‘अबको पत्रकारिता समृद्धिको लागि’

सुर्खेत, ९ असोज ।
पूर्व मन्त्री एवम् नेपाली कांग्रेसका सांसद हृदयराम थानीले प्रदेश नम्बर ६ को समृद्धिका लागि पत्रकारले कलम चलाउनुपर्ने बताएका छन् । क्रियाशील पत्रकार मञ्च सुर्खेतको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सांसद थानीले यस्तो बताएका हुन् ।
उनले प्रदेश नम्बर ६ को राजधानी सुर्खेत हुनेमा शंका नभएको भन्दै सुर्खेतलाई राजधानी बनाउनुमा पत्रकारहरूको महŒवपूर्ण भूमिका रहेको बताए । उनले ६ नम्बर प्रदेश सम्भावनाले भरीपूर्ण भएको भन्दै प्रदेशको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए । समाज परिवर्तन गर्ने शक्ति पत्रकारसँग भएको पनि थानीले उल्लेख गरे ।
त्यस्तै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जनप्रतिनिधिलाई जिम्मेवार बनाउन जनताप्रति उत्तरदायी भएर कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा नवनिर्वाचित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाललाई सम्मान गरिएको थियो ।
मञ्चका अध्यक्ष ललित बुढाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष टीका विष्ट, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १० आश्विन २०७४, मंगलवार १५:११