सिम्ताको शैक्षिक सुधारका योजना
सिम्ता सुर्खेत जिल्लाको पूर्व–उत्तरमा रहेको पूरानो बस्ती हो । यो बस्तीलाई राणाकालमा सिम्तादरा पनि भनिन्थ्यो । यो सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्रनगरदेखि २५ कोष टाढा रहेको छ । यसको आफ्नै खस नेपाली भाषामध्ये आफ्नै सिम्ताली भाषिका, आफ्नै लोकसाहित्य सिमाली छ । सिम्ता सिंहको राज्य गोर्खालीहरूको हमलामा पराजय भएको हो । गोर्खालीसँग पराजय भएपछि विलासपुर सीमा मिलाएर दैलेख जिल्ला निर्माण गरी केन्द्रीय राज्यद्वारा दैलेख सदरमुकाम राखी शासित हुन गएको हो । वि.स. २०१७ सालमा प्राथमिक विद्यालय सरकारी स्वीकृत पाएर २०२२ सालमा भानु मावि बजेडीचौरले स्वीकृति प्राप्त गर्नसकेको हो । एसएलसीको पहिलो बोर्ड परीक्षामा सतप्रतिशत विद्यार्थी दोस्रो डिभिजनमा पास गराउने पहिलो विद्यालय सुर्खेतको भानु मावि बजेडीचौर सिम्ता हो ।
वि.स. २०१९ सालको नेपालका जिल्ला विस्तारमा यो सिम्ता दैलेखबाट सुर्खेतमा आएको हो । सिम्ता दैलेख, सुर्खेत, सल्यान र जाजरकोटको बीचमा रहेको छ । जहाँबाट ति जिल्लाहरूमा पुग्न दुई दिन पैदल यात्रा लाग्दछ । शिक्षा ढिला प्राप्त गरेको सिम्तामा सरकारी जागिर खाने पूरानो पूर्खा छैन । सबै जनताको कृषि र पशुपालन मुख्य व्यवसाय थियो । फाट्टफुट्ट भारतीय ब्रिटिस सैनिक हुन पुगेका सिम्ताली भारत स्वतन्त्र भएपछि र औद्योगिक क्षेत्रतिर बढेपछि भाडाका चौकिदार जान थालेका थिए ।
गोर्खालीको पराजयपछि जिमुवाल मुखीया पञ्चायतमा पञ्चले शासन गरेको सिम्तामा खासै दरवारीया संस्कृति, संस्कार बोकेका सम्पत्तिवान् छैनन् । सबै सिम्तालीहरू कृषि पशुपालनबाट आएकोले आर्थिक सामाजिक शैक्षिकस्तर समान प्रकारको छ । यो बस्ती सुर्खेतका नयाँ बस्तीजस्तो छिट्टै पग्लिएर राजनीति संस्कृतिमा बग्दैन ।
निरंकुश सामन्ती राज्यविरुद्धको सिम्ताका युवाहरूको देन सुर्खेतकै अग्रपंतिमा रहेको छ । पञ्चायतकालमा ८ गाउँपञ्चायत तथा २०४६ को प्रजातन्त्र प्राप्तपछि ८ गाविसमा परिणत भइ बामपन्थीहरूको ‘रेड एरिया’मा परिणत भयो । २०७२ सालको जनसंविधानको घोषणापछि सिंहदरबारको शक्ति गाउँगाउँमा विकेन्द्रीकरण गर्ने व्यवस्थापनमा पूरा आठलाई सिम्ता गाउँपालिकामा एकीकरण गरेर एमाले बहुमत विजयी हुन पुगेको छ । पहिलो पटक स्नातक पास गरेका, प्रगतिशील विचारशैली भएका, विभिन्न संघसंस्थाको अनुभव हाँसिल गरेका कविन्द्रकुमार केसीलाई सिम्तालीले सिम्ता गाउँपालिकाको अध्यक्षमा विजयी बनाउन सफल भएका छन् । शिक्षित मात्र भएर हुँदैन व्यवहारमा परिलक्षित हुन्छ हुँदैन कविन्द्रकुमारको परीक्षा सिम्ताले नियालिरहेको छ । राम्रो कार्य गर्ने जनप्रतिनिधि सुरक्षा र काममा साथ भने सिम्तालीले दिनै पर्नेछ ।
