा अन्य गुट्खा खैनी बिडी सिग्रेट जस्तो बढी हानीकारक नहुनुका साथै कम खर्चालु हुन्छ । हाम्रो देशको धेरै भू–भागमा स्थानीय उत्पादन उपभोग गर्ने चलन हटेर आर्थिक भार बढ्नुको साथै स्वास्थ्यमा खराब प्रभाव बढ्दो छ । हाम्रोतिर पनि हाम्रा बाबु बाजेहरू यसरी नै धुम्रपान गर्ने आफै उत्पादन प्रयोग गर्थे । आज भोलि भने उत्पादन प्रयोग छोडेर बजारमा पाइने गुट्खा खैनी चुरोट प्रयोग गर्दै परनिर्भरता स्वास्थ्य अनुकूलतातिर दुगुरिरहेका छौं ।
मलाई लाग्छ मानिसले जस्तो आनीवानी लगायो त्यस्तै गर्दाे रहेछन् भन्ने लालु पाते सुर्ती खगरी तामाखुले पछाडी फर्केर हेर्ने बनायो । बजारमा लोकल कोदाको तेल र भटमासको सितन छ्यापछ्यापति पाइदो रहेछ । हुन त हाम्रो देशको मदिराको मूल राजधानी काठमाडौंबाट फुट्छ, त्यहीबाट देशभरी फैलिन्छ । जनताले निर्वाचित गरेर नीति निर्माण विकास गर्न भनि पठाएर राजनीतिज्ञहरू काठमाडौंको मदिरामा डुवी उतै हराउँछन् । मध्य पूर्वी पहाडहरू आफ्नै उत्पादन उपभोग गर्ने चलन त ठीकै होला । तर आजकल विकशित मुलुकहरूमा घरेलु मदिरा उत्पादनको अन्त्य भइसकेको छ । १८ वर्ष उमेर पुगेपछि कार्ड बनाएर मदिरा, धुम्रपान बेच्न खान पाउने व्यवस्थापन गरेको पाइन्छ । विभिन्न फलफूल अन्न स्वास्थ्यबद्र्धक हुने गरी मदिरा, त्यो पनि हप्ताको बिदाको दिनमा खाने चलन चलाएका छन् । हाम्रो त कति वर्षकोले उपभोग गर्न पाउने कुनले स्वास्थ्य राख्छ कति मात्रामा खाने हो कति वर्षका उपभोग गर्न पाउने कुनै राज्यले विधि विद्यान छैन । जसले जहाँ पनि बिक्रीको लागि २४ घण्टा खुल्ला पसलहरू छन् । खानेहरू पनि २४ सै घण्टेहरूको ठूलो पंक्ति छ । अरु सहर बजार र नेपालका पश्चिमका बस्तीहरूमा चिनी गुढको लेदो मा क्यामिकल ( खम्वीरा ) हालेर निर्मित मदिराले ५० वर्ष ननाघेर स्वर्गको टिकट काट्नेहरूको संख्या ठूलो छ । यदि मदिरा मात्र प्रशोधित व्यवस्थित वितरण गर्न राज्यले पहल गरेको भए कति पैसाको बचत र स्वस्थ रहने थियौं हामी नेपालीहरू । यस्तैै साना मसिना कुरामा ध्यान नुपु¥याउँदा त्यही आनिवानीले परिवार पाल्न भनेर भाडामा श्रम बेच्न विदेशी मुलुकलाई रंगीनमा सजाउन भौंतारिनु नेपालीहरूको दिन चर्या भएकोले मेरो मन कट्क्क दुख्छ कलम उठाउँछु । आजको बजार अवलोकन यहाँको लोकल उत्पादन प्रयोग रहला नरहला व्यवस्थित बनाउनको लागि बहुदलीय बहुलठ्ठीहरूको आँखा खोलाउन के गर्ने होला भन्ने चिन्तन गरिरहेको थिएँ । (बाँकी अर्को साता)

प्रकाशित मितिः   २१ आश्विन २०७४, शनिबार १५:३४