सुत्केरी प्रोत्साहन भत्तामा वृद्धि

पञ्चपुरी, ९ असोज ।
सुर्खेतको पञ्चपुरी नगरपालिकाले स्वास्थ्य संस्थामा आइ गर्भ जाँच गराउने महिलाहरूका लागि दिइने सुत्केरी यातायात खर्चमा वृद्धि गरेको छ । सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई प्रोत्साहन स्वरूप दिने भत्तामा वृद्धि गर्दै पञ्चपुरीले दुई हजार रूपैयाँ पु¥याएको हो । सरकारले सुत्केरी भत्तासँगै सुत्केरीलाई घर जानका लागि यातायात भत्ता दिँदै आएको छ ।


नेपाल सरकारद्वारा प्रत्येक गर्भवती महिलाले चार पटकसम्म स्वास्थ्य जाँच गराइ स्वास्थ्यचौकीमा सुत्केरी भएमा यातायात खर्चवापत एक हजार र प्रोत्साहन स्वरूप चार सय गरी एक हजार चार समय रूपैयाँ दिने गरेको थियो । उक्त रकममा वृद्धि गरी पञ्चपुरी नगरपालिकाले दुई हजार पु¥याएको हो । पञ्चपुरी नगरपालिकाको आर्थिक वर्ष २०७४÷७५ को बजेट तथा कार्यक्रममार्फत् नै सुत्केरी महिलाहरूलाई सुत्केरी खर्च वापत दिइने रकम वृद्धि गरी दुई हजार पु¥याउने निर्णय गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्दै नगरपालिकाले सुत्केरी महिलाहरूलाई भत्ता वितरण गर्ने कार्य सुरु गरेको छ ।
नगरपालिकाले पहिलो चरणमा पञ्चपुरी–२ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा साउनदेखि असोज ७ गतेसम्मका ३२ जना सुत्केरी महिलाहरूलाई प्रतिव्यक्ति तीन हजार चार सय रूपैयाँका दरले सुत्केरी पोषण खर्च प्रदान गरेको छ । साउनदेखि सुत्केरी भएका र आगामी दिनमा सुत्केरी हुने महिलाहरूले पनि उक्त रकम पाउने भएका छन् । रकम पाउन गर्भवती महिलाले कम्तीमा चार पटक स्वास्थ्य संस्थामा गइ स्वास्थ्य परीक्षण गराउनु पर्नेछ ।
सुत्केरी अवस्थामा पौष्टिक आहाराको कमी हुने, कुपोषणबाट बच्न, सामान्य औषधि उपचारमा सहज होस् भन्नका लागि यो कार्यक्रम ल्याइएको पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले बताए । ‘नगरपालिकाले महिला लक्षित कार्यक्रम अन्तर्गत गरेको निर्णयलाई कार्यान्वयनमा ल्याइएको हो’ थापाले भने । नगरपालिकाको महिला लक्षित कार्यक्रम अन्तर्गत यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको नगरपालिकाका उपप्रमुख मुक्ति पुरीले बताइन् । ‘महिलाहरू यसै पनि पुरुषहरूको दाँजोमा बढी पीडित छन् । गर्भवती हुँदा राम्ररी खानपान नहुने, घरायसी कामको बोझ लगायतका थुप्रै आर्थिक ,सामाजिक बोझ पर्ने र यसले गर्दा महिलाहरूमा पाठेघर खस्ने, रतन्धो हुने जस्ता समस्या देखापर्ने भएकोले नगरपालिकाबाट सुत्केरी सहुलियत खर्च वापत दुई हजार प्रदान गरिएको हो’ पुरीले भनिन् । नेपाल सरकारबाट प्रदान गरिने एक हजार चार सयले सुत्केरी महिलाहरूलाई व्यवस्थापन गर्न गाह्रो हुने भएकाले नगरपालिकाले यस्तो कार्यक्रम ल्याएको उनले बताइन् ।
गर्भ जाँच गराएवापत पाइने रकम बढेपछि यहाँका महिलाहरू खुशी भएका छन् । सुत्केरी खर्च बुझेर घर फर्कदै गरेकी पञ्चपुरी–२ सालकोटकी छना नेपालीले भनिन्, ‘पहिला पाउने १४ सयले व्यवस्थापन गर्न गाह्रो हुन्थ्यो, यातायातमै खर्च भइहाल्थ्यो । अन्य सामग्रीहरू किन्न घरका मान्छेहरूको भर पर्नु पथ्र्यो । अब घरका अरु मान्छेको भर पर्नु पर्दैन ।’ कतिपय महिलाहरू अझै पनि स्वास्थ्यचौकी नआएर घरमै सुडेनी, वैद्यद्वारा सुत्केरी हुने गरेको र यसले आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्ने प्राथमिक स्वास्थ्य केन्द्र सालकोटका डा. सन्दिप महतले बताए । यस्तो जोखिम न्यूनीकरण गर्न र महिलाहरूलाई स्वास्थ्य संस्थामा नै पुगेर गर्भ जाँच गराउनका लागि रकम वृद्धिले प्रोत्साहित गर्ने उनले बताए ।
सरकारद्वारा यसअघि वितरण गरिएको एक हजार चार सय सुत्केरी यातायात र प्रोत्साहन खर्चले पनि पछिल्लो समय स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको डा. महतले बताए । नगरपालिकाले उक्त रकम वृद्धि गरेर दुई हजार पु¥याएपछि यो संख्या अझ बढ्ने विश्वास गरिएको छ । जसले गर्दा सुत्केरी महिला र बच्चाको स्वास्थ्य सुरक्षित हुने उनी बताउँछन् । महिलाहरूलाई स्वास्थ्यचौकीप्रति आकर्षण गराउन यस्ता कार्यक्रमहरू अन्य गाउँपालिका र नगरपालिकामा लागू गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मितिः   १० आश्विन २०७४, मंगलवार १५:१३