जनसुकै विकासको अवस्था त्यहाँको शैक्षिक अवस्थाले दर्शाउँछ । शैक्षिक विकासविना अरु विकास सम्भव पनि छैन । सिम्ता गाउँपालिकामा क्याम्पस १, उच्च मावि ४, मावि ४, निम्न मामि ७ र प्रावि ५७, बालशिक्षालय ५८, बोर्डिङ्ग प्राविस्तर ५, निमावी १ रहेका छन् । १% बाहिरी शिक्षक भए पनि ९९% सिम्ताली नै हुन सफल भएको छ सिम्ता । सिम्ता माविबाट उत्तीर्ण गरी शैनिक उच्च तहमा पुगेका छन पदम सिंह भने सहसचिव तहमा मुक्ति सिंह पुगेका छन् । त्यस्तै सिम्ता माशिक्षा प्राप्त गरेकाहरू सैनिक, गैरसैनिक राष्ट्रसेवाका जागिरमा छन् भने धेरै युवाहरू भारत तथा अरवको खाडीमा भाडामा श्रम बेचिरहेका छन् । गुजरामुखी कृषिबाट युगौयुग जीवन धानेको सिम्ता विश्व बजारमा उत्पादित वस्तु बजारमा सुविधाजनक तरिकाले प्राप्त हुन थालेपछि गुजरामुखी कृषि खेती तथा पशुपालनमा नै रहेका छन् । हरेक घरमा युवा विश्व उद्योगधन्दा भएका मुलुकहरूमा अदक्ष मजदुर भइ जाने क्रम दिन प्रतिदिन बढ्दो अवस्था रहेको छ । सिँचाइ भएका खेतहरू समेत बाँझा हुने क्रम छन् । शिक्षालाई कसरी व्यवसायमुलुक बनाउने सिम्तामा बहस चलिरहेका अवस्थामा गत वर्ष २०७३ को एसएलसी परीक्षा भने शुन्यता जस्तै परीक्षाफल आएको छ । उता २०७२ सालमा सिम्ता क्याम्पसको पुरान सप्ताहमा सिम्तालीहरूले शिक्षाको उज्यालो उच्च शिक्षा सिम्तामा पाउन करोडौं दिने कबुल दिने बचन दिँदा सम्मान पत्रको चिन्ह सूर्यलाई निहुँ बनाएर केही राजनीतिक पार्टीले विवाद सिर्जना गरेपछि दान उठ्न समस्या हुँदा सिम्तालीहरूमा राजनीतिकरण हुनाले चेतनायुक्त सिम्ताली अति दुखित हुन पुगेका छन् । यस्ता प्रकारका विषयलाई कसरी निकास देला अहिले निर्वाचित सिम्ता गाउँपालिकातिर आँखा सोझिएका छन् ।
२०७२ सालको नेपालको जनसंविधानले देश बहुदलीय लोकतान्त्रिक संघीय गणतान्त्रिक शक्ति पृथकीकरण परिभाषित राज्य हुन गएको छ । अब युगौं युगदेखि केन्द्रीय राज्यबाट शासित जनता आफ्नो अधिकार आफ्नै गाउँमा पाउने भएका छन् । अब सिम्ता गाउँपालिका सरकारले सम्पूर्ण सिम्ता परिचालित शिक्षालयहरू निरीक्षण र तलबभत्ता समेत खुवाउने अधिकार प्राप्त गरेको छ । अब केन्द्रबाट कर्मचारीले निरीक्षण गर्ने तलब खुवाउने प्रक्रिया क्रमशः अन्त्य हुनेछ । अब आफ्ना नातापातालाई जागिर खुवाउने प्रकारले खोलिएका विद्यालय विद्यार्थी नभए पहिला मर्ज गर्नुपर्छ । मदिरा सेवन गरेर विद्यालय जाने शिक्षकहरूलाई विदाइ गर्नुपर्छ । विद्यार्थी संख्या अनुसार विषय शिक्षकको दरबन्दी कायम गरिनुपर्छ । प्रधानाध्यापक बनाइने शिक्षकमा प्रशासनिक क्षमता भउकालाई बनाइनुपर्छ । प्राथमिक विद्यालयमा महिला योग्य शिक्षक राख्ने व्यवस्था गरिनुपर्छ र पुराना पेन्सन अवधि पुगेका शिक्षकलाई सम्मान पूर्वक विदाइ गरिदिनुपर्छ । मावि विद्यालय, क्याम्पसमा पुस्तकालय व्यवस्थित हुनुपर्छ । विद्यालय छुवाछुत रहित हुनुपर्छ । ठीक समय विद्यालय लगाउने ४५ मिनेटसम्म कक्षामा अध्यापन गराएकै हुनुपर्छ । प्रत्येक वर्ष गाउँपालिकाले राम्रो अध्ययन गराउने शिक्षकलाई निश्पक्ष पुरस्कारको व्यवस्था गरिनुपर्छ । विद्यालय व्यवस्थापन समिति निर्माण गर्दा दलको, शिक्षा आर्जन गरेको भन्दा कुन व्यक्तिले शिक्षामा राम्रो दिन सक्छ विवेकशील छ अध्यक्षसहित समिति बनाउनुपर्छ । शिक्षामा राम्रो योगदान दिने समितिलाई पुरस्कार सम्मान गरिनुपर्छ । भौतिक पूर्वाधार निर्माणको लागि गाउँपालिका संघ–संस्था व्यक्ति सहयोग लिनुपर्छ । शैक्षिक सामग्री लगि स्वदेशी विदेशी दातृ राष्ट्र व्यक्ति सहषेग लिनसक्नुपर्छ । प्रत्येक महिनाको तलब मास्केवारीमा सम्बन्धित वडा सदस्यको सिफारिसमा गाउँपालिकाले नै तलबभत्ता खुवाउने सामुदायिक विद्यालय हुनुपर्छ । नियमित गयल हाजिरी हुने शिक्षकको तलब कट्टी गरिनुपर्छ । बढी काम गरे थप भत्ताको व्यवस्था हुनुपर्छ । बोडिङ्ग स्कुल बराबरको पढाइ सामुदायिकमा पनि प्रतिस्पर्धा गराइनुपर्छ । विद्यार्थीमा जबरजस्ती नैतिक पतन हुने कार्य गर्ने शिक्षकलाई निस्काशन गरिनुपर्छ । मावि तहमा बालविवाह यौनशिक्षा अनिवार्य दिइनुपर्छ । प्रत्येक महिना शिक्षक अभिभावक बीचमा विद्यार्थी अध्ययन तथा अन्य क्रियाकलाप बारे ४५ मिनेट अन्तरसंवाद गराइनुपर्छ । गरीब जेहेन्दार छात्रछात्राहरूलाई छात्रवृत्ति र उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई हरेक विद्यालयले थोरै भए पनि पुरस्कार व्यवस्था हुनुपर्छ ।
नजिक टाढा भए पनि वर्षमा एक पटक शैक्षिक भ्रमण गराउनुपर्छ । शिक्षक वार्षिक बिदा लिने अधिकार हुन्छ तर विद्यालय पठनपाठनमा बाधा नहुने गरी बिदा स्वीकृत गर्नुपर्छ । हरेक महिनामा साहित्यका विभिन्न विधाका क्रियाकलाप अनिवार्य रूपले २ घण्टा सञ्चालन र पुरस्कार दिनुपर्छ । सिम्ता गाउँपालिकाको बीच केन्द्र अन्य भौतिक र प्रत्येक्ष क्रियाकलापमा संलग्न हुन पाइने कृषि पशुदेखि अन्य व्यवसाय गर्न सकिने प्राविधिक १०+२ सम्मको शिक्षालय स्थापना गर्न गाउँपालिका र सहयोगी व्यक्ति संख्या लाग्नुपर्छ । सिम्ता क्याम्पसमा राजनैतिक प्रयोगशाला छुटाएर विगतमा पुराण सप्ताहमा चन्दा दिने बालकबोल गरेका सहयोगी हातहरूबाट सहयोग लिएर सिम्तालीको भविश्य कोर्ने कार्यशाला बनाइनुपर्छ । प्रशासक हुने क्याम्पस प्रमुख क्षमतावान छनौट गरी क्याम्पस पठाउने गर्नुपर्छ र शिक्षक कर्मचारी निगाह भरमा भरिने क्रमको अन्त्यको व्यवस्था हुनुपर्छ । सिम्तालाई पशुपालन र कृषि उत्पादन गरी अत्मनिर्भरतिर जग बसाल्ने पाँच वर्षको सीमारेखा राखी भाडाको परनिर्भरता घटाउँदै आत्मनिर्भर हुने सम्भावना बोकेर बसेका सिम्ता बनाउन थाल्नुपर्छ ।
यस कामको थालनी भने सिम्ता गाउँपालिकाले २०७४ भाद्र २८ बजेडिचौरमा जिशिका सुर्खेतसँग शैक्षिक अन्तरक्रिया एवम् अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । अब माथि उल्लेखित प्रतिनिधिहरू सबै थप शिक्षामा योगदान दिएका बौद्धिक व्यक्तित्व समेत सहभागी बनाइ वेनियम तयार गरी छिट्टै लागू गरे सिम्ताको शिक्षालाई कसरी व्यवस्थित गर्ने चुरोमा पुग्न सकिन्छ । सिम्ताली जनमा चेतना भया ।
प्रकाशित मितिः १० आश्विन २०७४, मंगलवार १५:१०
साझा बिसौनी संवाददाता ।